
काठमाडौं । काठमाडौंका प्राञ्जल चालिसेले ‘वाइ वाइ ग्लोकल टिन हिरो २०२१’ को उपाधि हात पार्न सफल भएका छन् । ग्लोकलद्वारा आयोजित ‘वाइ वाइ ग्लोकल टिन हिरो २०२१’ का अन्तिम ६ प्रतिस्पर्धाबाट प्राञ्जलले उक्त उपाधि जित्न सफल भएका हुन् ।
वाइ वाइ ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी अनुराग चापागाईँ यूटुबर, दीपक सुतिहार सामाजिक उद्यमी, खुस्बु भण्डारी वन्यजन्तु संरक्षणवादी, नेहा गुरुङ सामाजिक अभियन्ता, र प्राञ्जल चालिसे टेक्नोप्रेनर बीच प्रतिस्पर्धा भएको थियो ।
किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाइ वाइ ग्लोकल टिन हिरो’ नेपालको यो सातौं संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा आज अनलाइन कार्यक्रमको बीच ग्लोकल टिन हिरो नेपाल, २०२१ को घोषणा भएको हो ।
प्राञ्जलले दृष्टि नेपालको आविष्कार गरी दृष्टि बिहिन समुदायलाई मुद्रा बिल पहिचान र नगद लेनदेनमा मद्दत गरिरहेका छन् ।साथै महिलाहरुको सुरक्षा सुनिश्चित गर्न एवम् सुरक्षा कारणहरूका कारण अवसरहरूबाट वञ्चित हुन नपरोस् भन्नका लागि उनले एक महिला सुरक्षा एप पनि निर्माण गरेका छन् । उनको अन्य दुई शैक्षिक एपहरु छन् जसमा ७५०० प्रयोगकर्ताहरु छन । प्राञ्जलले एक गैर नाफामुखी टेक्नोलोजी उद्यम ‘ई–शिक्षिका नेपाल’ को शुरुवात गरेका छन, जसले अनलाइन शिक्षाको गुणस्तर बढाउने तथा शैक्षिक स्रोतहरुलाई अझ सुलभ बनाउन मद्दत गर्दछ । उनी नेपाल फाउन्डेसन इनिसियटिभ बोर्डको सदस्य हुन् र हाल ब्लक चेन टेक्नोलोजी र स्मार्ट ठेक्काहरु तथा टेक्नोलोजिकल उन्नतीले विस्तारित लेनदेन प्रक्रियाहरूको लागतलाई कम गर्नको लागि के गर्न सकिन्छ भन्ने अनुसन्धानमा काम गरिरहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij