
काठमाडौं । नेकपा एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् ।
एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने सात दलको १ सय ६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।
प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।
संविधानको उपधारा (४) बमोजिम प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मतका लागि न्युनतम १३८ सांसद आवश्यक पर्नेमा प्रधानमन्त्री प्रचण्डलाई १६९ सांसदको समर्थन रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij