जीवनका कठिन क्षणहरू कहिलेकाहीँ व्यक्तिको वास्तविक क्षमताको परीक्षा लिनका लागि पनि अगाडि देखा पर्दा रहेछन् । नारायण रेग्मीका लागि पनि यो सत्य सावित भयो । जब उनले काभ्रेको ग्रामीण परिवेशबाट एसएलसी सम्मको पढाइ सकेर राजधानी काठमाडौं छिरे, उनका हातमा पैसा थिएन, के गर्ने स्पष्टता थिएन । गञ्तव्य थिएन, चिनेका मानिसहरु कोही थिएनन् तर आँखा भरिएका थिए सपना र साहसले । उनी भन्छन्, ‘त्यो समयमा मेरो सबभन्दा ठूलो पुँजी आत्मविश्वास थियो ।’
बाल्यकाल र काठमाडौं सम्मको यात्रा
काभ्रेपलाञ्चोकको तत्कालिन शिवालय गाविस–७ (हालको पोखरचौंरी नगरपालिका)मा कमजोर आर्थिक स्थिति भएको परिवारमा जन्मेका नारायण रेग्मी अहिले नेपालका सफल निर्माण सामाग्री उद्योगीका रूपमा परिचित पात्र हुन् । उनी हाल निर्माण संसार प्रा.लि.का प्रबन्ध निर्देशक हुन्, जसले देशमै युपिभिसी र अन्य निर्माणजन्य सामाग्री उत्पादन र वितरण गर्दै आएका छन् ।
आफ्नै गाउँको स्थानीय सरस्वती निम्न माध्यमिक विद्यालयमा ६ कक्षा सम्म अध्ययन गरेपछि उनी थप अध्ययनको लागि पाँचखालस्थित सर्वमंगला माध्यमिक विद्यालयमा भर्ना भई अध्ययन कार्य अघि बढाए । वि.सं २०४९ सालमा एसएलसी उत्तीर्ण गरेपछि आर्थिक कारणले उनले तत्काल उच्च शिक्षा तर्फ पाइला अघि बढाउन सकेनन् । तथापि पारिवारिक दायित्व र आत्मनिर्भर बन्ने चाहनाले उनलाई काठमाडौँतर्फ डोर्यायो ।
काठमाडौं प्रवेश गरेका शुरुवाती दिनमा उनले अत्यन्तै सामान्य काम गरेर जीविकोपार्जन गर्थे । त्यही सामान्य कामले नै उनलाई उद्योग र श्रमप्रति गहिरो सम्मान गर्न सिकायो । उनी भन्छन्, ‘काम सानो ठूलो हुँदैन रहेछ, सोच र लक्ष्य ठूलो हुनुपर्दो रहेछ ।’

निर्माण क्षेत्रमा पहिलो पाइला
रेग्मीको निर्माण क्षेत्रमा औपचारिक प्रवेश २०५२ साल फागुन २७ गतेबाट भएको हो । त्यतिबेला उनले निर्माण सामाग्री अन्तरगत पर्ने रंगरोगनको काम शुरु गरेका थिए । त्यस दिनबाट शुरु भएको निर्माण क्षेत्र अन्तरगतको यात्रा अहिले सम्म अविच्छिन्न अघि बढिरहेको छ । यस बीचमा रेग्मीका भूमिका बदलिए, कामका तौरतरिका बदलिए तर उनी रोकिएनन्, अविचलित रुपमा उनी अघि बढिरहे । ज्यालादारी मजदूरबाट शुरुवात भएको यात्रा मिस्त्री, लेबर कन्ट्रयाक्टर हुँदै उद्योगपति सम्म बिस्तार हुन सक्यो । योसँगै रेग्मीको पहिचान बदलियो । यसबीचमा थुप्रै बाधाचुनौतीहरु नआएका होइनन्, ती सबैलाई सहँदै, पचाउँदै र त्यसबाट कुनै ज्ञान अनुभव हासिल गर्दै अघि बढ्ने क्रममा आफ्नो अहिलेको स्थिति निर्माण भएको बताउँछन् उनी । आफू जुन भूमिकामा रहेपनि नारायणले आफूलाई कहिल्यै कमजोर ठानेनन् । कठिन मेहनत गर्नबाट पनि पछि हटेनन् ।
पहिलोपटक आफ्नो व्यवसायबारे थप जानकारी प्राप्त गर्न चाहने अन्य उद्योगी व्यवसायीहरुले थुप्रै पटक सोध्ने गरेका हुन्छन्, ‘यस कम्पनीको मुख्य साहुजी को हो ?’, ‘यत्रो ठूलो कम्पनीको मालिक त पक्कै पनि मारवाडी समुदायको व्यक्ति हुनुपर्छ’, ‘यो कम्पनी यस अवस्थामा आईपुग्नुमा कति पुस्ताको योगदान रहे होला ?’ लगायत ।
ती प्रश्नको जवाफ दिँदै नारायण भन्छन्, यस कम्पनीको मुख्य मालिक म आफैं हुँ । कुनै पनि मारवाडी समुदायको व्यक्ति हामीसँग आबद्ध हुनुहुन्न । कम्पनी हामी आफैंले सञ्चालनमा ल्याएका हौं । हामीले पार्टनरशिप अवधारणामा काम गरेर सबै व्यक्तिलाई जिम्मेवार बनाएर व्यवसाय गरेको कारण हामी यस अवस्थामा आउन सकेका हौं ।
जीवनशैली
सबै गरेर १ दर्जन भन्दा बढी कम्पनीका मालिक बनिसकेका नारायण अहिले पनि उस्तै साधारण जीवन जिउन मन पराउँछन् । बोलिचाली नरम हुन्छ त कम्पनीका हरेक कारोबार आफैंले निरीक्षण गर्छन् । कम्पनीसँग ग्राहक सम्बन्ध कायम राख्न उनकै भूमिका महत्वपूर्ण छ । बेलाबखत सामान्य लाग्ने काम पनि घरमा उनी आफैंले गरिरहेका समेत भेटिन्छन् । आफ्नो सफलताको एउटा आधार श्रमलाई हेय दृष्टिले नहेर्नु पनि रहेको बताउँछन् उनी ।
व्यावसायिक सुरुवात र उकालो यात्रा
कामलाई सानो ठूलो भन्नुहुँदैन, त्यसबाट केही न केही सिक्न सक्नुपर्छ भन्ने मान्यता राखेकै कारण मजदूरको रुपमा काम शुरु गरेका नारायणले छिट्टै निर्माण सामाग्रीको बजारलाई बुझ्न सके । नेपाली निर्माण सामाग्री बजारमा गुणस्तरीय सामाग्रीको अभाव रहेको र ठूलो बजार सम्भावना भएको यथार्थ पहिचान गर्न सके । केही बर्ष त्यसरी नै काम गरेर हासिल गरेको अनुभवका आधारमा पछि उनी आफैंले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरे । यही निर्णय नै उनको जीवनको Turning Point बन्यो ।
२०५८ सालतिर उनले निर्माण सामाग्री आपूर्तिसँग सम्बन्धित पहिलो कम्पनी स्थापना गरे । सो व्यवसायबाट प्राप्त अनुभवले उनलाई बजार, प्रतिष्पर्धा र ग्राहक आवश्यकता बारे अझ गहिरो ज्ञान दिलायो । ‘हामी अत्यन्तै सानो स्केलबाट अघी बढेका हौं । शुरुवाती दिनमा प्रयाप्त लगानी गर्न सक्ने क्षमता हामीमा थिएन । न त बजारबाट विश्वास प्राप्त गर्न नै सकेका थियौं । बैंकबाट कर्जा लिन सक्ने स्थिति पनि थिएन । त्यस्तो स्थितिमा हामीले जसोतसो केबल ५० हजार लगानी जुटाएर कम्पनी शुरुवात गरेका हौं । उक्त रकम कार्यालय सेटअपको लागि नै प्रयोगमा आयो । ५–७ बर्ष देखि बजारको जिनजान र जनसम्पर्कले गर्दा काम ल्याउन सहज हुने स्थिति भयो बन्दै गयो ।
मेहनत नै सफलताको मुख्य आधार
नारायण आफ्नो सफलताको मुख्य आधार मेहनत नै भएको स्वीकार्छन् । निकै कडा मेहनतबाट खारिएर आएका रहेछन् नारायण । ‘निरन्तरको मेहनतले मानिसलाई नयाँ उचाईमा उठाउन सक्दोरहेछ’ भन्ने उनको धारणा छ । दैनिक लगातार १५ दिन सम्म २ घण्टा मात्र सुतेर २२ घण्टा काम गरेको विगत नै अहिलेको सफलताको आधारशिला हो भन्ने नारायणको धारणा छ । धेरै बर्ष दैनिक केवल ५ घण्टा मात्र सुतेर बिहान ४ बजे देखि राती ११ बजे सम्म काममा खटिईरहे उनी । अहिले पनि न्यूनतम औसतमा १२ घण्टा उनी कर्म क्षेत्रमै होमिने गर्दछन् ।
केही रोचक प्रशङ्ग
निर्माण संसारको प्रगति रहरलाग्दो छ । पहिलोपटक आफ्नो व्यवसायबारे थप जानकारी प्राप्त गर्न चाहने अन्य उद्योगी व्यवसायीहरुले थुप्रै पटक सोध्ने गरेका हुन्छन्, ‘यस कम्पनीको मुख्य साहुजी को हो ?’, ‘यत्रो ठूलो कम्पनीको मालिक त पक्कै पनि मारवाडी समुदायको व्यक्ति हुनुपर्छ’, ‘यो कम्पनी यस अवस्थामा आईपुग्नुमा कति पुस्ताको योगदान रहे होला ?’ लगायत ।
ती प्रश्नको जवाफ दिँदै नारायण भन्छन्, यस कम्पनीको मुख्य मालिक म आफैं हुँ । कुनै पनि मारवाडी समुदायको व्यक्ति हामीसँग आबद्ध हुनुहुन्न । कम्पनी हामी आफैंले सञ्चालनमा ल्याएका हौं । हामीले पार्टनरशिप अवधारणामा काम गरेर सबै व्यक्तिलाई जिम्मेवार बनाएर व्यवसाय गरेको कारण हामी यस अवस्थामा आउन सकेका हौं । त्यो जवाफमा फेरि प्रतिप्रश्न आउँछ, ‘के नेपालीहरुले पनि पार्टनरशिपमा व्यवसाय गर्न सक्छन् र ? कति समय चलिरहला त तपाईंहरुको पार्टनरशिप ?’

नारायण भन्छन्, यस किसिमका प्रश्न सुन्दा आफैं झस्कनुपर्ने हुन्छ । किनकि ‘अहिले सम्म नेपालीहरु सामुहिक लगानी अवधारणा (पार्टनरशिप मोडल)मा काम गर्दैनन्, पार्टनरशिप छिट्टै टुट्छ, बलियो हुँदैन’ भन्ने मानसिकता विकास भएको छ ।
नारायण आफ्नो सफलताको मुख्य आधार मेहनत नै भएको स्वीकार्छन् । निकै कडा मेहनतबाट खारिएर आएका रहेछन् नारायण । ‘निरन्तरको मेहनतले मानिसलाई नयाँ उचाईमा उठाउन सक्दोरहेछ’ भन्ने उनको धारणा छ । दैनिक लगातार १५ दिन सम्म २ घण्टा मात्र सुतेर २२ घण्टा काम गरेको विगत नै अहिलेको सफलताको आधारशिला हो भन्ने नारायणको धारणा छ । धेरै बर्ष दैनिक केवल ५ घण्टा मात्र सुतेर बिहान ४ बजे देखि राती ११ बजे सम्म काममा खटिईरहे उनी । अहिले पनि न्यूनतम औसतमा १२ घण्टा उनी कर्म क्षेत्रमै होमिने गर्दछन् ।
निर्माण सामाग्रीको क्षेत्रमा नारायण नेतृत्वको कम्पनीले जुन सफलता हासिल गरेको छ र जुन पहिचान बनाउन सकेको छ, त्यो यत्तिकै प्राप्त भएको भने होइन । स्मरण रहोस्, शून्यबाट सङ्घर्ष गर्दै माथि उठेका नारायण आफूले २२ घण्टा सम्म खटिएर काम गरेको परिणाम हो यो । नियमित रुपमा लगातार १० बर्ष सम्म दैनिक १०० किलोमिटर मोटरसाइकल औसतमा यात्रा गरेर मार्केटिङ गरेको कारण यो पहिचान बनेको हो ।
पहिलो कम्पनी
नारायणले चलाएको ‘डेकोरेटिभ्स बिल्डिङ मेटेरियल्स’ पहिलो कम्पनी हो । यो कम्पनी २ जना व्यक्तिको पार्टनरशिपमा शुरुवात भएको हो । जुन पार्टनरशिप ४ बर्ष चल्यो ।
असफलता र नमिठा अनुभवहरु
नारायण सधैं सफल मात्र भएका पनि होइनन् । उनी केही साथीहरुसँग मिलेर बिल्डिङ मेटेरियल्सको क्षेत्रमा काम गर्ने उद्धेश्यले ‘क्षमादेवी’ नामक कम्पनी सञ्चालनमा ल्याए । तथापि उक्त कम्पनी सोचेअनुसार चल्न नसक्दा पार्टनर छुट्टिनुपर्ने स्थिति पनि आयो । २०६७ मा खोलिएको यस कम्पनीले चीनबाट नेपालमा सामानहरु आयात गर्दथ्यो । पछि भारतबाट पनि सामानहरु भित्र्याउन थालियो । त्यसै समयमा अर्को कम्पनी फल्स सिलिङ हाउस पनि सञ्चालनमा ल्याइयो । जसको व्यवस्थापन नवराज चौलागाईंले हेर्न थाले ।
निर्माण संसारको शुरुवात
क्षमादेवी बिल्डिङ मेटेरियल्सबाट अलग भएपछि नारायण आफैंले निर्माण संसार प्रा.लि. सञ्चालनमा ल्याए, वि.सं २०७० मा । यस कम्पनीमा नयाँ पार्टनरहरु भित्राए । पार्टनर थिए, सोयुज थापा । यो कम्पनी रेग्मीको दशकौंको अनुभव र लगनको नतिजा थियो । यस कम्पनीको मूल उद्देश्य थियो — ‘नेपालमै उत्पादन समेत गरेर नेपालको आवश्यकता पूरा गर्न पहल गर्ने ।’ नारायण विदेशी वस्तुमा निर्भरता घटाउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् । त्यसको लागि देशमै उत्पादन कार्यलाई संस्कृतिकै रुपमा विकास गर्नुपर्छ भन्ने उनको धारणा छ ।
ग्रुप अफ स्मार्ट निर्माण
निर्माण संसार अहिले ‘ग्रुप अफ स्मार्ट निर्माण’ अन्तर्गतको प्रमुख कम्पनी हो । यो समूहमा अहिले ९ वटा कम्पनीहरू सञ्चालनमा छन्, जसले आपसमा सहकार्य गर्दै निर्माण सामग्रीको सम्पूर्ण श्रृंखला उपलब्ध गराउँछन् —प्रिफ्याब प्यानल, फल्स सिलिङ, युपिभिसी रुफिङदेखि इन्टेरियर च्यानल उत्पादनसम्म । जसमा स्मार्ट सिलिङ इण्डष्ट्रिजले जिआई च्यानलहरु उत्पादन गर्छ । यस ग्रुपले चीनियाँ कम्पनीसँग मिलेर युपिभिसी रुफिङको उत्पादन शुरु गरेको छ । नेपालमा भारतबाट भित्रिने प्रिफ्याब प्यानललाई प्रतिस्थापन गर्नुपर्छ भन्ने यसको मान्यता हो । कन्स्ट्रक्सन, इन्टेरियर लगायतका कामहरु गर्नका लागि अलग–अलग युनिटहरु खडा गरिएको छ । अलग–अलग कम्पनी खोलिएका छन् । ती सबै व्यवसाय पार्टनरशिप मोडलमा नै सञ्चालित छन् ।

एक पछि अर्को उत्पादन थप्दै गयौंः रेग्मी
नारायणले व्यावसायिक यात्रा रङ (जापानीज टेक्स्चर) बेच्ने कामबाट शुरु गरेका हुन्ं । ‘हामी जुन घरमा रङ लगाउँथ्यौं त्यही घरमा सोलार पनि आवश्यक पर्ने महसुस भएपछि हामीले हाम्रो व्यवसायमा सोलार थप्यौं । पछि पाक्र्वेट थप्यौं । फल्स सिलिङ थप्यौं । एकपटक एउटा युनिट बनिसकेपछि अर्को चिजलाई त्यसमा आबद्ध गर्दै लैजान सहज हुँदो रहेछ । यसरी हाम्रो पोर्टफोलियोमा थुप्रै चिजवस्तुहरु एकपछि अर्को गर्दै थपिँदै गएका हुन्’ नारायणले बताए ।
कम्पनी सफलताको दोस्रो आधारः पारिवारिक व्यवसाय र स्पष्ट जिम्मेवारी
नारायण मातहतका अधिकांश कम्पनीका पार्टनरहरु आफ्नै आफन्तहरु छन् । ज्वाई, भान्जा, साला, जेठान लगायत । कम्पनीले राम्रो तवरले कार्य विभाजन गर्न सकेको छ । जसले हरेक व्यक्तिलाई जिम्मेवारीबोध गराउने गर्दछ ।
आगामी योजना र सपना
‘नयाँ पुस्तालाई भविष्य प्रति आशावादी बनाउनका लागि आफैंले गरेर देखाउने यात्रामा हामी समर्पित र प्रतिबद्ध छौं । हामी चाहन्छौं कि ‘गरे यहीँ पनि हुँदोरहेछ’ भन्ने सन्देश नयाँ पुस्तालाई दिनुछ । नेपालीहरुले पनि सामुहिक अवधारणामा काम गरेर ठूला परियोजना सम्पन्न गर्न सकिँदोरहेछ भन्ने प्रमाणि गर्नुछ’ नारायणले भने ।
निर्माण संसार अहिले ‘ग्रुप अफ स्मार्ट निर्माण’ अन्तर्गतको प्रमुख कम्पनी हो । यो समूहमा अहिले ९ वटा कम्पनीहरू सञ्चालनमा छन्, जसले आपसमा सहकार्य गर्दै निर्माण सामग्रीको सम्पूर्ण श्रृंखला उपलब्ध गराउँछन् —प्रिफ्याब प्यानल, फल्स सिलिङ, युपिभिसी रुफिङदेखि इन्टेरियर च्यानल उत्पादनसम्म । जसमा स्मार्ट सिलिङ इण्डष्ट्रिजले जिआई च्यानलहरु उत्पादन गर्छ । यस ग्रुपले चीनियाँ कम्पनीसँग मिलेर युपिभिसी रुफिङको उत्पादन शुरु गरेको छ ।
यु–टर्न र उतारचढावमा सम्हालिने नारायण सूत्र
नारायण हरेक उतारचढावबाट केही सिक्नुपर्ने र त्यस घटनालाई बिर्सनुपर्ने मान्यतालाई आफ्नो जीवनमा लागू गरेका छन् । उनी सफलतातर्फ अघि बढिरहँदा आफू भन्दा माथिकालाई हेर्ने र कमजोर अवस्थामा हुँदा सन्तुष्टि लिन आफू भन्दा मुनिका व्यक्तिहरुलाई हेरेर आफूलाई सन्तुलनमा राख्नुपर्छ भन्ने मान्यताबाट प्रेरित छन् ।

उद्यमशिल शिक्षा र सोच विकासको आवश्यकता
‘नेपालमा राज्यले नागरिकलाई उद्योगी बन्ने शिक्षा नै दिएन । राज्यले नागरिकहरुलाई केवल व्यापारी बन्नका लागि शिक्षित गरायो । नेपालमा सम्भावना बोकेका मेगा परियोजनाहरुमा लगानी भित्र्याउने र यहीँ उद्यमशिल वातावरण बनाउने भन्ने कुरा भाषणमा सीमित पारेर हामीले समृद्धिको सपना पूरा गर्न सक्दैनौं । नागरिक र उद्यमीबाट हुन सक्ने कमजोरीलाई ट्रयाकमा ल्याउनका लागि पनि राज्यले सही सिष्टम निर्माण गर्नु जरुरी हुन आउँछ । साथै राज्यले नागरिकहरुलाई हाम्रो आवश्यकताका आधारमा शिक्षा प्रदान गर्नुपर्छ’ रेग्मीको शिक्षा र बजार जोड्ने सम्बन्धमा व्यक्त भएको धारणा हो यो ।
मैले जे सिकेँ
– हामी जे काम गरिरहेका छौं, त्यससँगै मिल्दोजुल्दो अर्को काम के पनि हुन सक्छ भन्ने बारे खोज अध्ययन चिन्तन गर्ने हो भने हामी आफैंले नयाँ अवसर देख्न सक्दा रहेछौं ।
– व्यवसायीले मानिसहरुलाई कुन चिज आवश्यक छ, त्यो चिज पहिचान गरेर त्यसैमा काम गर्नुपर्दोरहेछ ।
– ग्राहकको विश्वास बढ्दै जाँदा एउटै च्यानल र बजार सञ्जालबाट कारोबारलाई फराकिलो बनाउन सहज हुँदो रहेछ ।
– इमान्दारिता र जोखिम व्यवस्थापन क्षमता बिना उद्यममा सफल हुन सकिँदैन । आफू जुन क्षेत्रमा संलग्न हुने हो, त्यस क्षेत्रको बजार सम्भावना बारे व्यवसायी आफैंले बजार अनुसन्धान गर्नु जरुरी हुन्छ ।
– व्यवसाय जहिले पनि जोखिममा हुन्छ, नेपाल जस्तो देशमा व्यवसाय अझ बढी जोखिममा हुन्छ ।
– हरेक व्यक्तिले आफ्नो कर्मलाई इमान्दारितापूर्वक सम्पन्न गर्नुपर्छ, त्यसो गर्ने हो भने राष्ट्रको लागि त्यो भन्दा ठूलो योगदान अरु केही हुन सक्दैन ।
– हामीलाई सफल बन्नको लागि विशेष कारण वा बाध्यताले पनि महत्वपूर्ण भूमिका खेल्दो रहेछ ।

राज्यसँग अपेक्षा
‘कोही कसैको सोर्सफोर्स बिना काम गर्न सक्ने वातावरण नेपालमा कहिले बन्ला ? हामी यही वातावरण बनोस् भन्ने चाहन्छौं । यसो भयो भने हामी नेपालमा अझ ठूला काम गर्न सक्षम हुँदै जानेछौं’ राज्यले सुरक्षा र सुव्यवस्था कायम गर्न प्रयाप्त भूमिका खेल्नुपर्ने नारायणको धारणा छ ।
निष्कर्ष र हाम्रो भनाई
कुनै पनि क्षेत्रमा सफल हुनका लागि साधना महत्वपूर्ण हुँदो रहेछ । शुरुवात त्यही बिन्दुबाट गर्नुपर्दोरहेछ, जहाँ अहिले हामी छौं । अर्थात् हामीसँग जे उपलब्ध छ, त्यसैबाट शुरुवात गर्नु महत्वपूर्ण हुँदोरहेछ । हामी पूर्ण बनेर काम शुरु गर्न चाह्यौं भने आफू भित्र पूर्णता कहिल्यै पनि ल्याउन सकिँदैन । आफूसँग भएको सीप, क्षमता, धन, बल, जनसम्पर्कलाई नै पुँजी ठानेर काममा लाग्ने, लागिरहने हो भने ढिलोछिटो सफलता पाउन सकिँदोरहेछ । पटक–पटक कार्य क्षेत्र बदल्ने हो भने हामी सफलताको शिखरमा पुग्न मुस्किल पनि हुन सक्छ । रेग्मीको सङ्घर्ष कथा र सफलताले यही प्रष्ट पार्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij