गोविन्द ढुङ्गेल, अध्यक्ष, नेपाल कुरियर सेवा संघ
नेपालमा लामो समय देखि हुँदै आएको लकडाउनको कारण अधिकांश व्यावसायिक क्षेत्रहरु चलायमान बन्न सकेका छैनन् । पर्यटन, उत्पादनमूलक एवं व्यावसायिक क्षेत्रहरुमा परेको यस सङ्कटको असर बारे बारे चर्चा हुने गरेपनि सेवा क्षेत्रमा परेको असर बारे भने खासै चर्चा भएको पाईंदैन । सेवा क्षेत्र अन्तरगत पर्ने एउटा क्षेत्र हो, कुरियर क्षेत्र । एक ठाऊँको डकुमेन्ट एवं पार्सल अर्को ठाउँसम्म पुर्याउने कामको सम्पूर्ण जिम्मेवारी लिने व्यवसायीहरु हुन् कुरियर व्यवसायी । लामो समयको लकडाउनको मारमा अहिले यो क्षेत्र पनि परेको छ ।
यसै परिस्थिति बीच नेपालमा कुरियर व्यवसायको अहिलेको अवस्था के कस्तो छ ? आगामी सम्भावना र चुनौती के हुन सक्लान् भन्ने सम्बन्धमा नेपाल कुरियर सेवा संघका अध्यक्ष गोविन्द ढुंगेल सँग कुराकानी गरी यो सामाग्री तयार पारेका छौं ।
कुरियर व्यवसाय सञ्चालनको लागि आन्तरिक र बाह्य मुलुकमा चल्ने हवाई तथा भू यातायात नियमित हुनु अनिवार्य रहन्छ । तत्काल नै यातायात सेवा सुचारु हुन सकेको खण्डमा हाम्रो व्यवसाय पुनः ६ महिनामा पहिलेको अवस्थामा आउन सक्ला । तर त्यसो नभई लकडाउन अझै लम्बिएको खण्डमा भने हामीले अझ ठूलो आर्थिक भार व्यहोर्नुपर्ने अवस्था सृजना हुने निश्चित छ ।
कुरियर व्यवसायका प्रकृतिः
नेपालमा सञ्चालनमा रहेका कुरियर व्यवसायीहरुले मुख्यतः अन्तर्राष्ट्रिय (तेस्रो मुलुक), भारत र आन्तरिक बजारमा केन्द्रित रही सेवा प्रवाह गर्दै आएका छन् । अहिलेको लकडाउनको कारण यी ३ ओटै प्रकृतिका व्यवसायीहरु समस्यामा छन् ।
कुरियर व्यवसायमा लकडाउनकाे असरः
अन्तर्राष्ट्रिय उडानहरु बन्द छन् । नेपाल भित्र पनि नियमित चल्ने सार्वजनिक यातायातहरु सञ्चालन हुन सकेका छैनन् । जसले गर्दा एक ठाऊँबाट कुनै कागजपत्र एवं पार्सल अर्को ठाऊँ लैजान सक्ने अवस्था समेत छैन । नेपाल सरकारले सञ्चालन अनुमति दिएका ४४ उद्योगहरु मध्ये कुरियर उद्योग पनि एक हो । तर यस व्यवसायलाई सञ्चालनको लागि आवश्यक पर्ने मुख्य पूर्वाधार अर्थात यातायात भने पूर्ण रुपमा बन्द छ ।
साथै हवाई सेवा पूर्ण रुपमा बन्द हुँदा नेपालमा भएका डकुमेन्ट तथा पार्सलहरु तेस्रो मुलुक तथा भारतमा निर्यात गर्न सकिने अवस्थामा पनि हामी व्यवसायीहरु छैनौं । आन्तरिक रुपमा सेवा सञ्चालनको लागि भने एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आफ्नै साधन लगेर समेत जान पाइने व्यवस्था नभएको र सार्वजनिक यातायात समेत बन्द रहेको कारण व्यवसायलाई गतिशिल बनाउन सक्ने कुनै सम्भावना छैन ।
व्यावसायिक चपेटा बारे चर्चामा नआएको क्षेत्रः
अहिलेको अवस्थामा लामो लकडाउनको कारण नेपालका अन्य व्यवसायहरु जसरी नै हामी कुरियर व्यवसायीहरु पनि समस्यामा छौं । समस्यामा हामी मात्र होइन, ट्रेकिङ, ट्राभल, होटल, उत्पादनमूलक एवं निर्यातमूलक उद्योग तथा विभिन्न प्रकृतिका व्यवसायहरु छन् । तर अन्य क्षेत्रहरुमा परेको असर बारे बजारमा चर्चा हुने गरेको छ । तर कुरियर व्यवसायीहरुको बारेमा भने कसैले आवाज नै नउठाएको अवस्था छ ।
यसरी अघी बढ्नुपर्छ अबको व्यावसायिक यात्राः
हामी सबै व्यवसायीहरुको चाहना भनेको कोरोना नियन्त्रणमा आइसकेपछि मात्र हाम्रा उद्योग व्यवसायहरु सञ्चालन गर्न सकियोस् भन्ने हो । तर तत्कालको परिस्थितिलाई हेर्दा नेपालमा यो समस्या तुरुन्तै नियन्त्रणमा आउने देखिँदैन । यसकारण हामीले कि त व्यवसाय बन्द गरेर यसबाट सृजना भएको मारलाई खेप्न नसकी आफूले समेत आत्महत्या गर्नुपर्ने अवस्था आउने स्थिति सृजना हुँदैछ, कि त रोगसँग लड्दै व्यवसाय सञ्चालनको विकल्प हामीले रोज्नुपर्छ ।
मलाइ लाग्छ, दोस्रो विकल्प अहिलेको लागि उत्तम विकल्प हुन सक्छ । अहिलेको अवस्था भनेको नेपालका व्यवसायीहरुको लागि निकै नै दुखद घडी हो । यसरी उद्योग व्यवसायलाई सधैं बन्द गरेर मात्र हाम्रा समस्याहरु समाधान हुँदैनन् ।
कुरियर व्यवसाय र यातायातको सम्बन्धः
कुरियर व्यवसाय सञ्चालनको लागि आन्तरिक र बाह्य मुलुकमा चल्ने हवाई तथा भू यातायात नियमित हुनु अनिवार्य रहन्छ । तत्काल नै यातायात सेवा सुचारु हुन सकेको खण्डमा हाम्रो व्यवसाय पुनः ६ महिनामा पहिलेको अवस्थामा आउन सक्ला । तर त्यसो नभई लकडाउन अझै लम्बिएको खण्डमा भने हामीले अझ ठूलो आर्थिक भार व्यहोर्नुपर्ने अवस्था सृजना हुने निश्चित छ ।
कुरियर व्यवसायमा डिजिटल सिग्नेचरले पार्न सक्ने प्रभावः
नेपाल लगायतका देशहरुमा पछिल्ला दिनहरुमा कागजपत्रको प्रयोग अनिवार्य नहुने गरी डिजिटल सिग्नेचरलाई प्रोत्साहन गरिँदैन । यसरी सबैजसो प्रयोजनको लागि वैधानिक रुपमै डिजिटल सिग्नेचर प्रयोगमा आउन सकेको खण्डा डकुमेन्ट ढुवानीमा केही कमी आउन सक्ने देखिएको छ । तर कुरियर व्यवसायीहरुको लागि कागजपत्रको अलावा एक ठाउँमा उत्पादित अनिवार्य आवश्यकताका अन्य भौतिक वस्तुहरु समेत अर्को ठाउँमा ढुवानी गर्नुपर्ने अवस्था रहन्छ । यसकारण यसबाट व्यवसायमा खासै असर पर्ने देखिँदैन ।
हामी सबै व्यवसायीहरुको चाहना भनेको कोरोना नियन्त्रणमा आइसकेपछि मात्र हाम्रा उद्योग व्यवसायहरु सञ्चालन गर्न सकियोस् भन्ने हो । तर तत्कालको परिस्थितिलाई हेर्दा नेपालमा यो समस्या तुरुन्तै नियन्त्रणमा आउने देखिँदैन । यसकारण हामीले कि त व्यवसाय बन्द गरेर यसबाट सृजना भएको मारलाई खेप्न नसकी आफूले समेत आत्महत्या गर्नुपर्ने अवस्था आउने स्थिति सृजना हुँदैछ, कि त रोगसँग लड्दै व्यवसाय सञ्चालनको विकल्प हामीले रोज्नुपर्छ ।
मुख्यतः हामी ठूला पार्सलमा निर्भर रहेर सेवा प्रवाह गरिरहेका छौं । विगतका सरकारहरुले पनि कुनै डकुमेन्ट पठाउने क्रममा कुरियरबाट नभई हुलाक सेवाबाट नै पठाउन निर्देशन नदिएका होइनन् । तर डकुमेन्टमा मात्र हामी निर्भर नभएका हुनाले केही मात्रामा डकुमेन्ट पठाउने कार्यमा कमी आएपनि ठूलो क्षमतामा काम गर्नको लागि भने त्यसले हामीलाई कुनै प्रभाव पार्दैन । 
कुरियर व्यवसायीका अन्य दायित्व र अबका सम्भावनाः
अमेरिकाबाट कुनै चेकमा सही गराएर नेपालमा ल्याउनुपर्दा त्यसबेला अनलाइन वा डिजिटल सिग्नेचरले काम नदिन सक्छ । ठूलो क्षमतामा नेपाल सरकारले उपलब्ध गराउने किताबहरु काठमाडौंबाट नेपालका ७७ ओटा जिल्लामा वितरण गर्ने काम हामी कुरियर व्यवसायीहरुले नै गर्दै आएका छौं । एक ठाउँमा उत्पादन भएका कपडा, चिया, औषधी लगायत थुपै्र सामान अर्को गञ्तव्यमा पुर्याउने कामको दायित्व हाम्रै हुने गर्छ । यसलाई दृष्टिगत गर्दा नेपालमा कुरियर क्षेत्रको सम्भावना अझै पनि राम्रो नै छ ।
सरकारसँग अपेक्षाः
अन्य देशका सरकारले व्यवसायीहरुलाई सहुलियतको लागि गरेका व्यवस्था बमोजिम नै नेपालमा पनि सम्बोधन होला भनेर बजेट मार्फत अपेक्षा गरेका थियौं । तर त्यसो हुन सकेन । सरकारल सामाजिक सुरक्षा कोषमा कर्मचारीहरुको रकम संकलन गर्नुभएका व्यवसायीहरुलाई ३३ प्रतिशत सरकारले, उद्योगले ३३ प्रतिशत र कर्मचारी स्वयमले ३३ प्रतिशत व्यहोर्ने गरी सेवासुविधा उपलब्ध गराउने व्यवस्था गर्नुपथ्र्यो । यो व्यवस्था उद्योग र कर्मचारी दुवैलाई अप्ठ्यारो नपरी राहत हुने मध्यमार्गी व्यवस्था हुन सक्थ्यो । तर अहिले त्यसो हुन सकेन । जसले गर्दा यसको सबै क्षति उद्योग वा व्यवसायले नै व्यहोर्नुपर्ने अवस्था सृजना भएको छ । सरकारले यसरी सबै भार निजी व्यवसायीलाई मात्र थोपरेको व्यवस्थाबाट हामी सन्तुष्ट हुन सकेका छैनौं । हाम्रो व्यवसाय अहिले निकै नै धराशयी हुने अवस्थामा छ । यसलाई पुनः माथि उठाउने कार्य हामी व्यवसायीको लागि ठूलो चुनौती बनेको छ ।
कुरियर क्षेत्रमा रोजगारीः
नेपालभर गरी अहिले कुरियर क्षेत्रमा करिब ७ हजार कर्मचारीहरु संलग्न छन् । यस क्षेत्रको बार्षिक कारोबार यत्ति नै छ भन्ने बारे अहिले सम्म आधिकारिक तथ्यांक संकलन कार्य नभएपनि मुलुकको अर्थतन्त्रमा यस क्षेत्रले पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
आगामी योजना बारे छलफलः
नेपालमा अन्य व्यवसायीहरु जसरी नै समस्यामा रहेको यस कुरियर क्षेत्रलाई पुनः कसरी चलायमान बनाउने भन्ने सम्बन्धमा निजी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ तथा कुरियर व्यवसायीहरुकै संगठन नेपाल कुरियर सेवा संघ बीच निरन्तर छलफलहरु भइरहेका छन् । लकडाउन खुलुको भई आन्तरिक र बाह्य रुपमा चल्ने यातायात साधनहरु चले मात्र हाम्रो व्यवसाय पुःन गतिशिल बन्न सक्छ भन्ने बारे नेपाल सरकारलाई पनि हामीले ध्यानाकर्षित गराएका छौं । हामी आशावादी छौं, छिट्टै हाम्रो अपेक्षा पूरा हुनेछ ।
नेपालबाट विदेश निर्यात हुने सामानः
नेपालमा उत्पादन भएका हस्तनिर्मित सामानहरु विदेशीहरुले निकै नै मन पराउँछन् । नेपालमा उत्पादित ज्याकेट, कचौरा, चरेशको थाल, हस्तकलाजन्य वस्तुहरु, कार्पेट, गार्मेन्ट, पश्मिना, फेल्ट, अलैंची, अदुवा लगायतका सामानहरु विदेश निर्यात हुने वस्तुहरु अन्तरगत पर्दछन् । यी सामानहरु युरोप, अमेरिका, भारत लगायतमा निर्यात हुन्छन् ।
कुरियरको दायित्वः
कुरियर व्यवसायीले नेपालमा उत्पादन स्थलबाट सामान उठाएर एयरपोर्टमा क्लियरेन्स गराई जहाजबाट सम्बन्धित हवाइमैदानबाट पुनः सम्बन्धित व्यक्तिको घरसम्म पुर्याउने काम गरिन्छ । जसले गर्दा सामान सुरक्षित रुपमा गञ्तव्य स्थलमा पुग्छन् ।
सरकारको दायित्वः
नेपाल सरकारले हामी जस्ता व्यवसायीहरुको लागि कसरी सेवा सुविधा व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा कुनै सोच्न सकेको छैन । नेपाल सरकारले कर्मचारीलाई जसरी भएपनि सेवासुविधा उपलब्ध गराउन निर्देशन दिइरहेको अवस्था छ । अहिले तत्काल नसके त्यसलाई रोकेर अलि पछि भएपनि त्यो उपलब्ध गराउन नेपाल सरकारले निर्देशन दिएबाट हामीलाई राहत हुन सकेको छैन ।
नीतिगत अस्पष्टताः
कुरियर हुलाक अन्तरगत रहने, हुलाक सञ्चार मन्त्रालय अन्तरगत रहने भनेर व्यवस्था गरिएपनि वास्तवमा कुरियर कुन मन्त्रालय मातहत छ भन्ने बारे नै हामी अलमलमा छौं । सञ्चार, अर्थ, गृह लगायतसँग गर्नुपर्ने समन्वयमा हामीले विशेष पहल गर्दै स्पष्ट नीतिगत व्यवस्थाको लागि सरोकारवाला निकायहरुलाई हामीले विशेष पहल गरिरहेका छौं ।
अबका सकारात्मक सङ्केतहरु
कोरोना सङ्कट पश्चात् विश्वभर नै सिष्टममा नै परिवर्तन आउने अवस्था रहन सक्छ । यसैगरी विगतका दिनमा कुरियर व्यवसायीहरुको ठूलो रकम बजारमा उधारो रहने गरेकोमा अब भने त्यसरी उधारोमा हुने कारोबार रोकिएर त्यो प्रचलन हट्ने र व्यवसायीहरुलाई पनि एकजुट बनाउनेमा हामी अपेक्षारत छौं । अब फुटेर होइन, जुटेर एकजुट भई अघी बढ्नुपर्छ भन्ने हामीले बुझ्ने अवसर पायौं ।
अन्त्यमा,
घरमै बस्नुपर्दा पनि सबै व्यवसायीहरु सुरक्षित रहौं । स्वास्थ्यमा सचेत रहौं । जीवन ३ महिनाको मात्र होइन, स्वास्थ्य सुरक्षित रहे पुनः प्रगति गर्ने दिन आउन सक्छन् । अब कोही पनि हतोत्साही नबनौं । बनस्थिति बलियो बनाएर कोरोनालाई सामना गर्न सक्ने मानसिकता हामी सबै व्यवसायीहरुले विकास गरौं । सबै व्यवसायीहरुलाई मेरो यही सन्देश छ ।
को हुन् गाेविन्द ढुंगेल
इलाममा जन्मिएका ढुंगेलले काठमाडौंमा आई उच्च शिक्षा हासिल गरेका हुन् । अध्ययनकै समयमा कुरियर व्यवसायमा कर्मचारीको रुपमा २०४८ मा प्रवेश गरेर विभिन्न भूमिकामा रही कुरियर क्षेत्रमा उनी संलग्न रहँदै आएका छन् । हाल उनी वि.सं २०५२ मा स्थापित नेपाल कुरियर सेवा संघको अध्यक्षको भूमिकामा छन् । लायन्स क्लब ३२५ ए१ मा संलग्न भएका उनी विभिन्न सामाजिक कार्यमा समेत संलग्न रहँदै आएका छन् ।
संघलाई बलियो बनाउनुपर्छ भन्ने मान्यता बमोजिम उनी निरन्तर विभिन्न सरोकारवाला निकायहरुसँग आपसी सहकार्य र सम्पर्क स्थापनाको निम्ति ढुंगेलले महत्वपूर्ण योगदान पुर्याएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij