
लकडाउनले अन्य उद्योग एवं व्यवसायमा जस्तै हस्तकला क्षेत्रमा पनि निकै ठूलो नोक्सानी पुर्याएको छ । नेपालमा अहिले एकातिर हस्तकलाजन्य सामाग्रीको उत्पादन ठप्प बन्न पुगेको छ भने अर्कोतिर नेपालमा उत्पादित हस्तकलाजन्य सामानहरुको निर्यात अवस्था के हुने हो भन्ने प्रश्न चिन्ह समेत खडा भएको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य बताउँछन् ।
सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘अहिले नेपालको उत्पादन बन्द छ । अहिले बाहिर निर्यात पनि ठप्प छ । साथै नेपालबाट निर्यात हुने मुख्य देशहरु पनि कोरोनाबाट प्रभावित भएका हुनाले यस व्यवसायमा दीर्घकालिन रुपमा नै असर पर्ने समेत देखिन्छ ।’
अध्यक्ष शाक्यका अनुसार अहिले नेपालमा करिब ११ लाख व्यक्तिहरुले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा हस्तकला क्षेत्रबाट रोजगारी प्राप्त गरिरहेका छन् । जुन स्वदेशमा रोजगारी सृजनाको हिसाबले निकै ठूलो क्षेत्र समेत हो ।

अहिले हस्तकलामा साना घरेलु उद्योग देखि ठूलो लगानीका व्यवसायीहरु पनि यस क्षेत्रमा संलग्न रहँदै आएका छन् । नेपालमा हस्तकलाजन्य सामाग्री थोरैथोरै मात्रामा बाह्य जिल्लामा समेत उत्पादन हुने भएपनि यसको मुख्य उत्पादन क्षेत्र भने काठमाडौं उपत्यका नै हो ।
लामो समयको बन्द, बन्द खुलेपछि श्रमिक व्यवस्थापनामा हुने समस्या, बैंक ऋण लगायतलाई पुनः सन्तुलनमा ल्याउनको लागि सरकारले बिना धितो थप २० लाख रकम सम्म उपलब्ध गराउन शाक्यले सरकारलाई आग्रह गर्छन् । सरकारको विशेष सहयोग प्राप्त भएको खण्डमा मात्र कालिगढ, कामदार, व्यवसायी र उद्योग पुःन चलायमान हुन सक्ने अध्यक्ष शाक्यको विश्वास छ ।
नेपालमा उत्पादन हुने हस्तकलाजन्य सामाग्रीमा सिल्भर ज्वेलरी, मुर्तिकला, काष्ठकला, मेटलका मुर्तिहरु, पर्स, फेल्ट, हाते कागज, जुत्ता लगायत पर्छन् ।
अहिले नेपालबाट करिब ११ अर्ब बराबरको हस्तकलाजन्य सामाग्री विदेश निर्यात हुँदै आएको अध्यक्ष बताउनुहुन्छ । यस मध्ये बार्षिक ६ अर्ब बराबरको कारोबार औपचारिक माध्यमबाट हुने गरेको छ भने बाँकी ५ अर्ब बराबरका हस्तकलाजन्य सामाग्रीहरु नेपाल भ्रमणमा आएका पर्यटक, विदेशमा रहेका नेपालीले आफैं लैजाने हस्तकलाजन्य सामाग्री एवं अन्य अनौपचारिक माध्यमबाट निर्यात हुँदै आएका छन् । यसको तथ्याङ्क हस्तकला महासंघ तथा निर्यात प्रवद्र्धन वोर्डले समेट्न नसकेको अध्यक्षको धारणा छ ।

नेपालमा हस्तकला क्षेत्रमा स्वरोजगारमूलक तवरले काम गर्ने जनसङ्ख्या निकै ठूलो परिमाणमा छ । यस क्षेत्रमा निकै ठूलो रकम लगानी समेत भइसकेको अवस्थामा अहिलेको लकडाउन र विश्व अर्थतन्त्रमा परेको कोरोना महामारीले कस्तो प्रभाव पार्ने हो भन्ने अन्यौलमा छन् हस्तकला व्यवसायीहरु ।
विगत ३५ बर्ष देखि मेटल क्राफ्ट र ज्वेलरी क्षेत्रमा रही हस्तकलाजन्य क्षेत्रमा संलग्न रहँदै आएका अध्यक्ष सुरेन्द्र भाई शाक्य अब नेपाल सरकारले यस क्षेत्रको थप प्रवद्र्धनको लागि अन्य प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् ।
संस्थागत पहल
अहिले नेपाल हस्तकला महासंघका १२ ओटा वस्तुगत संघ र १६ ओटा जिल्लागत संघहरु क्रियाशिल छन् । अहिलेको परिस्थितिले सृजना भएको असहज परिस्थितिमा पिपिइ, मास्क लगायतका सामानहरु उपलब्ध गराएको छ । संस्थागत रुपमा राहत कोषमा रकम उपलब्ध गराउने योजना सहित यस कार्यमा सहभागि हुन सदस्य व्यवसायीहरुलाई समेत महासंघ आग्रह गरेको छ । 
सरकारसँग आग्रह
लकडाउनले उद्योग बन्द हुँदा परेको असर सम्बन्धमा गृह मन्त्रालयले सामाजिक दूरी कायम गरेर हस्तकलाजन्य सामाग्री उत्पादनमा निर्देशन दिएपनि अहिले त्यो सम्भव नभएको कारण समस्या सृजना भएको समेत अध्यक्ष शाक्यले बताए ।
बिना धिताे २० लाख माग
लामो समयको बन्द, बन्द खुलेपछि श्रमिक व्यवस्थापनामा हुने समस्या, बैंक ऋण लगायतलाई पुनः सन्तुलनमा ल्याउनको लागि सरकारले बिना धितो थप २० लाख रकम सम्म उपलब्ध गराउन शाक्यले सरकारलाई आग्रह गर्छन् । सरकारको विशेष सहयोग प्राप्त भएको खण्डमा मात्र कालिगढ, कामदार, व्यवसायी र उद्योग पुःन चलायमान हुन सक्ने अध्यक्ष शाक्यको विश्वास छ । पुनः यस क्षेत्रले निकै ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने अवस्था रहन्छ । साथै नेपालको पहिचान विश्व बजारमा चिनाउन यो क्षेत्र सदैव सफल रहिरहनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij