काठमाडाैं । नेपाल टेलिकमले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिक तथा सडक करिडोरका बासिन्दाका लागि विशेष राहत तथा सञ्चार सुविधाको व्यवस्था गरेको छ। प्रभावित जिल्लाहरू रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका नागरिकलाई लक्षित गरी कम्पनीले सञ्चार सेवामा विभिन्न छुट र निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको हो।
बाढीबाट क्षति भई पुनः प्रयोग गर्न नमिल्ने भएका एनटी फाइबर केबल र राउटर निःशुल्क जडान गरिदिने व्यवस्था मिलाइएको छ। यसका साथै एनटी फाइबर प्रयोगकर्ताहरूको समयावधि सकिएको भए तीन महिनाका लागि निःशुल्क समय थप गरिने भएको छ।
विपद्का कारण सिमकार्ड गुमाएका प्रभावित ग्राहकले पाँचवटा सम्पर्क नम्बर उपलब्ध गराई आफ्नो सिमकार्ड पुनः प्राप्त गर्न सक्नेछन्। यसका लागि उक्त नम्बरको अन्तिम लोकेसन बाढी प्रभावित क्षेत्रमै हुनुपर्ने र केवाईसी (KYC) विवरण अद्यावधिक गर्नुपर्ने सर्त राखिएको छ।
यस्तै, बाढीमा फसेका व्यक्तिहरूसँग सम्पर्क कायम राख्न नेपाली सेनाको समन्वयमा २१० थान प्याकेजसहितका सिमकार्ड उपलब्ध गराइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको डेटा व्यवस्थापन सहज बनाउन नेपाल टेलिकमले डार्क फाइबरमार्फत निःशुल्क फिजिकल कनेक्टिभिटी समेत प्रदान गरेको छ।
प्राथमिक मनोवैज्ञानिक सहयोग र मनोपरामर्श दिँदै आएको CMC-Nepal को टोल फ्री नम्बर (१८१०५०००४०२) को तीन महिनासम्मको महसुल टेलिकमले मिनाहा गरेको छ।
राहत सङ्कलन तथा उद्धार कार्यलाई सघाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा सामाखुशीस्थित राहत केन्द्रहरूमा १ महिनाका लागि १०० Mbps को इन्टरनेट निःशुल्क दिइएको छ। साथै, भरतपुर जिल्ला प्रशासनको विपद् व्यवस्थापन युनिट र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणलाई १ वर्षका लागि उच्च गतिको निःशुल्क इन्टरनेट तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार र पुनर्स्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि नै झन्डै २० करोड रुपैयाँ सहयोग उपलब्ध गराइसकेको छ।
बाढीका कारण करोडौँ रुपैयाँ बराबरको दूरसञ्चार पूर्वाधारमा क्षति पुगेको र त्यसको पुनर्निर्माण कार्यलाई समेत तीव्रताका साथ अघि बढाइएको टेलिकमले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij