हामी अधिकांश मानिसहरू हरेक दिनजसो आफैभित्रको अनिर्णयको द्वन्द्वमा फसिरहन्छौँ। कुनै काम गर्न लाग्दा एउटा मनले भन्छ—”यो गर्नु ठीक छ,” अर्को मनले भन्छ—”नगर्नु ठीक छ।” दुईवटा विकल्पबीच अल्झिएर हामी सही निर्णय लिन सकिरहेका हुँदैनौँ।
यदि तपाईं पनि यस्तै द्वन्द्वमा हुनुहुन्छ भने, आज म एउटा असाध्यै शक्तिशाली एनएलपी (NLP) टेक्निकको बारेमा बताउँदैछु, जसले तपाईंलाई सही निर्णयमा पुग्न मार्गदर्शन गर्छ। आउनुहोस्, यसलाई बुझौँ र अभ्यास गरौँ।
जब हामी कुनै महत्त्वपूर्ण निर्णय लिन खोज्छौँ, तब दुवैतर्फका कामका पछाडि केही राम्रा पक्ष र केही कमजोरीहरू हुनु स्वाभाविकै हो। तर तीमध्ये सही विकल्प रोज्नु नै बुद्धिमानी हो।
मान्नुहोस्, तपाईंको अगाडि यस्तै दुईवटा विकल्पहरू छन्:
पहिलो विकल्प: जहाँ अहिलेको लागि प्रशस्त पैसा, आर्थिक लाभ र उपार्जनको ठूलो सम्भावना छ, तर त्यहाँ वास्तविक आनन्द वा दीर्घकालीन सुरक्षा नहुन सक्छ।
दोस्रो विकल्प: जहाँ तत्काल ठूलो आम्दानी नभए पनि तपाईंको व्यक्तिगत ग्रोथ, भविष्यको सम्भावना र सिक्ने अवसर धेरै राम्रो छ।
अब, यस्तो अवस्थामा कुन कामलाई पहिलो प्राथमिकतामा राख्ने? यदि तपाईं निर्णय लिन सकिरहनु भएको छैन भने, यो सानो मानसिक प्रयोग (Exercise) गर्नुहोस्:
आँखा बन्द गर्नुहोस्। ती दुई महत्त्वपूर्ण काममध्ये आर्थिक लाभ भएको कामलाई दाहिने हातमा र दीर्घकालीन ग्रोथ भएको कामलाई बायाँ हातमा लिनुभएको महसुस गर्नुहोस्।
“यो काममा अगाडि बढ्नु दीर्घकालीन रूपमा कति बुद्धिमानी हुन्छ?”
यसले एकै पटकमा ठूलो कोष सङ्कलन गर्न र पहिचानलाई माथि उठाउन सक्ला। तर विचार गर्नुहोस्—के यो पैसाले मात्रै तपाईंको आत्मसम्मानलाई कमजोर त बनाइरहेको छैन? कतै यो पैसाले तपाईंलाई नोक्सानी वा बर्बादीको बाटोमा त लैजाँदै छैन?
कतै यो पैसा कुनै नकारात्मक बाटो, नशा वा सामाजिक विकृतिबाट त आएको छैन? यो ‘ह्याप्पी मनी’ हो वा भविष्य बर्बाद गर्ने माध्यम? यसको सत्यता जाँच्नुहोस्।
अब बायाँ हातका सम्भावनाहरूतर्फ आउनुहोस्। जहाँ तपाईं स्किल सिक्दै हुनुहुन्छ, नेटवर्किंङ बन्दैछ, तर तत्काल ठूलो आम्दानी छैन।
आफैँलाई सोध्नुहोस्—“यदि मेरो तत्कालको आर्थिक समस्या निकै ठूलो छ भने, के म यो कामलाई लामो समयसम्म निरन्तरता दिन सक्छु?”
यदि निश्चित गन्तव्यमा नपुग्दै बीचमै छाड्नुपर्ने अवस्था आयो भने, के तपाईं त्यसको लागि भित्रैदेखि तयार हुनुहुन्छ? यी व्यावहारिक पाटोहरूलाई गहिरोसँग विचार गर्नुहोस्।
यी सबै प्रश्नहरूको उत्तर मनमा महसुस गरिसकेपछि, अब दुवै हातलाई एक ठाउँमा जोड्नुहोस् र त्यसलाई आफ्नो हृदयमा राख्नुहोस्।
जब तपाईं आफ्ना यी दुवै पक्ष (तत्कालको आवश्यकता र दीर्घकालीन ग्रोथ)लाई एउटै ठाउँमा ल्याउनुहुन्छ, तब तपाईंको मनको अन्तरद्वन्द्व स्वतः शान्त हुन्छ र तपाईं भित्रैबाट स्पष्ट र सही निर्णय लिन सक्नुहुन्छ।
यो सरल तर प्रभावकारी एनएलपी अभ्यासले तपाईंलाई अल्झनबाट बाहिर निकालेर स्पष्टता दिन मद्दत गर्नेछ। यो अभ्यास कस्तो लाग्यो, आफ्नो अनुभव कमेन्टमा साट्नुहोला!
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij