काठमाडौँ — ललितपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि व्यवसायी मुकुन्द महर्जनले कोषाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय महर्जनले संघको आर्थिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने एजेन्डासहित उम्मेदवारी दिएका हुन्।
संघको ४७औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि यही असोज २३ र २४ गते निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा संघको आगामी नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। सोही क्रममा महर्जनले कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी अघि सारेका हुन्। यसपटक उनले स्वतन्त्र तवरले उम्मेदवारी दर्ता गराएका हुन् ।
तीन दशकभन्दा बढी समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय महर्जन संघका पूर्वकार्यसमिति सदस्यसमेत हुन्। लामो व्यावसायिक अनुभवसँगै विभिन्न व्यावसायिक तथा सामाजिक संस्थामा जिम्मेवारी निर्वाह गरेको अनुभवलाई संघको संस्थागत विकासमा उपयोग गर्ने महर्जनको भनाइ छ।
महर्जनले संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउने विषयलाई आफ्नो मुख्य प्राथमिकतामध्ये एक बनाएका छन्। व्यवसायीले भोग्दै आएका दैनिक समस्या, नीतिगत जटिलता तथा सरकारी सेवा प्रवाहसँग सम्बन्धित कठिनाइ समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने उनले बताएका छन्।
महर्जनले ललितपुर उद्योग वाणिज्य संघको आफ्नै सुविधासम्पन्न तथा व्यवसायीमैत्री भवन निर्माणलाई पनि प्राथमिकतामा राखेका छन्। उद्योगी तथा व्यवसायीलाई आवश्यक सेवा, सुविधा तथा विभिन्न व्यावसायिक गतिविधि सञ्चालनका लागि संघको आफ्नै व्यवस्थित पूर्वाधार आवश्यक रहेको उनको धारणा छ।
संघलाई व्यवसायीका समस्या उठाउने र समाधानका लागि पहल गर्ने प्रभावकारी संस्थाका रूपमा थप सुदृढ बनाउन संस्थागत पूर्वाधारसँगै आर्थिक तथा प्रशासनिक व्यवस्थापनमा समेत सुधार आवश्यक रहेको महर्जन बताउँछन्। महर्जनले संघीय, प्रदेश र स्थानीय तहका तीनै तहका सरकारसँग समन्वय गरी निजी क्षेत्रले भोग्दै आएका व्यावहारिक तथा नीतिगत समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।
महर्जन नेपाल मदिरा व्यवसायी महासंघका पूर्वसह–कोषाध्यक्षसमेत हुन्। पाटनका युवा व्यवसायीका रूपमा परिचित महर्जन टेन टु टेन लिकस्टोर, मुकुन्द स्टोर, जेवियर स्नोकर्स हाउस तथा मुकुन्द ट्रेडिङका सञ्चालक हुन्। त्यस्तै, उनी होम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुन् भने नेपाल उद्योग वाणिज्य महासंघको कृषि समितिमा समेत आबद्ध छन्।
व्यावसायिक क्षेत्रमा स्वच्छ छवि र लामो समयको अनुभवले आफूलाई कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्न सहयोग पुग्ने महर्जनको विश्वास छ। आगामी निर्वाचनबाट कोषाध्यक्षमा निर्वाचित भए संघको आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउँदै व्यवसायीको हितमा काम गर्ने उनको प्रतिबद्धता रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij