– कमल पन्थी
धनतेरस अर्थात धन्वन्तरी त्रयोदशीको दिनबाट तिहारको पर्वको औपचारिक सुरुवात हुन्छ। यस दिनको महत्वलाई केवल बाहिरी औपचारिकता वा भौतिक वस्तुको खरिदमा मात्र सीमित राख्नु न्यायसंगत हुँदैन। जब देवता र दैत्यहरूबीच समुद्र मन्थनको कार्य भयो, त्यस क्रममा हातमा अमृतको घडा लिएर भगवान धन्वन्तरी प्रकट हुनुभएको थियो। उहाँ आयुर्वेद र औषधिका अलावा मानसिक शान्तिका देवता समेत हुनुहुन्थ्यो।
तर, हामीले आजको यो दिनलाई केवल एक सामान्य स्मरण वा जयन्तीको रूपमा मात्र मनाएर पुग्दैन। वैज्ञानिक तथ्य अनुसार हाम्रो जीवनमा पनि दैनिक रूपमा ६० हजारदेखि ७० हजार विचारहरू उत्पन्न हुन्छन्। तीमध्ये सबै विचार लाभदायक हुँदैनन्; केही लाभदायक हुन्छन्, केही हानिकारक हुन्छन् र केही स्थिर वा न्यूट्रल (Neutral) हुन्छन्। जब हामी अत्यधिक तनाव र दबाबमा आउँछौं, त्यतिबेला हामीभित्रका उच्च सम्भावनायुक्त विचारहरू दबेर केवल हामीलाई तनाव र दबाब सिर्जना गर्ने तथा आफैंले आफैंलाई रोक्ने विचारहरूको भारी बन्न थाल्छ।
त्यस्तो अवस्थामा यदि हामीले समुद्र मन्थनमा जस्तै आफैं भित्र, आफ्नै मस्तिष्कमा मन्थन गरेर—सचेत रूपमा मेरो लागि कुन विचार सही छ, कुन भावनाहरू आवश्यक छन् र कुन लाभदायक छैनन् भनेर पहिचान गर्न एकैछिन रोकिन्छौं—अनि सही विचारहरूलाई शक्तिशाली बनाउने र तिनमा भावना जोड्ने काम गर्छौं, तब ती विचारहरूले हामीलाई शान्ति र समृद्धिको यात्रामा अवश्य पनि डोर्याउनेछन्।
त्यसैले, धन्वन्तरी त्रयोदशी भनेको समृद्धि र शान्तिलाई आफ्नै जीवनमा आकर्षित गर्ने दिन हो। बाहिरी रूपमा चम्किला भाँडाकुडा खरिद गरेर घरमा भित्र्याउनु त केवल समृद्धिको एउटा सङ्केत मात्र हो। वास्तविक समृद्धि तब सुरु हुन्छ जब हामी वर्षभरि मस्तिष्क र हृदयमा जम्मा भएका काम नलाग्ने विचार र भावनाका भारीहरूलाई सफा गरेर ‘डिप सेलुलर लेभल डिटक्सिफिकेसन’ गराउँछौं। यस प्रक्रियाले हाम्रा गिल्ट (Guilt), रिग्रेट (Regret) र लिमिटिङ बिलिफ्स (Limiting Beliefs) जस्ता अनावश्यक विकार र दानवीय तत्वहरूलाई नष्ट गरी लाभदायक संकल्पहरू भर्न मद्दत गर्दछ।
आजको दिन हामीले एउटा दृढ सङ्कल्प लिनुपर्छ—हामी केवल बाहिरी भौतिक वस्तु थुपारेर मात्र समृद्ध बन्ने छैनौं, बल्कि आफ्नो मस्तिष्कलाई पनि समृद्धिको लागि तयार पार्नेछौं। हामीभित्रका पुराना र सफल हुन नदिने न्युरल पाथवेहरूलाई भत्काएर, आजैदेखि हामीलाई लक्ष्यसँग एककार गराउने नयाँ न्युरल पाथवेहरूको प्रोग्रामिङ गर्नेछौं। जब हामी बाहिर मात्र होइन, भित्रैबाट पूर्ण रूपमा स्वस्थ, खुसी र आनन्दित महसुस गर्न सक्छौं, तब अनावश्यक अस्पतालका खर्चहरू र पीडाहरू स्वतः घटेर जान्छन्। कुनै पनि लक्ष्य वा योजना जीवनमा दुई पटक बन्छ—पहिलो, हाम्रो मस्तिष्कमा र दोस्रो, बाहिरी भौतिक स्वरूपमा।

आन्तरिक रूपान्तरणका लागि माइन्डफुलनेस र क्रिएटिभ भिजुलाइजेसनको अभ्यास
यस आन्तरिक समृद्धिलाई व्यवहारमा उतार्न र मस्तिष्कलाई नयाँ ऊर्जा प्रदान गर्न हामी एउटा गहिरो मानसिक अभ्यास गर्न सक्छौं:
शारीरिक स्थिरता र माइन्डफुलनेस: आरामसँग बस्नुहोस्, आफ्नो ढाड सीधा पार्नुहोस् र एउटा लामो गहिरो श्वास भित्र लिनुहोस्। मनमा कस्ता विचारहरू आइरहेका छन्, तिनलाई केवल हेर्नुहोस्। तिनमा कुनै प्रतिक्रिया नदिनुहोस्। राम्रा, नराम्रा, पछुताप वा नयाँ सम्भावनाका जुनसुकै विचारहरू आए पनि तिनलाई आउन र जान दिनुहोस्—यही नै माइन्डफुलनेस हो।
शारीरिक स्क्यानिङ र तनाव विसर्जन: बिस्तारै आफ्नो ध्यान शरीरका अङ्गहरूमा केन्द्रित गर्नुहोस्। आफ्नो ध्यान खुट्टाको पैताला, घुँडा, कम्मर, ढाडको माथिल्लो भाग, हातका औंलाहरू, घाँटी र टाउकोसम्म लैजानुहोस्। जहाँजहाँ तनाव वा दबाब महसुस हुन्छ, त्यहाँ केहीबेर ध्यान दिएर त्यो भागलाई पूर्ण रूपमा शान्त र शिथिल बन्न दिनुहोस्। शरीरका हरेक अङ्गहरूबाट तनाव पग्लिएर गएको महसुस गर्नुहोस्।
भगवान धन्वन्तरीको दिव्य ऊर्जा र अमृत सिञ्चन: अब कल्पना गर्नुहोस् कि तपाईं एक दिव्य शक्तिसँग जोडिनुभएको छ। तपाईंको शिरभन्दा सिधा माथि भगवान धन्वन्तरी हातमा कलश र अमृत कुण्ड लिएर उपस्थित हुनुभएको छ। त्यहाँबाट आएको सुनौलो पाइपमार्फत अमृतका रसहरू तपाईंको शिरमा प्रवेश गरिरहेका छन्। त्यो अमृत रसले तपाईंको अनुहार, घाँटी, छाती, पेट, मुटु, कलेजो, फोक्सो, हात र खुट्टाका हरेक कोषहरूलाई सिंचित गरिरहेको छ।
विकार तत्वहरूको निष्कासन: यसै क्रममा, तपाईंको शरीरभित्र जम्मा भएका पुराना विकार र टक्सिनहरू कालो तत्वको रूपमा खुट्टाको कुर्कुचामा रहेको सानो प्वालबाट बाहिर निस्किएर जाँदैछन्। अब तपाईंको शरीरमा ती अनावश्यक विकारहरूको कुनै स्थान छैन।
समृद्धिको नयाँ प्रोग्रामिङ (क्रिएटिभ भिजुलाइजेसन): धन्वन्तरी देवताबाट प्राप्त आशीर्वादलाई महसुस गर्नुहोस्। “म आर्थिक रूपमा सक्षम छु र मेरा हरेक लक्ष्य प्राप्त गर्न योग्य छु” भन्ने भावलाई आत्मासात् गर्नुहोस्। अब एउटा सुन्दर भविष्यको कल्पना गर्नुहोस्—तपाई एक ठूलो व्यवसायको मालिक बन्नुभएको छ, देश-विदेशको यात्रा गरिरहनु भएको छ, कृषि र उद्योग जस्ता क्षेत्रमा लगानी विस्तार गर्नुभएको छ, र समाज रूपान्तरणका लागि सामाजिक कार्यहरू (सीएसआर प्रोग्रामहरू) सञ्चालन गरिरहनु भएको छ।
यो गहिरो आनन्द र समृद्धिको भावलाई महसुस गर्नुहोस्। बाहिरी भौतिक चीजहरूभन्दा माथि उठेर यो आन्तरिक शक्तिको साथ एककार हुनुहोस्। बाहिरी भाँडाकुडा खरिद गर्नु त केवल एउटा सङ्केत हो, तर वास्तविक समृद्धि तपाईंको मनको गहिराइ र नयाँ न्युरल अलाइनमेन्टबाट मात्र सम्भव हुन्छ। भगवान धन्वन्तरीसँग प्रार्थना गर्नुहोस् कि यो आरोग्य, खुसी र समृद्धि सधैं तपाईंको जीवनमा स्थायी रूपमा स्थापित रहोस्।
शुभ दिन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij