काठमाडौं– अन्ततः प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएका छन् । पराजुलीले बिहीबार दिउँसो शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो राजीनामा बुझाएका हुन् । पराजुलीको राजीनामा बुझ्दै राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा पुर्याएको योगदानप्रति धन्यवाद दिएकी थिइन् । 
यसअघि आजै बिहान प्रधानन्यायाधीश पराजुलीले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।
बालुवाटारमा भएको उक्त छलफलमा प्रधानमन्त्री ओली र नेता प्रचण्डले पराजुलीलाई राजीनामा दिएर निकास दिन आग्रह गरेका थिए ।
न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बुधबार प्रधानन्याायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्रचार गरेपछि बिहीबारबाट सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपक जोशीले कायम मुकायमको जिम्मेवारी सम्हालेका थिए ।
यद्यपी पराजुलीले बिहीबार विहानसम्म आफुू पदमुक्त नभएको भन्दै आफू कार्यालय गएर काम गर्ने बताएका थिए । तर, बिहीबार कायम मुकायम प्रधानन्यायाधीश जोशीले सर्वोच्च अदालतको पेशी सुची समेत तोकेपछि पराजुलीले आफ्नो कार्यक्षेत्र र अधिकारमा हस्तक्षेप र हाइज्याक भएको प्रतिकृया दिएका थिए ।
यसैबीच राजीनामा दिएपछि पराजुलीले आफुलाई चारैतिरबाट आक्रमण भएको प्रतिकृया दिएका छन् । उनले भने – म सहजै निकास दिने पक्षमा थिए, मैले राम्रो काम गर्दागर्दै पनि ममाथि चारैतिरबाट आक्रमण भयो ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij