
तिनै व्यक्तिहरु जीवनमा सफल हुन्छन्, जसले आफ्ना हरेक पीडालाई सिकाईमा बदल्न सक्छन् । पीडा हामीले जानअन्जानमा गरेको गल्तिको कारण हामीलाई प्राप्त हुन्छ । गल्ति नगरी केही सिकिँदैन । हामी प्रत्येक गल्तबाट केही सिकेर त्यसलाई नदोहोर्याउने प्रण गर्छौं भने हाम्रा प्रत्येक गल्ति हाम्रो लागि आशिर्वाद बन्न सक्छन् ।
जब हामीबाट गल्ति हुन्छ, त्यस गल्तिले हामीलाई केही पीडा अवश्य महसुस गराउँछ । अन्जानमा गरेको गल्तिको तुलनामा सचेत रुपमा गरेको गल्तिले हामीलाई बढी र लामो समय पीडाबोध गराइरहन्छ ।
गल्ति नै गरेनौं भने अघी बढ्दै सकिँदैन
हाम्रो मानवीय स्वभाव हुन्छ कि हामी सकेसम्म नयाँ कुरा सिक्न चाहँदैनौं, आफू जुन धार वा टे«ण्डमा हिँडिरहेका छौं, त्यो धार परिवर्तन गर्नु हाम्रो लागि केही कठिन अवश्य हुन्छ ।
साथै नयाँ काम गर्दा गल्ति हुने सम्भावना बढी हुन्छ । हामी अधिकांश मानिस आफूबाट वा अरु कसैबाट सके सम्म गल्ति नै नहोस् भन्ने चाहन्छौं । कसैबाट गल्ति हुने डरले नै आफू अनविज्ञ रहेको क्षेत्रमा हामी आफू वा अरु कसैलाई संलग्न हुनबाट हामी वञ्चित गर्छौं ।
बाल्यकालमा हुने गल्ति
हरेक व्यक्तिले वयस्क उमेरको तुलनामा बाल्यकालमा बढी गल्ति गरेका हुन्छौं । बाल्यकालमा हामी हरेकको स्वभाव चञ्चल र रचनात्मक हुन्छ । हामी बाल्यकालमा आफ्ना अभिभावक वा नजिकका व्यक्तिले गरिरहेका हरेक कामहरुमा आफूलाई समेत सक्रिय बनाउनमा रुचि राख्छौं, उमेर बढ्दै जाँदा हाम्रो यस्तो स्वभाव घट्दै जान्छ । काम गर्ने रुचि नै कम हुँदा वयस्क उमेरमा हामीबाट हुने गल्ति समेत घट्नु स्वभाविक हुन जान्छ ।
हाम्रो समाजले गल्ति नै गर्न हुँदैन भन्ने सिकाउँदै आएको छ । हाम्रा परिवार र समाजका पात्रहरुबाट हामीले यस्तै सिकेका हुन्छौं । गल्ति नै नगरी केही पनि सिक्न सकिँदैन भन्ने कुरा हामीलाई सिकाइएको हुँदैन ।
हाम्रो व्यवस्था नै त्यस्तै छ कि हामीले जब कुनै नयाँ कर्मचारी भर्ना गर्न चाहन्छौं, शुरुमा नै उसको अनुभव खोज्ने काम गर्छौं । घरमा छोराछोरीबाट काम गर्ने क्रममा गल्ति हुने डरले हामीले उनीहरुलाई त्यस्ता कामबाट नै अलग बनाइराख्छौं । निश्चित उमेर पुगेपछि भने त्यत्ति साधारण काम पनि नसिकेको÷नजानेको भनेर रोष प्रकट गर्छाैं । सडकमा सवारी साधन चलाउनुपूर्व अनुमतिपत्र अनिवार्य गरिन्छ, जबकि बिना अनुभव अनुमतिपत्र कसरी प्राप्त गर्न सकियोस् । आखिर के अनुभव हामी आफूलाइ कुनै काममा संलग्न नै नगराई उमेर बढेर मात्रै हामीमा विकास हुने तत्व हो त ? उत्तर सहज छ, होइन, हुँदैन । यसको लागि हामी काममा संलग्न हुनैपर्छ । केही न केही गल्ति गर्नैपर्छ । ती हरेक गल्तिलाई सहजै स्वीकार्नुपर्छ ।
गल्ति गरिरहनु र गल्तिबाट सिक्नुमा हुने अन्तर
हामीले गल्ति नै नगर्ने उद्धेश्य लियौं भने यो निश्चित छ कि हामी अगाडि बढ्नै सक्दैनौं । कुनै गल्ति गर्न आफूलाई तयार नबनाउनुको मतलब हाम्रो वृत्तिविकासमा नै अवरोध ल्याउनु हो । यदि हामी कुनै काम सिक्न चाहन्छौं भने आफूबाट हुन सक्ने गल्तिलाई सहज रुपमा स्वीकार्न सक्नुपर्छ । साथै थप सफल हुनको लागि सम्भव रहे सम्म एक पटक आफूबाट भएको गल्ति अर्कोपटक नदोहोर्याउने प्रण÷संकल्प लिन सक्नुपर्छ ।
आफूबाट विगतमा जुन गल्ति भएको छ, त्यस गल्तिबाट केही सिक्न सक्यौं भने हामी सफलताको यात्रामा अघी बढिरहन सक्छौं ।
गल्ति सानो होस् वा ठूलो त्यसले फरक पार्दैन, बरु हरेक गल्तिबाट सिक्नको लागि यी प्रश्नको गम्भीरतापूर्वक उत्तर खोज्ने प्रयत्न निकै महत्वपूर्ण हुन्छ ।
क. मैले…………….गल्तिबाट के सिकेँ ?
ख. ………..गल्ति भित्र लुकेको राम्रो कुरा (सानो वा ठूलो) के हुन सक्छ ?
यो पनि बुझौं
हामी मानव हौं । मानव भएकै कारण हामीलाई मन लागेको कुनै पनि कार्य क्षेत्र छनौट गर्नको लागि हामी स्वतन्त्र छौं । हामीलाई सोच्ने, योजना बनाउने, कल्पना गर्न सक्ने लगायतका विशिष्ट क्षमता प्राप्त भएका छन् । यिनै क्षमतालाई प्रयोग गरेर जब हामी नयाँ काम गर्न शुरु गर्छौं, कहीँ न कहीँ गल्ति कमजोरी अवश्य हुन्छ । यसको मतलब हामी नयाँ गल्ति गर्दै र त्यसबाट सिक्दै माथिल्लो उचाईको यात्रामा अघी बढ्नको लागि पनि त स्वतन्त्र छौं भन्ने अर्थमा समेत बुझ्नुपर्छ । पुरष्कार जसरी गल्ति पनि हामी मानिसलाई मिल्ने सुन्दर उपहारहरु हुन् । यिनै गल्ति नामक उपहारकै कारण हामी के गर्न हुने र के गर्न नहुने भन्नेमा अनुभवजन्य ज्ञान हासिल गर्न र सचेत रुपमा अघी बढ्न सक्छौं ।
हुनतः हरेक गल्ति हाम्रो लागि घातक हुन्छन् । आफूबाट गल्ति भएको कहिलेकाहीँ हामीलाई तत्काल थाहा हुन सक्छ, कहिलेकाहीँ लामो समय पछि पनि थाहा हुन सक्छ । कहिलेकाहीँ हामी आफूले गल्ति अनुभव नै नगर्न पनि सक्छौं, जे होस् हामीले गल्तिको परिणाम अवश्य भोग्नुपर्छ । गल्तिबाट सामना गर्नुपर्ने पीडा गल्ति गरेपछि मात्रै अनुभव हुन्छ । गल्ति होला कि भनेर हात बाँधेर बस्ने व्यक्तिले सम्भावित अवसरहरुबाट लाभ लिन सक्दैन । साथै बारम्बार एउटै गल्ति दोहोर्याइरहँदा हामी नयाँ गञ्तव्यमा पुग्न सक्दैनौं । यसकारण गल्ति होला कि भनेर चुपचाप रहनु, बारम्बार एउटै गल्ति दोहोर्याइरहनु एवं सम्भावित वस्तुस्थिति यकिन नगरी जोखिमपूर्ण यात्रामा हाम फाल्नु सबै अति घातक हुन्छन् । हामी ती सबै अतिबाट बच्दै संयमित रुपमा अघी बढ्न सक्नुपर्छ ।
यसकारण हामीले आफूबाट भएका गल्तिकमजोरी गणना गर्नमा नभई आफूबाट भइरहेका साधारण वा विशेष, सबै राम्रा उपलब्धिहरुको गणनामा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।
गल्ति यसरी पनि हुन सक्छ
कतिपय अवस्थामा हामी आफूबाट भएका गल्तिको दोष अन्य व्यक्ति वा परिस्थितिलाई लगाइरहेका हुन सक्छौं । आफ्नो रिस आफूसँगै रहेको अर्को व्यक्तिलाई प्रहार गरिरहेका हुन सक्छौं । आफू सफल नहुनुमा आफूसँग रहने परिवारका सदस्य, आफन्त, वर्गसमुदाय, नीतिगत व्यवस्था, समय, परिस्थिति लगायतलाई दोष दिइरहेका हुन्छौं । यसरी अन्य व्यक्ति वा परिस्थितिलाई दोष नदिई त्यस काममा आफूबाट कहाँनेर कमजोरी भयो भन्ने कुरा यकिन गर्नमा केन्द्रित भयौं भने मात्र हामी भविष्यमा सृजना हुन सक्ने सम्भावित त्यस्ता गल्तिहरुबाट बच्न सक्छौं ।
एउटा प्रयोग
जब हामीबाट कुनै गल्ति कमजोरी भएका हुन्छन्, ती प्रत्येक कमजोरीबाट हामीले केही न केही अवश्य सिकेका हुन्छौं । हामीले गरेको गल्ति सानो ठूलो जस्तो भएपनि त्यसबाट मिलेको पीडामा नभई प्रत्येक गल्तिबाट मैले के सिक्ने अवसर पाएँ, भन्ने तर्फ आफ्नो ध्यान केन्द्रित गर्न शुरु गरौं । गल्तिबाट मिल्ने नोक्सानीको आकार निकै ठूलो र त्यसले हामीलाई प्रदान गर्ने पुरष्कार (भविष्यको पाठ) निकै न्यून हुन सक्छ, तैपनि हामी ति साधारण सकारात्मक पुरष्कार तर्फ नै आफ्नो ध्यान केन्द्रित गरौं ।
यो पनि स्मरण गरौं कि आफूलाई पीडाबोध गराइरहेको कुनै घटनामा नै हामी आफूलाई भविष्यमा कुन गञ्तव्यमा पुर्याउँछ भन्ने कुरा निर्धारित गर्ने तागत हुन्छ । यसकारण हाम्रा कमजोरी नै हाम्रा भविष्यका मार्गदर्शन हुन् । त्यसैले पीडा भित्र लुकेका सूक्ष्म भन्दा सूक्ष्म सकारात्मक कुराहरु गणना गर्न शुरु गरौं । त्यस गल्तिबाट आफूले सिकेका वा बोध गर्न सकेका बुँदाहरुमा ध्यान केन्द्रित गरेर डायरीमा टिपोट गरौं । एउटै नकारात्मक घटनामा दर्जनौं सकारात्मक सन्देशहरु लुकेको महसुस गरेर हामी आफैंलाई अचम्म लाग्नेछ ।
एउटा उदाहरण,
जब बाटोमा हिँड्दा हामी ट्राफिक प्रहरीलाई देख्छौं, वा कुनै ट्राफिक नियम पालना नगरेको कारण यदि हामीलाई डर लाग्छ भने त्यस डर भित्र लुकेका स–साना सन्देशहरु यसरी खोजी गर्ने प्रयत्न गर्न सक्छौं ।
सकारात्मक सन्देशहरु
क. आगामी दिनमा यात्रा गर्दा म आफू पूर्ण सचेत बनाउनेछु ।
ख. आज म …..ट्राफिक नियम पालन नगरेर पनि ठूलो दुर्घटनाबाट बचेको छु । आज उप्रान्त मबाट यस्तो गल्ति हुनेछैन ।
ग. मैले सडकमा यात्रा गर्ने कार्य सुखद मात्र नभई जोखिमपूर्ण समेत हुन्छ भन्ने महसुस गरेर सचेत रुपमा यात्रा गर्नेछु ।
घ. मेरो लथालिङ्ग चलाईका कारण अर्को व्यक्तिलाई लाग्न सक्ने चोट प्रति सचेत बनेँ ।
ङ. मेरो साधनको स्थिति चुस्तदुरुस्त रहेनरहेकोमा मैले सोच्न र हेर्न अवसर पाएँ ।
च. मैले राज्यका नीतिनियमहरु समेत बुझ्न र याद गर्नुपर्ने कुरा महसुस गरेको छु ।
छ. मेरो सुरक्षाको लागि ट्राफिक प्रहरीले पुर्याएको योगदान प्रति म हृदय देखि नै कृतज्ञ छु ।
ज. म एक जिम्मेवार नागरिक रहेको र मैले निर्वाह गर्ने भूमिका सबै क्षेत्रमा प्रभावकारी हुने कुरा स्मरण गराउने प्रहरीहरुको मेहनत र अनुशासनले सामाजिक सुव्यवस्था कायम भएकोमा मैले गर्व गर्नुपर्छ ।
झ. हामीलाई निरन्तर सचेत गराउने र जरिवाना मार्फत राज्यलाई राजस्व संकलनमा योगदान पुर्याउने ट्राफिक प्रहरीको भूमिका निकै महत्वपूर्ण छ ।
ञ. जब म प्रहरी गणलाई देख्छु, तब सुरक्षा हाम्रो लागि एक महत्वपूर्ण मौलिक अधिकार भएको र हामी निर्धक्क सडकमा हिँड्न सकेकोमा अत्यन्तै खुसी महसुस गर्छु ।
ट. जसरी प्रहरीहरुले निःस्वार्थ सेवा दिइरहेका छन्, त्यसरी नै म आफू पनि म आबद्ध …………..क्षेत्रमा निःस्वार्थ सेवा गर्नमा प्रतिबद्ध रहन्छु ।
यसरी जब हामी निरन्तर एउटा गल्तिमा पनि खुसी र आशिर्वादका अनन्त कारणहरु खोजी गर्न, गणना गर्न र हृदय देखि नै अनुभुति गर्न शुरु गर्छौं, तब केही हप्ता, महिना र बर्षमा नै हाम्रो जीवन अलग्गै गञ्तव्यको माथिल्लो उचाईमा अघी बढेको देखेर हामी आफैं रोमाञ्चित हुनेछौं ।
आजको अभ्यास
– आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं । ती सबै बुँदाहरुमा आफू ती चिजको लागि कृतज्ञ रहने कारण खोजेर खुसी साथ धन्यवाद भाव व्यक्त गरौं । त्यो सूचीमा आज कृतज्ञता प्रकट गर्न थप १० चिजहरु समावेश गरौं ।
– हामीले जीवन जिउने क्रममा गरेको एउटा गल्ति लिउँ ।
– त्यस गल्ति भित्र लुकेका कम्तीमा १० ओटा सकारात्मक सन्देशहरु गणना गरौं ।
– हरेक गल्तिमा यी प्रश्नको उत्तर खोज्ने प्रयत्न गरौं ।
क. मैले ………….गल्तिबाट के सिकेँ ?
ख. त्यस गल्ति भित्र रहेका राम्रा पक्षहरु के–के थिए ?
– ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु कम्तीमा १० ओटालाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij