
सफल म्याराथुन धावक रामकृष्ण महर्जनको जन्म काठमाडौंको जैसीदेवलमा भएको हो । उनी वि.सं २०१५ मा बुबा देवनारायण महर्जन र आमा बुद्धिमाया महर्जनबाट जन्मिएका हुन् । साधारण परिवारमा जन्मिएर म्याराथुन दौड मार्फत महत्वपूर्ण कीर्तिमान राख्नु उनको लागि निकै नै चुनौतीपूर्ण थियो । बाल्यकालमा ज्याठा स्थित मामाघरमा रहँदा नजिकै रहेको अमेरिकन दुतावासमा आउने विदेशीहरु दौडिएको देखेर आफू पनि उनीहरुबाट प्रभावित भएका हुन् महर्जन । त्यसपछि आफू पनि दौडन शुरु गरेका उनलाई सानो उमेरमा दौडेरै यो उचाईमा पुग्न सकुँला भन्ने कहिल्यै महसुस हुँदैनथ्यो ।
महर्जन नेपालका लागि भेट्रान्स तर्फ पहिलो अन्तराष्ट्रिय स्वर्ण पदक जित्ने धावक समेत हुन् । उनले सन् २००३ मा मलेसियामा आयोजना भएको ‘मलेसियन ओपन माष्टर च्याम्पियनसिप’ भेट्रान्समा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय स्वर्ण दिलाएका थिए । यसैगरी उनले सन् २०१० मा आायोजना भएको एसियन माष्टर च्याम्पियनसिमा पनि स्वर्ण पदक प्राप्त गरे । सन् २०१२ मा सिड्नीमा भएको प्रतियोगितामा उनले स्वर्ण पदक प्राप्त गरेका छन् । हाल सम्म उनले भेट्रान्समार्फत ३ ओटा अन्तर्राष्ट्रिय स्वर्ण पदक हात पारिसकेका छन् भने अन्य थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पदकहरु आफ्नो पोल्टामा पारिसकेका छन् । धावक महर्जन नयाँ बजार स्थित नेवारी हारती रेष्टुरेण्टका संचालक पनि हुन् ।
सिद्धार्थ वनस्थति स्कुलबाट विद्यालय तहको अध्ययन पूरा गरेका महर्जनलाई त्यहाँको वातावरणले आफ्नो खेल प्रतिभामा निखार ल्याउनमा महत्वपूर्ण सहयोग पुर्याएको अनुभुति हुन्छ । उक्त विद्यालयमा अध्ययनरत रहँदा महर्जन विद्यालयमा आयोजना गरिने सबैजसो खेलहरुमा सक्रियतापूर्वक संलग्न हुन्थे । रङ्गशालामा आयोजना गरिएको एउटा खेलमा संलग्न हुने क्रममा उनले दोस्रो स्थान हासिल गरेका थिए । त्यो हौसलाबाट समेत प्रेरित महर्जनलाई कहिल्यै पनि खेल क्षेत्रबाट टाढा हुने मन लागेन ।
महर्जन थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय म्याराथुन दौडहरुमा सहभागि भई महत्वपूर्ण अवार्डहरु प्राप्त गर्न सफल व्यक्ति हुन् । उनी सन् १९९७ बाट निरन्तर अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरुमा संलग्न हुँदै आइरहेका छन् । हाल सम्म आइपुग्दा महर्जन १९ देशहरुमा सम्पन्न म्याराथुन दौडमा सहभागि भई आफ्नो क्षमता प्रस्तुत गरेका छन् । जसमध्ये अधिकांश प्रतिष्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न समेत सफल रहँदै आएका छन् महर्जन । नेपाली, अङ्ग्रेजी, हिन्दी र जापानी भाषामा दक्ष रहेका उनले हाल सम्म साग, एसियन, इन्टरनेशनल माष्टर गेम लगायतका प्रतिष्पर्धाहरु मार्फत करिब १ दर्जन पुरष्कारहरु प्राप्त गरेका छन् ।
हरेक प्रतिभा अभ्यासबाट विकास गर्न सकिन्छ ः महर्जन
म्याराथुन धावक महर्जन हरेक व्यक्तिले आफू दृढनिश्चय सहित कर्ममा संलग्न भएको खण्डमा प्रतिभा विकास गर्न सकिन्छ भन्ने मान्यता राख्छन् । खेलकुद पनि एउटा प्रतिभा हो, जो सबैसँग हुँदैन । यस गुणलाई जन्मजात् भन्दा पनि दृढ सङ्कल्प र अभ्यासको माध्यमबाट जगाउन र विकास गर्दै लैजान सकिँदोरहेछ भन्ने उनको अनुभव छ । आफ्नो खेल क्षेत्रको अनवरत यात्राको कारण आफ्नो माध्यमबाट आफ्नो र देशको नाम चर्चामा आउन सकेकोमा खुसी छन् महर्जन । खेलबाट पाइने सबैभन्दा महत्वपूर्ण उपलब्धि आत्मसन्तुष्टि भएको उनको अनुभव छ । साथै जुनसुकै खेलले व्यक्तिलाई स्वस्थ र अनुशासित बनाउने भएकोले हरेक व्यक्तिले दैनिक रुपमा केही समय खेलकुदको लागि छुट्याउनुपर्नेमा जोड दिन्छन् महर्जन ।
सबैभन्दा महत्वपूर्ण क्षण
आफ्नो लागि जीवनकै सबैभन्दा कठिन र खुसीयालीको क्षणको रुपमा क्यानडामा आयोजना भएको टोरण्डो म्याराथुनलाई लिन्छन् उनी । जहाँ मौसम प्रतिकूलता (हावाहूरी र असिनापानी) बीच अन्य खेलाडीहरुले आत्मसंयम अपनाउन नसकिरहेको अवस्थामा समेत महर्जन आफूलाई निरन्तर दौडमा संलग्न बनाई उत्कृष्ट नतिजा हासिल गरेको अवस्थालाई सम्झन चाहन्छन् । दीर्घकालिन सफलता प्राप्तिमा धैर्यताको भूमिका महत्वपूर्ण रहने र व्यक्तिको खास परिक्षा प्रतिकूल परिस्थितिमा हुने उनको बुझाई छ ।
नेपाल म्याराथुनको लागि उत्कृष्ट गञ्तव्य बन्न सक्छः
नेपाल खेलकुदको लागि राम्रो सम्भावना भएको देश मानिन्छ । त्यस मध्ये पनि म्याराथुनको लागि त नेपाल संसारकै उत्कृष्ट देश हुन सक्ने महर्जनको बुझाई छ । नेपालको उत्कृष्ट हावापानी र पृथक भौगोलिक बनावटको कारण यहाँको वातावरणमा हुर्के बढेका व्यक्तिहरु समुद्री कम उचाईको भूमिमा सजिलैसँग दौडन सक्छन् । यसकारण नेपाललाई म्याराथुन तालिम केन्द्रको रुपमा उत्कृष्ट गञ्तव्यस्थलको रुपमा विकास गर्न सकिन्छ भन्ने उनको मान्यता छ ।
महर्जन जति बेला खेलकुद क्षेत्रमा संलग्न रहे, त्यस समयमा खेलकुद प्रति मानिसहरुको बुझाई राम्रो थिएन । खेलकुद केवल व्यक्तिगत शोखको क्षेत्र थियो । राज्यको कुनै सहयोग नभएको त्यस समयमा खेलमा संलग्न हुनको लागि खुट्टामा लगाउने जुत्ता समेत किन्न नसक्ने अवस्था महर्जनले थुप्रै पटक सामना गर्नुपर्यो ।
महर्जनको दैनिकी
हरेक विहान महर्जन साढे ३ देखि ४ बजे भित्रमा उठिसक्छन् । नियमित रुपमा ५ बजे देखि ७ बजे सम्मको २ घण्टा समय दौड अभ्यासमा नै लगानी गर्छन् उनी । यही अनुशासित अभ्यासले नै आफूलाई अहिलेको उचाईमा उठाउन सफलता मिलेको उनको ठहर छ । ‘खेल क्षेत्र निरन्तरको साधना हो । जहाँ सफलता पाउनको लागि निकै बढी मेहनत र धैर्यताको आवश्यकता पर्छ’ उनी भन्छन् । खेलले व्यक्तिलाई मात्र नभई राष्ट्रलाई समेत चिनाउने काम गर्दछ । खेलमा सफल हुनको लागि निरन्तर आत्मानुशासनको अलावा सकारात्मक मनोविज्ञान समेत अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ ।
खेलकुदमा संलग्न रहँदाको अवस्था
महर्जन जति बेला खेलकुद क्षेत्रमा संलग्न रहे, त्यस समयमा खेलकुद प्रति मानिसहरुको बुझाई राम्रो थिएन । खेलकुद केवल व्यक्तिगत शोखको क्षेत्र थियो । राज्यको कुनै सहयोग नभएको त्यस समयमा खेलमा संलग्न हुनको लागि खुट्टामा लगाउने जुत्ता समेत किन्न नसक्ने अवस्था महर्जनले थुप्रै पटक सामना गर्नुपर्यो । साधारण किसिमले म्याराथुनमा जोडिएका महर्जनले त्यस समयमा खेलकुद क्षेत्रमा भविष्य उज्ज्वल देखेका थिएनन् । न उनमा कुनै सपना नै थियो, तैपनि आफ्नो भित्री इच्छा (हृदयको आवाज)लाई पछ्याउँदै जाँदा उनले स्वदेश र विदेशमा राम्रो पहिचान बनाउन सफल भए । अहिले भने खेलकुद क्षेत्रमा संलग्न हुन चाहने व्यक्तिलाई राज्यको पनि सहयोग हुँदै आएको छ । त्यो सहयोग प्रयाप्त नभएपनि त्यसले हौसला भने अवश्य दिन्छ । विगतको गाह्रो अवस्थालाई निरन्तर चिर्दै अहिलेको अवस्थामा आउन सफल महर्जन हरेक व्यक्तिले सफलता प्राप्ति गर्नुभन्दा पहिले थुप्रै समस्याहरु सामना गर्न आफूलाई तयार पार्नको निम्ति हरेक व्यक्तिलाई आग्रह गर्दछन् ।

खेलकुद परिषद्ले के गर्नुपर्छ ?
स्वदेशमा राम्रा प्रतिभाशालि व्यक्ति उत्पादनको लागि स्वदेश तथा विदेशमा आवश्यक प्रशिक्षण प्रदान गर्न परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । विश्वका अन्य मुलुकहरुले जसरी नै नेपालले पनि खेलाडीहरुलाई राष्ट्रिय गहनाको रुपमा बुझ्न सक्नुपर्छ । विश्वका अन्य बाह्य मुलुकहरुले ओलम्पिक खेलमा नयाँ पात्रलाई सहभागि गराउनको लागि कम्तीमा १० बर्षको लक्ष्य सहित लगानी गरेका हुन्छन् । नेपालमा भने राज्यले खेल क्षेत्रमा संलग्न व्यक्तिहरु माथि यसरी दीर्घकालिन लक्ष्य सहित विशेष प्राथमिकता दिन सकेको छैन ।
खेल क्षेत्र सुधारको लागि के–के गर्नुपर्छ ?
– खेलमा संलग्न हरेक व्यक्तिलाई राज्यले प्रोत्साहित गर्नुपर्छ
– खेलकुदको लागि विनियोजित बजेटको सही उपयोग हुनुपर्छ
– विद्यालय तह देखि नै खेलकुदलाई विशेष प्राथमिकतामा राखिनुपर्छ ।
– अन्तर्राष्ट्रिय रुपमा आयोजना गरिने प्रतियोगिताहरुमा खेलाडी भन्दा बढी सङ्ख्यामा अफिसियल मानिसहरुको भ्रमण हुने गरेको छ, यस प्रचलनलाई रोक्नुपर्छ

यी हुन् खेलकुदका महत्वहरु
खेलले अनुशासित बन्न सिकाउँछ
शारीरिक, मानसिक र संवेगात्मक स्वस्थ र तन्दुरुस्त बनाउँछ
परिस्थितिलाई नियन्त्रणमा लिन सिकाउँछ
बौद्धिक क्षमता विकास र धैर्यवान बनाउँछ
समयको महत्व बुझ्न सिकाउँछ
तनाव घटाउँछ
आफ्नो काम आफैं गर्न (स्वावलम्बी बन्न) सिकाउँछ
सही समयमा सही निर्णय लिन प्रेरित गर्छ
समूह निर्माण र सामुहिक काममा लाग्न प्रेरित गर्छ
सामाजिक प्रतिष्ठा एवं भ्रमणको अवसर मिल्छ
राम्रो प्रदर्शनी गर्न सके राम्रो आर्थिक स्थिति समेत बनाउन सकिन्छ
हरेक व्यक्ति यसकारण खेलकुदमा लाग्नुपर्छ
पछिल्लो समय हाम्रो खानपिन र जीवनशैली बदलिँदै गएको छ । जङ्क फुड, बिषादीयुक्त खाना, अस्वस्थकर जीवनशैली, धुलो, धुवाँ लगायतले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्दछन् । यस्तो अवस्थामा पनि आफ्नो स्वास्थ्यलाई राम्रो बनाइराख्न हामी हरेकले दैनिक रुपमा केही समय खेलकुदको लागि अनिवार्य छुट्याउनै पर्ने हुन्छ । जसबाट हाम्रो स्वास्थ्य बजबुत बन्न सकोस् ।
महर्जनको व्यावसायिक क्षेत्रकाे संलग्नता
महर्जन खेलकुद क्षेत्रबाट मात्रै राम्रो आर्थिक उपार्जन गर्न सकिने दिगो आधार नदेखेको कारण व्यवसायमा पनि संलग्न भएका हुन् । म्याराथुन धावकले एकाएक २०५२ मा हारती नेवारी रेष्टुरेन्ट संचालन गरेको देख्दा वरपरका स्थानीय र साथीहरु अचम्मित मात्र बनेनन् । बरु व्यवसायमा सफल नहुने निराशाजनक कुरा समेत सुनाउन लागे । आफ्ना निकटस्थ र शुभचिन्तकहरुले रेष्टुरेन्ट व्यवसाय सफल नहुने अनुमान गरिरहँदा उनी भने ती कुराको बेवास्ता गरी काममा जुटिरहे । काम गर्दै जाँदा र अनुभव हासिल गर्दै जाँदा अवश्य सफल हुन सकिँदोरहेछ । अहिले हारती नेवारी रेष्टुरेन्टले राम्रो व्यापार गर्नुको अलावा ग्राहकहरुको मन समेत जित्न सफल छ । हाल यस रेष्टुरेन्टमा नियमित रुपमा १५–२० जना कर्मचारीहरु काममा खटिइरहेका छन् ।
आगामी योजना
महर्जन अब आफ्नो व्यवसायको जिम्मेवारी छोराहरुमा हस्तान्तरण गर्ने योजनामा छन् । व्यवसायबाट अवकाश लिएपनि खेलबाट भने तत्काल अवकाश लिने योजनामा छैनन् महर्जन । म्याराथुन उनका हरेक नसाहरुमा बगिरहेको छ । विश्वमा मुख्य ६ ओटा म्याराथुनहरुमध्ये सबैमा संलग्न भइसकेका छन् उनी । साथै लण्डनमा यही २०२३ को अप्रिलमा आयोजना भएको प्रतिष्पर्धामा नेपालको लागि पहिलो सिक्स स्टार मेडल प्राप्त गर्ने व्यक्तिको रुपमा समेत उनी आफूलाई स्थापित गराइसकेका छन् ।
युवाहरुलाई सन्देश
आफूले चाहेका सबै कामहरुमा अहिले सम्म सफल नै बनेको अनुभव गरेका महर्जन हरेक सफलता निरन्तरकै मेहनतबाट मात्र प्राप्ति हुने दाबी गर्छन् । योजना सहित काममा लागे नेपालमा सफल हुन सक्ने अवस्था राम्रो रहेपनि थुप्रै युवाहरु कि त काममा संलग्न नै हुँदैनन्, कि त कामबाट छिटो र बढी लाभको अपेक्षा गरेको कारण छिट्टै निराश भइहाल्ने अवस्थामा पुग्छन् । यस मनस्थितिलाई महर्जनले नजिकबाट बुझेका छन् । बिना मेहनत कोही पनि सफल हुन सक्दैनन् । जुनसुकै क्षेत्रमा सफल हुनको लागि पनि मेहनत र काम प्रति विश्वास हुनुपर्ने आवश्यकता महत्वपूर्ण ठान्छन् उनी । नेपाली युवाहरुलाई यही सन्देश दिन आवश्यक ठान्छन् महर्जन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij