
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विद्युत प्राधिकरणलाइ इन्टरनेट सेवा बिना वार्ता विद्युतीय लाइन काटिँदा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने तर्फ सङ्केत गर्दै सेवा प्रभावित हुने गरी कदम नचाल्न आग्रह गरेको छ ।
विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाइन काटिदिँदा देशका धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको र बैंकिङ, हवाइ सेवा लगायत अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको भन्दै उसले अत्यावश्यक सेवा अवरुद्ध गर्नु दण्डनीय भएको स्मरण गराएको छ ।
प्राधिकरणले दूरसञ्चार ऐन २०५३ स्मरण गराउँदै इन्टरनेट सेवा अवरुद्ध गरेमा दण्डनीय हुने बताएको हो ।
‘यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण गम्भीर दुख व्यक्त गर्दछ । राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारहरुको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौं’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्राधिकरणले हरेक समस्याको समाधान वार्ताबाट हुन सक्ने भन्दै सबै पक्ष बसी आपसी छलफलबाट समाधान गर्न आग्रह गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij