२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

२२ औं दिनः आँखै अगाडि चामत्कारिक उपलब्धिको लागि कृतज्ञता

२२ औं दिनः आँखै अगाडि चामत्कारिक उपलब्धिको लागि कृतज्ञता

कृतज्ञता भाव विकास गर्दै जाँदा हामीमा असम्भव लाग्ने हरेक कामहरु सम्भव हुँदै जानेछन् । यो देखेर हामी आफैं अचम्मित हुनेछाैं । जुन काम हामीलाई अर्थात हाम्रो चेतन मष्तिष्कको लागि असम्भव महसुस हुन्छन्, ती कुनै पनि काम ब्रह्माण्डीय शक्तिको लागि असम्भव भन्ने हुँदैन ।

यदि हामी आफ्नै आँखा अगाडि आफ्नो जीवनमा चमत्कार भएको महसुस गर्न चाहन्छौं भने यसको लागि अभ्यास गर्नु जरुरी हुन्छ । कृतज्ञता भाव र आकर्षणको नियमको संयोजनबाट हामीले चाहेका हरेक वस्तु वा परिस्थितिहरु हाम्रो वास्तविक जीवनमा प्रकट गर्न सक्छौं ।

  आकर्षणकाे नियमकाे अवधारणा

हाम्रो अवचेतन मष्तिष्कले हामी जुन कुरामा बढी केन्द्रित छौं, त्यसलाई नै आफूले पाएको आदेशको रुपमा स्वीकार गर्छ । यदि हामीमा नकारात्मक भन्दा सकारात्मक दृष्टिकोण र भावना बढी हुन्छ भने हामी अर्को त्यस सँग मिल्दोजुल्दो सकारात्मक कुरा नै हाम्रो जीवनमा आकर्षित गर्दै जान्छौं ।

अहिले हामी कहाँ कुन ठाउँमा छौं, कुन अवस्थामा छौं, त्यसको आधारमा ब्रह्माण्डले प्रतिक्रिया नदिई हामी जहाँ भएपनि अधिकतम समय हामीले कस्तो महसुस गर्छौं, हामीले कुनै ठाउँ, वस्तु, परिस्थिति वा घटना प्रति व्यक्त गर्ने प्रतिक्रिया कस्तो छ, त्यसको आधारमा ब्रह्माण्डले हामीलाई जवाफ दिने काम गर्छ ।

एकपटक याद गरौं त, यदि हामी हतारमा कुनै काम गरिरहेका हुन्छौं भने त्यस दिन पहिलो हतारमा गरेको काम बिग्रने सम्भावना प्रवल हुन्छ । त्यसपछि हामीले सम्पन्न गर्न गइरहेका अर्को अर्को काम पनि बिग्रने सम्भावना उच्च नै रहन्छ । आखिर किन त ? किनकि जब हामी हतारमा थियौं, हामीले आफूमा अचेत रुपमा सकारात्मक नभई नकारात्मक भावना विकास गर्यौं । कहिलेकाहीँ यस्तो भयो भने हामी अब सकारात्मक अवस्थामा आउनको लागि केही समय आफूमा लगानी गरेर आफ्नो अवस्थाको आत्मविष्लेषण गरी आफ्नो भावनात्मक अवस्था बदल्नु जरुरी हुन्छ ।

‘चमत्कार’ पुस्तककी लेखिका राण्डा बर्नको जीवनमा पनि एउटा समय यस्तो थियो, जहाँ निराशै निराशा मात्र थिए । करोडौंको कर्जा थियो, लाग्थ्यो, अब पुनः पहिलेको अवस्थामा आउन असम्भव जस्तै छ । तथापि जब उनी कृतज्ञता अभ्यास शुरु गरिन् । आफ्नो माध्यमबाट करोडौं मानिसहरुको जीवनमा परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता सहित ‘रहस्य डकुमेन्ट्र«ी’ निर्माणको पाइला चालिन् । त्यसपछि एक पछि अर्को गर्दै हरेक घटना सुखद उपलब्धिमा बदलिँदै गए । जसले गर्दा १२० घण्टा लामो ‘रहस्य डकुमेन्ट्री’मा त्यस बेला विश्वका चर्चित उद्यमी, प्रशिक्षक एवं गुरुहरु आपसमा जोडिएर एक महत्वपूर्ण सञ्जाल निर्माण भयो । त्यसैको आधारमा ‘रहस्य’ पुस्तक लेखिन् । ‘चमत्कार’ पुस्तक त्यही रहस्य श्रृङ्खलाको एउटा पुस्तक हो ।

राण्डा बर्नको अभ्यास

आफू ठूलो समस्यामा रहँदा पनि राण्डा बर्नले आफूले जीवनकालमा प्राप्त गर्नुपर्ने उपलब्धिहरुलाई डायरीमा एक–एक गरेर लेख्ने शाहस गरिन् । जहाँ करोडौं मानिसको जीवनमा खुसी भर्ने र उनीहरुको जीवनमा बदलाव ल्याउने सम्मका कुराहरु समेटिएका थिए । उनी आफैंलाई लाग्थ्यो कि आफ्ना ती चाहनाहरु जीवनभरमा पूरा हुन पनि असम्भव छ । बिस्तारै उनी आफूमा कृतज्ञता भाव जगाउन थालिन् । उनी आफ्ना हरेक चाहनाहरुलाई प्रत्येक दिन डायरीमा लेख्न शुरु गरिन् । फुर्सद मिल्नासाथ दिनमा धेरै पटक उनी पूर्ण विश्वासको साथ ती चाहनाहरुको लामो सूची पढ्थिन् । यसो गर्दा उनी आफू भित्र कृतज्ञता भाव जगाइरहेकी हुन्थिन् ।

गल्ति कहाँ हुन्छ ?

भौतिक प्रकटीकरणको नियम हुन्छ कि जुन कुरा हामी भौतिक रुपमा यथार्थमा बदलिएको देख्न चाहन्छौं, त्यसमा हाम्रो पूर्ण विश्वास हुनु जरुरी हुन्छ । हामी अधिकांश व्यक्ति चमत्कार प्रकटको लागि कृतज्ञता एवं आकर्षणको नियम अभ्यास गर्ने क्रममा आफूमा पूर्ण विश्वास भाव जगाउन नै सक्दैनौं । जसले गर्दा अपेक्षित उपलब्धि हासिल हुन गाह्रो पर्छ ।

आकर्षणको नियमले ३ स्टेपमा काम गर्दछ ।

क. माग्नुहोस्

ख. विश्वस्त हुनुहोस्

ग. पाउनुहोस्

अर्थात् हामी जुन कुरा प्राप्तिको लागि कृतज्ञता अभ्यास गर्दछौं, त्यो कुरा हामीसँग अहिले नै उपलब्ध रहेको ठानेर साँच्ची विश्वस्त हुन सक्छौं र त्यो भावलाई आफूमा निरन्तर कायम राख्छौं भने त्यो उपलब्धिको रुपमा हामीलाई प्राप्त हुन्छ ।
तथापि यदि हामी अलिकति पनि त्यो कुरा प्राप्ति हुनेमा आफूभित्र आशङ्का बाँकी राख्छौं भने हामीमा त्यो घटना, परिस्थिति घटित नहुन सक्छ । किनकि अवचेतन मष्तिष्कले हाम्रो भावनात्मक अवस्थाको कारण प्रतिक्रिया जनाउँदछ । अवचेतन मष्तिष्कले अहिले हामी जस्तो महसुस गर्दछौं, त्यस्तो महसुस हामीसँग साँच्ची त्यो चिज उपलब्ध रहेर गरेका छौं वा काल्पनिक रुपमा भनेर फरक छुट्याउन सक्दैन ।

हाम्रो गञ्तव्य हाम्रो भावनाले तय गर्दछ

हामी अहिले आर्थिक स्थिति, स्वास्थ्य, सम्बन्ध लगायतमा कुन अवस्थामा छौं भन्ने कुरा भन्दा पनि हामी कस्तो भावनात्मक अवस्थामा छौं भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । यसैको आधारमा हाम्रो बाँकी जीवन निर्देशित हुने गर्दछ । हामी आफू अहिले साधारण स्थितिमा रहेर पनि साँच्ची सफल बन्ने अधिकारी भएको महसुस गर्न सक्यौं भने हामी अवश्य पनि सफल हुन सक्छौं । विश्व अर्थतन्त्र मन्दीमा जाओस् वा समृद्धिमा, त्यसले नभई हाम्रो अवस्था कस्तो हुने भन्ने कुरामा धेरै हद सम्म आफ्नै भावनात्मक स्थिति जिम्मेवार हुन्छ ।

यो विचार गरौं कि जब हामी कुनै ठाउँमा लगानी गर्ने क्रममा मनमनै शङ्का व्यक्त गर्दछौं भने त्यस्तो अवस्थामा गरेको लगानीले हामीलाई उपलब्धि भन्दा पनि नोक्सान गराउने सम्भावना प्रवल हुन्छ । मनमा अधिक आशङ्का वा डर भावना सहित गरेको यात्राले सुखद परिणाम दिनुको सट्टा हामीमा आरोहअवरोह ल्याउने सम्भावना उच्च रहन्छ ।

विचारणीय पक्ष

हामी साधारण अवस्थाको परिवारमा जन्मिएका हुन सक्छौं । हामी विभिन्न घटना, परिस्थितिहरुले च्यापिएका हुन सक्छौं । हाम्रा अधिकांश कामहरु बिग्रेको लामो अनुभवबाट हामी यहाँसम्म आएका हुन सक्छौं । स्वास्थ्य अवस्था कमजोर हुन सक्छ । सम्बन्ध बिग्रिएको हुन सक्छ । हामी करोडौं कर्जामा हुन सक्छौं । जस्तो अवस्था भएपनि कृतज्ञता अभ्यास गरेर आजबाट हामी बिस्तारै–बिस्तारै त्यस अवस्थालाई आफैंले जित्दै जानेछौं । हामी पुनः खुसी, प्रेम, आनन्द, समृद्ध र स्वस्थ जीवनको हकदार बन्नेछौं ।

आजको अभ्यास

– आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं । र खुसी व्यक्त गरौं ।

– सबैभन्दा पहिले आफूले प्राप्ति गर्न चाहेका १० ओटा चाहनाहरु डायरीमा टिपोट गरौं ।

– ती चाहनाहरुलाई बढी महत्वपूर्ण देखि कम महत्वपूर्णको क्रम मिलाउँ ।

– पहिलो चाहनालाई एकपटक पुनः पढौं । त्यसलाई पटक–पटक राम्रोसँग पढौं ।

– आँखा बन्द गरेर त्यो चाहना हाम्रो जीवनमा अहिले नै प्राप्त भएको महसुस गरौं । पञ्च इन्द्रियहरुले त्यसमा शब्द, गन्ध, स्वाद, स्पर्ध र दृष्यको अलावा भावनात्मक रुपमा समेत आफू त्यस अवस्थामा रहेको स्पष्टसँग कल्पना गर्ने प्रयाश गरौं । वा आज भन्दा पहिलेको त्यस सँग मिल्दोजुल्दो कुनै घटना एवं स्थिति याद गरेर त्यसलाई स्पष्टसँग आफू अहिले पनि त्यहीँ र त्यही अवस्थामा रहेको ठानौं ।

–जब हामी वास्तविक रुपमा त्यस स्थितिमा हुन्छौं, त्यतिबेला महसुस हुने अवस्थालाई कत्ति पनि शङ्का नराखी कम्तीमा एउटा चाहनालाई १ मिनटको लागि अहिले नै महसुस वा कल्पना गरौं ।

– प्रत्येक चाहनामा यो अभ्यासलाई दोहोर्याउँ ।

–ती चाहनाहरुको सूची आफ्नो खल्तिमा दिनभर सँगै बोकेर फुर्सद हुनासाथ पढौं र आफूलाई दिनभर कृतज्ञ अवस्थामा राख्ने प्रयत्न गरौं ।

– ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु कम्तीमा १० ओटालाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।

हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij