२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कृत्रिम बौद्धिकता र हाम्रो भविष्य

कृत्रिम बौद्धिकता र हाम्रो भविष्य

  • बुधबार, माघ २८ २०८२
  • कमल पन्थी

अहिलेको युगलाई सूचना, प्रविधि र कृत्रिम बौद्धिकताको युग मानिन्छ । प्रविधिको विकासले हाम्रो जीवनलाई निकै सहज बनाउँदै लगेको छ । तथापि प्रविधिको विकास अत्यन्तै उच्च गतिमा भइरहेको छ । यसरी प्रविधिको विकास भइरहँदा हाम्रा गतिविधिहरु स्वचालित रुपमा सञ्चालन हुने स्थिति सृजना भएको छ । स्वचालित रुपमा प्रविधि विकास भइरहँदा अब मानिसको मष्तिष्कले सोच्ने, योजना र रणनीति बनाउने, कल्पना गर्ने लगायतका कामहरु समेत प्रविधि आफैंले गर्ने अवस्था सृजना त हुन पुगेको छ । यसले आगामी दिनमा केही चुनौती समेत थप्ने स्थिति देखिन्छ ।

मानिसको मष्तिष्कलाई टक्कर दिने गरी प्रविधि आफैंले काम गर्ने गरी विकास भएको प्रविधिलाई नै कृत्रिम बौद्धिकता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स भनेर चिनिन्छ । मानिसले आफ्नो सीमित बौद्धिक मष्तिष्कबाट गर्न सम्भव नरहेका कामहरु प्रविधि आफैंले समाधान गरिदिने स्थितिले हामीलाई निकै सहज र सुविधाजनक बनाउँदै लगेको छ । हुनतः नेपाल जस्तो देशमा कृत्रिम बौद्धिकताले अझै व्यापकता पाइसकेको छैन । तथापि विश्वबजारमा अहिले यसको लागि थुप्रै नयाँ–नयाँ उपकरण, प्रविधि, एप्लिकेसन र सफ्टवेयरहरु निर्माण भइसकेका छन् । जसले हाम्रो समयमात्र घटाएउको छैन, बौद्धिक क्षमतामा समेत मानिसले भन्दा बढी क्षमता उपयोग गरेर हाम्रो उत्पादकत्व वृद्धिमा सहयोग पुर्याएको छ ।

कृत्रिम बौद्धिकताले के–के गर्न सक्छ ?

कृत्रिम बौद्धिकताले हाम्रो सामान्य मष्तिष्कले कल्पना सम्म गर्न नसक्ने अनगिन्ती कामहरु गर्न सफल बन्दै गइरहेको स्थिति छ । हाम्रो वरिपरि रहेका डेटाहरुको विशाल भण्डारलाई सावधानीपूर्वक विश्लेषण गर्दै अघी बढ्न यसले अवश्य सहयोग गरेको छ । यसमा प्रयोग हुने एल्गोरिदमहरूले मौसमको ढाँचादेखि आर्थिक प्रवृतिहरू, लुकेका ढाँचाहरू पहिचान गर्न र भविष्यका सम्भावनाहरू अनौठो एवं सटीकताका साथ भविष्यवाणी गर्न सफल भइरहेको स्थिति छ । यसकारण अहिले कृत्रिम मष्तिष्क हाम्रो लागि निकै चासोको विषय बन्दै गएको छ । च्याटजिपिटी, गुगल बार्ड, भर्चुअल असिस्ट्यान्ट लगायतका टुल्सहरुको प्रयोगले हाम्रो जीवनलाई अत्यन्तै सहज बनाइदिएको छ । कन्टेन्ट राइटिङ, कोर्ष विकास, पुस्तक लेखन, संगीत सृजना, भिडियो सामाग्री निर्माण, वेभसाइट निर्माण, प्रस्तावना लेखन, ग्राफिक्स डिजाइन, इन्जिनियरिङ डिजाइनिङ, तालिम लगायतको क्षेत्रमा क्रान्ति ल्याउने आधार सृजना गरिसकेको कृत्रिम बौद्धिकताले भविष्यमा कतै मानिसको आवश्यकता नै नपर्ने गरी सबै काम आफैंले स्वचालित रुपमा निर्माण गर्ने पो हो कि भन्ने स्थिति पनि आँकलन गर्न सकिन्छ ।

कृत्रिम बौद्धिकताको पहुँच बढ्दै जाँदा यसले केही समस्या एवं जोखिमहरुको चुनौती सृजना गर्न सक्छ । मानिसले अत्यन्तै साधारण कामको लागि समेत प्रविधिको प्रयोगमा निर्भर रहने स्थिति सृजना हुन सक्छ । यसले मानिसको रचनात्मक क्षमतालाई घटाउने स्थिति बन्न सक्छ । साथै प्रविधिको प्रयोगबाट उत्पादकत्व बढाउनको लागि न्यून जनशक्ति भए पुग्ने स्थिति सृजना हुने हुँदा व्यापक मात्रामा रोजगारी कटौती हुन सक्ने स्थिति समेत सृजना हुन सक्छ ।

मानिसको सन्तुलित जीवनशैलिको लागि प्रविधिको प्रयोग अवश्य गर्नुपर्छ । प्रविधि उपयोग गर्ने क्रममा यसलाई कुन हद सम्म कसरी प्रयोग गर्ने भन्ने कुरामा भने अत्यन्तै सचेत रहेर नियन्त्रित तवरले उपयोग गर्नुपर्छ । किनकि प्रविधि मानिसको लागि वरदान बन्नुपर्छ, अभिशाप बन्नुहुँदैन । यदि हामीले यसलाई सही तवरले उपयोग गर्न सकेनौं भने डाटा सुरक्षा, गोपनीयता र विनाशको कारण समेत बन्न सक्छ । यी सबै कुराहरुलाई विचार गर्दै आवश्यक नीतिगत व्यवस्था सहित प्रविधिको उच्चस्तरीय प्रयोगलाई हामीले जोड दिनैपर्छ । मेसिन लर्निङको नामले समेत परिचित कृत्रिम बौद्धिकतालाई हामी कसरी प्रयोग गर्छौं भन्ने आधारमा हाम्रो भविष्य सुनिश्चित बन्ने भएको हुनाले हामी यस सम्बन्धमा अवश्य सचेत बन्नुपर्छ । किनकि जुन कुराको पहिचान र अन्वेषण मानिसको हितलाई लक्षित गरेर गरिएको हुन्छ, त्यही प्रविधि हाम्रो विनाशको कारण बन्नुहुँदैन ।

नेपालमा अहिले सम्म यस किसिमको कृत्रिम बौद्धिकता (एआई)को प्रयोग व्यापक बन्न नसकेको समयमा यसको प्रयोगको माध्यमबाट हाम्रो उत्पादकत्व क्षमता विकास गर्न सकिने थुप्रै सम्भावनाहरु छन् । यसको लागि विभिन्न सरोकारवाला निकायहरुले सम्बन्धित व्यक्तिहरुलाई साक्षर बनाउनको लागि तालिम तथा प्रशिक्षणहरु सञ्चालन गर्नु जरुरी छ । नेपालमा एआईको प्रयोगबाट शिक्षा, स्वास्थ्य, सञ्चार, सेवा, अन्तराष्ट्रिय व्यापार, लघु उद्यम, उद्यमशिलता प्रवर्द्धन, अनलाइनमा आधारित ई–कमर्स व्यवसाय लगायतलाई राम्रो तवरले बिस्तार गरेर हाम्रो अवस्थालाई छोटो समयमा माथि उठाउन सक्ने आधारको रुपमा यसलाई उपयोगमा ल्याउन सकिन्छ । यो जरुरी पनि छ । जसबाट हाम्रो विकासको गति तीव्र बन्न सकोस् ।

र यो पनि

हाम्रो अगाडिको बाटो अनिश्चित हुन सक्छ, तर बौद्धिक मष्तिष्कलाई त्यस अवस्थामा हाम्रो गाईडको रूपमा प्रयोगमा ल्याउन सक्छौं । हामी चुनौतीहरूलाई मापन गर्न यसको प्रयोग गर्न सक्छौ, जसबाट हामी सुनिश्चित् भविष्यको नयाँ रुपरेखा प्राप्त गर्न सक्नेछौं । यस प्रविधिको शक्तिलाई जिम्मेवारीपूर्वक र नैतिक रूपमा प्रयोग गरेर हामी सबैका लागि थप दिगो, समतामूलक र समृद्ध संसार सिर्जना गर्न सक्छौं र सक्नुपर्छ । हामी आशा र सुनौलो भविष्यको कल्पना सहित अघी बढ्यौं भने अवश्य पनि एउटा नयाँ उचाईमा पुग्न सक्नेछौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij