हामीले दैनिक जीवनमा कति धेरै मेसिन, यन्त्र र उपकरणहरू चलाउँछौँ! तिनलाई सञ्चालन गर्न हामीले महिनाौँ तालिम लिन्छौँ, निर्देशन पुस्तिका पढ्छौँ र बारम्बार अभ्यास गर्छौँ।
एउटा सामान्य स्मार्टफोन वा कम्प्युटर चलाउन सिकाइको आवश्यकता पर्छ। तर, यो संसारको सबैभन्दा जटिल, शक्तिशाली र अद्भूत कम्प्युटरभन्दा पनि हजारौं गुणा क्षमतावान् “मस्तिष्क” हामीले जन्मजात रूपमा, कुनै पनि पूर्वप्रशिक्षणबिना निशुल्क प्राप्त गरेका छौँ।
विडम्बना, यही यन्त्रलाई कसरी प्रयोग गर्ने भन्ने औपचारिक शिक्षा वा तालिम हामीले कहिल्यै पाएनौँ।
कस्तूरीको मृग र हामी
पौराणिक कथामा आउने कस्तूरी मृगको कथा हामीले सुनेका छौँ, जसको नाभिमा सुगन्धित कस्तूरी हुन्छ, तर ऊ त्यसको बास्नाको खोजीमा भौतारिँदै वनजङ्गल चहार्छ। हाम्रो जीवनको यथार्थ पनि ठीक यस्तै भएको छ। हामी आफूभित्र अपार सम्भावना, ऊर्जा र सामथ्र्य लुकेको छ भन्ने बिर्सिएर बाह्य संसारमा मात्र सफलता र सुख खोजिरहन्छौं। कता कता भौतारिन्छौँ, तर, जुन गम्भीरता र योजनाबद्ध तरिकाले आफूभित्रका सम्भावनालाई सतहमा ल्याउनुपथ्र्यो, त्यो अभ्यास हामीबाट छुटिरहेको हुन्छ। परिणामतः, हामीले चाहेर पनि हाम्रा लक्ष्यहरू सार्थक हुन सकिरहेका छैनन्।
जबसम्म हामी “म केवल आफ्नो जीविकोपार्जन गर्न र निजी स्वार्थ पूरा गर्न मात्र आएको हुँ” भन्ने सङ्कुचित घेराभित्र बस्छौँ, तबसम्म हाम्रो उचाइ पनि त्यही सीमित घेरामै रोकिन्छ। तर, जब हामी यो सत्यबोध गर्न थाल्छौँ कि— “म सामान्य व्यक्ति मात्र होइन, मसँग समाजलाई दिने केही विशेष योगदान छ, मेरो जीवनको विशिष्ट मूल्य र अर्थ छ”— तब हाम्रो सोच र क्षमताको दायरा स्वतः फराकिलो बन्न थाल्छ।
अवचेतन मस्तिष्क र फोकसको खेल
हाम्रो अवचेतन मस्तिष्कको एउटा अचम्मको नियम छ। हामीले जसमाथि आफ्नो ध्यान (Focus) केन्द्रित गर्छौँ, जीवनमा त्यही कुरा ठूलो भएर देखा पर्न थाल्छ।
यसलाई एउटा सानो उदाहरणबाट बुझ्न सकिन्छ। मानौँ, तपाईं कुनै गाढा अँध्यारो रातमा कतै हिँड्दै हुनुहुन्छ र तपाईंको हातमा एउटा टर्चलाइट छ। अँध्यारोमा तपाईंले आँखाले केही पनि देख्न सक्नुभएको थिएन। तर, जब तपाईंले टर्चलाइट बालेर त्यसको उज्यालो जता-जता फर्काउनुहुन्छ, ठ्याक्कै त्यही-त्यही वस्तुहरू मात्र तपाईंको दृष्टिगोचर हुन थाल्छन्।
हाम्रो जीवन पनि यही टर्चलाइट जस्तै हो। यदि आजसम्म हामीले आफ्नो ध्यान केवल अभाव, समस्या, असफलता र कठिनाइमा मात्र केन्द्रित गरेका थियौँ भने, हामीले चारैतिर समस्या बाहेक अरू केही पनि देखेका छैनौँ।
तर, अब यो दृष्टिलाई बदल्ने बेला आएको छ। जब हामी आफ्नो फोकसलाई अभावबाट हटाएर नयाँ अवसर, सम्भावना, सिर्जना र समाधानतर्फ केन्द्रित गर्छौँ, तब हामीले जीवनमा नयाँ-नयाँ ढोकाहरू खुल्दै गएको देख्न सुरु गर्नेछौँ।
साधारणबाट असाधारणको यात्रा
हामी कोही पनि सीमिततामा बाँधिनका लागि जन्मिएका होइनौँ। हामीसँग भएको मस्तिष्क रूपी यो अमूल्य यन्त्रलाई सही दिशा दिन सकियो भने हामी साधारणबाट असाधारण उचाइमा पुग्न सक्छौँ। केवल आफ्नै गाउँ वा सहरमा मात्र होइन, आफ्नो काम र सिर्जनाको माध्यमबाट विश्वव्यापी पहुँच र पहिचान (ब्रान्ड वा लिगेसी) निर्माण गर्न सक्छौँ।
त्यसैले, अब आवश्यकता बाह्य भौताराइको होइन, आन्तरिक गहिराइमा उत्रिने हो। आफ्ना सीमितताका पर्खालहरूलाई तोड्दै, अवचेतन मस्तिष्कको शक्तिलाई चिन्नुहोस् र आफ्नो ध्यानलाई सही गन्तव्यमा मोड्नुहोस्।
सफलताको सुगन्ध अन्त कतै खोज्नु पर्दैन, यो त केवल तपाईं नै भित्र विद्यमान छ; आवश्यकता केवल त्यसलाई महसुस गरी प्रस्फुटन गराउने हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij