२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

“अबको काङ्ग्रेस कस्तो” भन्ने सम्बन्धमा नेपाली काङ्ग्रेसका युवा नेता ई. उमेश थानीका सुझाव र योजनाहरु…

“अबको काङ्ग्रेस कस्तो” भन्ने सम्बन्धमा नेपाली काङ्ग्रेसका युवा नेता ई. उमेश थानीका सुझाव र योजनाहरु…

ई. उमेश थानी, युवा नेता, नेपाली काङ्ग्रेस

नेपाली काङ्ग्रेसका युवा नेता ई. उमेश थानीले लोकतान्त्रिक बौद्धिक समूहले डिजिटल प्लेटफर्म मार्फत आयोजना गरेको एउटा छलफलमा बोल्दै नेपाली काङ्ग्रेस गौरवशाली इतिहास बोकेको मुख्य राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएको पार्टी हुँदाहुँदै पनि अहिले भने कमजोर बन्न पुगेको निष्कर्ष निकाल्दै पार्टी कमजोर बन्नुका कारणहरु समेत औंल्याउनुभएको छ ।

नेपाली काङ्ग्रेसका अग्र पंक्तिका नेताहरु संलग्न रहेको उक्त छलफलमा उहाँले पार्टीका कमजोरी मात्र औंल्याउनुभएको छैन, अहिलेका समस्या र अब पार्टीले लिनुपर्ने आगामी मागचित्र समेत प्रस्तुत गर्नुभएको छ ।

विभिन्न राजनीतिक संघर्ष सामना गर्दै अहिले सम्म आइपुगेको यस पार्टीले इतिहासका जटिल मोडहरुमा आफूलाई दरिलो बनाउँदै बर्तमान अवस्था सम्म आइपुगेकाे सर्वविदितै छ । अबका दिनमा पनि शशक्त र नेतृत्वदायी भूमिका कायम राख्न विशेष रणनीति सहित पार्टीका गतिविधिहरु अघी बढ्नुपर्नेमा उहाँले जाेड दिनुभएकाे छ ।

गत चिर्वाचनमा जनमत आफ्नो पक्षमा आउन नसक्नुका कारणहरु पहिचान गर्दै पुनः अबको २ बर्ष पछि हुने ३ तहको निर्वाचनमा पार्टीलाई शशक्त बनाउन अहिले देखि नै पार्टी आन्तरिक तयारीमा जुट्नुपर्नेमा उहाँले नेपाली काङ्ग्रेस नेतृत्वलाई निरन्तर झक्झक्याइरहनु भएको छ ।

सांगठनिक सदृढीकरणबाट मात्र त्यो सफल हुने बताउँदै उहाँले अहिलेको सन्त्रासमय विश्व परिवेशलाई रचनात्मक क्रियाकलाप मार्फत नेपाली काङ्ग्रेसले नयाँ अवसरको रुपमा सदुपयोग गर्नुपर्ने र यसको लागि पार्टीले तत्काल नै निश्चित कार्यविधि जारी गरी सोहीबमोजिम ठोस कदम चाल्नुपर्ने उहाँको धारणा छ ।

भारतमा इन्टिग्रेटेड सिष्टमबाट सबै नागरिकहरुको तथ्यांक संकलन गरिएको छ । भारत राज्यबाट प्रवाह हुने सेवामा कसैलाई पनि मर्का नपर्ने गरी समानुपातिक प्रणाली लागु गरिएको छ । नेपालमा पनि सोही बमोजिम काम गर्न सकिन्छ । भारतमा आधार कार्ड सफल भएजसरी नेपालमा पनि सोही बमोजिम सिष्टम विकास गर्नसके सेवाप्रवाह प्रभावकारी बन्न सक्छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सजग रहँदै पार्टीका आन्तरिक कार्यक्रमहरु सञ्चालन गर्नु नै अहिलेको लागि बुद्धिमत्तापूर्ण कदम हुने भन्दै नेता थानीले दिगो सोच, उपलब्ध स्रोतसाधन एवं आधुनिक नवविकसित प्रविधिको अधिकतम प्रयोग र युवा परिचालन तर्फ पार्टी नेतृत्वको समयमा नै ध्यान जानुपर्नेमा समेत पार्टी नेतृत्वलाई उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

अब सरकारले के गर्छ र त्यसको प्रतिक्रिया दिउँला भनेर पर्खेर नबसी आफैं रचनात्मक क्रियाकलापमा सहभागि भई जिम्मेवार प्रतिपक्ष एवं जनउत्तरदायी पार्टीको रुपमा भूमिका बढाउँदै लैजानुपर्ने समेत बताउनुभयो ।

नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वमहासचिव समेत रहनुभएका थानी सशक्त नेतृत्वदायी व्यक्तिको रुपमा पहिचान बनाइसक्नुभएका व्यक्ति समेत हुनुहुन्छ । उहाँले नेपाली काङ्ग्रेसलाई पुनर्ताजगी दिन नेपाल विद्याथी संघ, तरुण दल जस्ता मुख्य भातृ संगठनहरु एवं अन्य पेशागत संगठनहरुलाई सशक्त रुपमा चलायमान बनाउनुपर्नेमा समेत जोड दिनुभएको छ । यदाकदा मूल पार्टीमै केही विवादहरु रहेपनि ती विवादहरु आपसी छलफलबाट समाधान गर्न सकिने विषयहरु भएकोले तत्काल यसबारे सोच्नुपर्ने बताउनुभएको छ ।

पार्टीलाई जीवन्त बनाउन सबै तह र तप्काका व्यक्तिहरुले आफ्नो हैसियत अनुसारको जिम्मेवारी वहन गर्नुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले छाया सरकार समेत बनाईसकेको अवस्थामा त्यसलाई प्रभावकारी बनाउन सम्बन्धित कार्यको जिम्मेवारीमा रहेका पदाधिकारीहरुले सम्बन्धित निकायहरुसँग छलफल तथा आवश्यक अन्य गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा समेत ऊहाँले जोड दिनुभएको छ ।
यस्ता छन् नेता थानीले नेपाली काङ्ग्रेसलाई अझ सशक्त बनाउनको लागि प्रस्तुत गर्नुभएका सुझाव र योजनाहरुः

  • १. कर्मचारी संयन्त्र स्थायी संयन्त्र हो । स्थायी संयन्त्रसँग निकटतम सम्बन्ध कायम गरौं । आवश्यकता अनुसार समन्वय गरौं ।
  • २. पार्टीमा कार्यकर्ताको सही पहिचान गरौं । उनीहरुको योगदानको कदर गर्दै सोहीबमोजिमको भूमिका प्रदान गरौं ।
  • ३. कुन स्थानीय तह अन्तरगत कति नेपाली जनता नेपाली काङ्ग्रेससँग आस्थावान् हुनुहुन्छ, कति तटस्थ हुनुहुन्छ, खास मतदाता कति मतदाता हुनुहुन्छ ? उहाँहरु सबैको अहिलेको अवस्थामा यस पार्टी प्रतिको धारणा कस्तो छ ? पार्टी प्रतिको अपेक्षा के छ ? भन्ने सम्बन्धमा आवश्यक सर्वेक्षण गरौं । साथै सोही बमोजिम आगामी रणनीति तय गरौं ।
  • ४. आवश्यक तथ्यांकहरुरु संकलन गरौं । यस कार्यमा नवविकसित प्रविधिलाई आत्मसात गरौं । जसले तथ्यांक संकलनमा सहजता एवं नयाँ नीति तथा कार्यक्रम तय गर्न र दीर्घकालिन अभिलेख राख्न समेत सहज हुनेछ ।
  • ५. कोरोना महामारी बीच सुरक्षित हुुँदै जिम्मेवार र रचनात्मक बन्न प्रयाश गरौं ।
  • ६.सबै जिम्मेवार बनौं । मूल पार्टीलाई बलियो बनाउन सशक्त भातृ संगठनहरुलाई समेत चलायमान बनाउँ ।
  • ७. अन्य दलका राम्रा कामलाई स्वागत गर्दै अन्तर दल समन्वयमा पनि विशेष पहल गरौं ।
  • ८. पार्टीले विगतमा हासिल गरेका राजनीतिक उपलब्धिहरुलाई स्मरण गर्दै जनजीविकासँग प्रत्यक्ष जोडिएका अहिलेका समस्याहरु समाधान तर्फ युवा परिचालनमा जोड दिउँ । जसबाट जनमत र जनविश्वास समेत बलियो हुन सक्नेछ । साथै अब मुलुकलाई समृद्धिको यात्रामा छलाङ मार्न पार्टीले चाल्नुपर्ने कदमहरु बारे छलफल गरी उपयुक्त निष्कर्ष सहित सामुहिक प्रतिबद्धता गरौं ।
  • ९. पद, प्राप्ति र प्रतिष्ठामा मात्र नभई त्याग र सामुहिक हितलाई राजनीतिको मूल आदर्श बनाउँ । यसको लागि विगतका नेतृत्वदायी व्यक्तिहरुबाट सिकौं । पार्टी अनुशासनको पालना गरौं ।
    (उदाहरणः तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले जङ्गलमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लाई मूलधारको राजनीतिमा ल्याउन र चुनावी प्रक्रियामा सहभागि गराउन निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । माओवादीले जित्दैछ भन्ने कुराको जानकारी हुँदाहुँदै पनि शान्तिप्रक्रियामा आइसकेको माओवादीलाई पुनः जङ्गल फर्कन दिनुहुँदैन भन्ने कुरामा सतर्क रहँदै चुनाव गराउन यो पार्टी सफल भएको थियो ।)
  • १०. राजनीतिमा कुनै घटनाक्रमले पार्न सक्ने दीर्घकालिन प्रभाव बारे गहिराईबाट सोचेर सही विष्लेषण गरौं ।

(विगतमा कम्युनिष्ट पार्टीले जित्यो भने रुन पनि पाईंदैन भन्ने प्रसङ्ग उठाउँदै त्यति बेला उक्त प्रशङ्गको खिल्ली उडाइएपनि अहिलेको अवस्था त्यसै किसिमको हुँदै गएको र आगामी दिनहरु अझ भयावह हुन सक्ने ठम्याइ थानीको छ । अहिले कोरोना महामारी बीच विभिन्न विवादास्पद निर्णयहरु सरकारबाट भएका साथै सरकारले स्वेच्छाचारी रुपमा विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको र यसले मुलुकको अवस्था आगामी दिनमा अझ कमजोर बनाउन सक्ने धारणा राख्नुहुन्छ थानी ।)

  • ११. योजनाबद्ध कार्यक्रम र प्रशिक्षणहरु सञ्चालन गराैं

नेपाली काङ्ग्रेसले योजनावद्ध रुपमा कार्यक्रम अघी बढाउनुपर्ने र पार्टीमा आवश्यकता बमोजिमका प्रशिक्षणहरु सञ्चालन गर्नु जरुरी छ । हरेक तह र तप्ताका व्यक्तिहरुलाई प्रशिक्षण गर्दै काङ्ग्रेस कस्तो दल हो र यसको धरातलीय आधार के हो ? यसले आत्मसात् गरेका सिद्धान्तहरु के हुन् भन्ने सम्बन्धमा सबैलाई जागरुक बनाउन जरुरी छ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद आदर्शको रुपमा रहँदै आएका भएपनि धर्मनिरपेक्षता, संघीयता, मिश्रित निर्वाचन प्रणाली, समावेसिता, गणतन्त्र लगायतलाई समेत अहिले यस पार्टीले अङ्गिकार गरेको छ । पार्टीमा आस्थावान् सबै व्यक्तिहरुलाई यी व्यवस्थाहरुबारे प्रशिक्षित गर्नसके पार्टी थप मजबुत र सशक्त बन्न सक्छ ।

  • १२. गुटको होइन, नेतृत्व पंक्ति सबैको अभिभावक बन्न सकोस्ः
    पार्टीमा निर्वाचित हुने समयमा जसरी जुन समूहबाट प्रतिनिधित्व गरेपनि निर्वाचनबाट जितेर पदीय जिम्मेवारी पाइसकेपछि भने विगतका गुटउपगुटहरु सबै बिर्सेर सबैको अभिभावकीय भूमिका निर्वाह नेतृत्व सक्षम हुनु जरुरी रहन्छ ।

जसरी हिन्दू पौराणिक ग्रन्थ महाभारतमा युद्धको क्रममा धृतराष्ट्रले राजाको भूमिका अनुरुप तटस्थ नीति अबलम्बन गरेर कौरव र पाण्डव दुवैकाे लागि समान अभिभावकीय भूमिका निर्वाह गरेकाे भए युद्दकाे दुष्परिणाम कसैले भाेग्नुपर्ने थिएन । अहिलेको सन्दर्भमा पनि नेतृत्वदायी भूमिकामा रहने व्यक्तिले यस प्रस‌ङ्गलाइ ख्याल गर्दै साेहीअनुरुप आफूमातहतका सबै पक्षलाइ समान रुपले हेर्न सक्नुपर्छ । यसाे हुनसकेमात्र नेतृत्व कुशल र सफल ठहरिन सक्छ ।

  • १३. सबै क्षमतावान् व्यक्तिलाई समान अवसर दिउँः

नेपाली काङ्ग्रेस लगायत सबै राजनीतिक दलहरुको ऐक्यवद्धता रहेको समावेशिता र मिश्रित निर्वाचन प्रणाली एउटा पार्टीबाट नियमित रुपमा एउटै व्यक्तिलाई जिताउनको लागि ल्याइएको व्यवस्था होइन । बरु सबै क्षमतावान् व्यक्तिलाई नेतृत्व प्रदान गर्न सकिने उपयुक्त प्लेटफर्म बन्न सकोस् भन्ने यसको उद्देश्य हो । तर यस सिद्धान्तको विपरीत हुनेगरी नेपाली काङ्ग्रेसमा समेत नियमित रुपमा एउटै व्यक्तिलाई नेतृत्व दिइरहने प्रचलन विकास भएको छ । यसबाट पार्टीमा क्रियाशिल अन्य क्षमतावान् व्यक्तिलाई अन्याय हुन सक्छ । पार्टीमा योग्य र सक्षम व्यक्तिलाई विचार नमिलेकै कारण पाखा लगाउने कार्य कदापि उचित हुन सक्दैन ।

  • १४. विरोधको पनि सामना र सम्मान गरौं, आफ्ना गल्ति महसुस गरौं र सच्च्याउँः

संगठनमा छलफल र मतभेद हुनुलाई सामान्य रुपमा नै लिनुपर्ने हुन्छ । जुन अभिव्यक्ति स्वतन्त्रता सँग समेत जोडिएको छ । साथै ताप र चापबाट मात्र मूल्यहीन कोइला बहुमूल्य हीरामा परिवर्तन हुन सक्छ भन्ने कुरा नेतृत्व पंक्तिले पनि हेक्का राख्नु जरुरी हुन्छ । तर अहिलेका नेताहरुमा भने विरोध सहन क्षमता क्षीण हुँदै गएको छ । यसले नेतृत्वलाई सही दिशानिर्देशमा व्यवधान र भ्रम सृजना गर्न सक्छ ।

(उदाहरणः तत्कालिन समयमा नेपाली कांग्रेसकै नेता विपी कोइराला भारत भ्रमणमा निस्कनुपूर्व तत्कालिन कम्युनिष्ट नेता केशरजंग रायमाझीलाई बोलाएर आफ्ना कमजोरीहरु विरोधको माध्यमबाट पहिल्याइदिन आग्रह गर्नुभएको थियो । उक्त कार्यको लागि रायमाझीलाई केही बक्सिसको व्यवस्था समेत गरिएको थियो । जसबाट आफ्ना कमजोरीलाई सच्याउन र भारतीय पक्षसँग कडा रुपममा प्रस्तुत हुन उहाँलाई थप उर्जा मिलेको थियो ।)

  • १५. नेतृत्व वर्ग जनतासँग नम्र बनौंः

पार्टीको उच्च पदमा पुगेका व्यक्तिहरुले जनतासँग प्रस्तुत हुँदा नम्रता र भद्र व्यवहार प्रदर्शन गरी उनीहरुलाई सान्त्वना दिन र सम्भव हुने कार्यमा अग्रसरता लिने वचनवद्धता प्रकट गर्नु जरुरी रहन्छ । तर अहिलेका केही नेतृत्वदायी व्यक्तिहरुमा त्यस किसिमको स्वभाव देखिँदैन । यसमा नेतृत्व वर्ग सच्चिनु जरुरी रहन्छ ।

  • १६. अन्तरपार्टी समन्वय कायम गराैं

विगतमा अन्य विभिन्न पार्टीहरुसँग सहकार्य गर्दै आफ्ना गतिविधिहरु अघी बढाउँदा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न सफल भयो । सोही तथ्यलाई दृष्टिगत गर्दै वर्तमान नेतृत्व वर्ग पनि दिगो दृष्टि सहित पार्टी र मुलुकको हितलाई सर्वोपरी ठान्दै यस्ता सहकार्यमा जुट्नु जरुरी रहन सक्ने देखिएको छ । सहअस्तित्वको सिद्धान्तलाई अनुशरण गर्नु समयको आवश्यकता पनि हुन सक्छ ।

  • १७. अबको महाधिवेसन बारे तत्काल छलफल गराैं

पार्टीको विधानमा व्यवस्था भएअनुसार पार्टीको अहिलेका अहिलेका पदाधिकारीहरुको ४ बर्षको कार्यकाल सकिइसकेको छ । पार्टीको विधानले थप १ बर्ष र नेपालको संविधानमा व्यवस्था भएबमोजिम थप ६ महिना कार्यकाल बढाउन सकिने व्यवस्था छ । यसरी हुन आउने बढीमा साढे ५ बर्ष अवधि रहन सक्ने यस नेतृत्वले २०७८ को भदौ मसान्त सम्म कसरी वैधानिक महाधिवेशसन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा तत्कालै वहस सहित नयाँ कार्यक्रम सञ्चालन गर्नु जरुरी छ । यसको लागि अहिले देखि नै तयारी गर्नुपर्ने आवश्यकता समेत छ ।

कोरोनाको विश्वव्यापी समस्याको कारण पार्टीमा समेत समस्या रहेपनि यसको लागि अन्य विभिन्न वैकल्पिक संयन्त्रहरु समेत परिचालन गरेर भएपनि अब तत्काल सक्रियतापूर्वक गृहकार्य थाल्नु जरुरी छ ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना तत्काल नियन्त्रणमा नआउने भनिसकेको अवस्थामा कोरोना भाइरसकै बीच पनि सुरक्षित तवरले यस्ता गतिविधिहरु सञ्चालन गर्न सकिन्छ । सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स (सिडेन) लगायतका संगठनका पूर्वनिर्धारित निर्वाचन कार्यक्रम रोकिएको प्रति विचार गर्दै यस सम्बन्धमा उपयुक्त व्यवस्था गर्नु जरुरी छ ।

  • १८. स्वास्थ्य सुरक्षा निर्देशिका जारी गरी सोहीबमोजिम पार्टीका आन्तरिक कार्यक्रमहरुलाई निरन्तरता दिउँः

पार्टीले आवधिक चुनाव सहित रोकिएका कामहरुलाई पुनः सही तवरले गतिशिल बनाउनको लागि स्वास्थ्य सुरक्षा निर्देशिका तयार गरी सोही बमोजिम कामहरुलाई गतिशिल बनाउनु जरुरी छ ।

  • १९. क्षेत्रगत आवश्यकता बमोजिम चुनावी घोषणापत्र तयार गरौंः

नेपाल भौगोलिक एवं पर्यावरणीय रुपमा फरक किसिमको भू–बनोट एवं हावापानी भएको देश हो । सोहीबमोजिम स्थानीय जनताका आवश्यकताहरु समेत एकै किसिमका छैनन् । जहाँ जस्तो किसिमका समस्या छन्, सोही बमोजिम ती समस्याहरु पहिचान गरी तिनलाई पार्टीका घोषणापत्रमा समेट्नु जरुरी छ । सम्बन्धित क्षेत्रको आवश्यकता र जनभावनालाई कदर गर्दै विकास कार्यक्रम सार्वजनिक गरेमात्र मुलुकको समृद्धिको लागि आधाररेखा तयार हुन सक्छ । यस व्यवस्थाबाट जनताले पनि दिगो लाभ पाउन सक्छन् । सङ्गठन पनि बलियो हुन सकोस् । जुन अहिलेको टड्कारो आवश्यकता समेत बनेको छ ।

  • २०. नेपाल सरकारले एकद्वार प्रणालीबाट प्रभावकारी रुपमा सेवा वितरण गर्नु आवश्यकः

नेपालमा सरकारले प्रवाह गर्ने सेवासुविधा प्रभावकारी बन्न नसकेको भर्खरै वितरण गरिएको कोरोना लक्षित राहत कार्यक्रमले पनि देखाएको छ । अर्थात पहुँचवाला व्यक्तिहरुले सहजै धेरै ठाउँबाट यस्तो राहत सुविधा लिएपनि पहुँच कमजोर भएका व्यक्तिहरु भने यस्ता सरकारी सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था छ ।

नेपाली नागरिकहरुको स्थायी एवं अस्थायी बसोबास सहितका सही तथ्याङ्क राज्यले संकलन नगरेको कारण यस्तो समस्या आएको हो । अबका दिनमा आवश्यक तथ्याङ्क सहित उनीहरुको डाटावेस तयार गरी कुनै अनलाइन सफ्टवेयर विकास गरेर त्यसमा समावेश गरिएमा मात्र हामीले सही तवरले लक्षित वर्गलाई राज्यका सेवासुविधा वितरण गर्न सहज हुन सक्छ ।

२१. भारतबाट सिक्न सकिन्छः
भारतमा इन्टिग्रेटेड सिष्टमबाट सबै नागरिकहरुको तथ्यांक संकलन गरिएको छ । भारत राज्यबाट प्रवाह हुने सेवामा कसैलाई पनि मर्का नपर्ने गरी समानुपातिक प्रणाली लागु गरिएको छ । नेपालमा पनि सोही बमोजिम काम गर्न सकिन्छ । भारतमा आधार कार्ड सफल भएजसरी नेपालमा पनि सोही बमोजिम सिष्टम विकास गर्नसके सेवाप्रवाह प्रभावकारी बन्न सक्छ ।

नेपालमा एउटै व्यक्तिले बैंक, स्कुल, अस्पताल, सरकारी कार्यालय लगायत सबै ठाउँमा एउटै कार्ड प्रयोग गर्न सकिने अवधारणा सहित राष्ट्रिय परिचय पत्र व्यवस्था गर्ने चर्चा नचलेको होइन । यसको लागि प्रक्रिया अघी बढाइएको समेत निकै लामो समय भइसक्यो । तर अझै पनि यो सेवा सफल बन्न सकेको छैन । अब छिट्टै यसलाई मूर्त रुप दिन जरुरी रहेको अहिलेकै अवस्थाले पनि देखाएको छ ।

  • २२. जनताको विश्वास जित्न सक्नुपर्छः

सरकार नेतृत्वको जिम्मेवारीमा रहेका दलहरु प्रति जनविश्वास घटिरहेको, राज्यका नीति तथा कार्यक्रमहरु प्रभावहीन बन्दै गएका, सरकारी संयन्त्रहरुकाे सही परिचालन हुन नसकेको र राजनीति प्रति नै जनताहरु वितृष्ण बन्न लागेको अहिलेको समय नेपाली काङ्ग्रेस पुनः जाग्नको लागि उपयुक्त समय हुन सक्छ । नेपाली जनताहरुलाई राजनीति प्रति वितृष्णा पैदा हुन नदिन नेपाली काङ्ग्रेसले सत्ता बाहिरबाटै सोही बमोजिम सशक्त ढंगले गतिविधिहरु सञ्चालन गर्नुपर्ने जरुरी छ । याे जिम्मेवारी लिने पालाे अब नेपाली काङ्ग्रेसकै काँधमा आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij