काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार समीक्षा अवधिमा बैंकले आफ्नो खुद नाफामा उच्च वृद्धि हासिल गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकले चालु आवको सोही अवधिमा ४५ दशमलव ४ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले खुद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१ दशमलव ४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रहेको छ भने यस आधारमा बैंकको लाभांश क्षमता २२ दशमलव ०८ प्रतिशत कायम भएको छ, जसले शेयरधनीहरूका लागि अत्यन्त आकर्षक वातावरण सिर्जना गरेको छ।
चालु आवको असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ४ दशमलव ६ प्रतिशतले बढेर ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३ दशमलव ४ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (CD Ratio) ८० दशमलव शून्य १ प्रतिशत रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी (EPS) मा पनि भारी वृद्धि देखिएको छ। गत वर्ष प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४९ पैसा रहेकोमा चालु आवमा बढेर ३३ रुपैयाँ ८९ पैसा पुगेको छ। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ९० पैसा रहेको छ।
यस अवधिमा बैंकले आफ्नो जोमिख व्यवस्थापनमा सुधार गर्दै खराब कर्जा (NPL) घटाउन समेत सफलता हासिल गरेको छ। गत वर्षको असोज मसान्तमा ४ दशमलव ३१ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४ दशमलव ०६ प्रतिशतमा झरेको छ, जसले बैंकको कर्जा असुली तथा समग्र वित्तीय स्वास्थ्य थप सुदृढ बन्दै गएको स्पष्ट पार्छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij