२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सामाजिक र व्यावसायिक यात्रामा उद्यमी लम्सालको अनुभव

सामाजिक र व्यावसायिक यात्रामा उद्यमी लम्सालको अनुभव

 

राजन लम्साल समाजसेवी तथा उद्यमी|

लामो समय देखि सामाजिक सेवा अन्तरगत लायन्स क्लब तथा अन्य विभिन्न संस्थाहरुमा संलग्न रहँदै आउनुभएका राजन लम्साल सन् २०१०-११ को लागि लायन्स क्लबमा डिष्ट्रिक्ट गभर्नरको नेतृत्व समेत सम्हालि सक्नुभएका व्यक्ति हुनुहुन्छ । सन् २०११-१२ मा मल्टिपल काउन्सिल चेयरपर्सन एवं जिएमटि मल्टिपल कोर्डिनेटरको भूमिका समेत ऊहाँले निर्वाह गरिसक्नुभएको छ ।
वि.सं २०५७ मा ‘सामाजिक विकासको लागि सहयोगी हातहरु’ भन्ने संस्था स्थापना गरेर आफ्नो जन्मभूमि स्याङ्जाको लागि केही गर्नुपर्छ भन्ने मान्यता सहित आफ्ना गतिविधिहरु तीव्र रुपमा अघी बढाउनुभएका लम्साल नेतृत्वमा यसै संस्थाको पहलमा एक अस्पताल स्थापना गरी थुप्रै स्थानीय जनताहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्न ऊहाँ सफल हुनुभएको छ । नेपालका सबै जिल्लामा शिक्षाको पहुँच विस्तार गर्नुपर्छ भन्ने मान्यताले स्थापित लायन्स मनराम फाउन्डेसनमा समेत लम्सालले उपाध्यक्षको भूमिकामा रही निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । हाल ऊहाँ राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानमा समेत सल्लाहकारको भूमिकामा रही संस्कृति संरक्षण कार्यमा समेत सक्रिय हुनुहुन्छ ।

व्यावसायिक संलग्नता 
फोर्स मोटरको नेपालको निम्ति आधिकारिक विक्रेताको रुपमा स्थापित आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशकको भूमिकामा रहनुभएका राजन लम्साल एक सफल उद्यमी समेत हुनुहुन्छ । यस कम्पनी अन्तरगत विगत ६ बर्ष देखि नेपालमा फोर्स मोटर्सका कमर्सियल सेगमेन्टका गाडीहरु (खासगरी १४ सिट क्षमताका जीप तथा मिनिबसहरु) नेपालमा विक्रीवितरण हुँदै आएका छन् । हाल काठमाडौं, पोखरा र हेटौंडामा आफ्नै शोरुम स्थापना गरी विक्रीवितरण गर्दै आएको यस कम्पनीले नारायणघाट, झापा, विराटनगर र इटहरी लगायतमा समेत सबडिलरहरु मार्फत व्यवसाय विस्तार गर्ने कार्यमा लम्सालको भूमिका निकै महत्वपूर्ण छ ।

नेपालका ग्रामीण कच्ची क्षेत्रलाई लक्षित गरी व्यावसायिक लाभका उद्धेश्यले आयात गरिएको आइएका यी गाडीहरु राम्रो माइलेज दिने, धेरै यात्रु राख्न सकिने, राम्रो मुनाफा आर्जन गर्न सकिने विशेषतायुक्त छन् । साथै १४ सिट क्षमतामा आयात भएको जीप नेपालको लागि अहिले सम्म फोर्स मोटर्सको मात्रै छ । हाल यस कम्पनी अन्तरगत जीप, मिनिबस, पिकअप र डेलिभरी भ्यानहरु आयात गरिँदै आइएको छ ।

विभिन्न क्षेत्रको घुमफिर, लोकदोहोरी, साथीहरुसँग भेटघाट तथा अध्ययनको लागि विशेष शोख राख्नुहुने लम्साल आफू संलग्न क्षेत्रमा सन्तुष्ट हुनुहुन्छ । विगतमा म्यानपावर तथा ट्राभल एजेन्सी क्षेत्रमा संलग्न रहनुभएका लम्सालले लम्साल पछिल्लो समय सामाजिक तथा व्यावसायिक क्षेत्रलाई एकैसाथ अघी बढाउनुभएको छ ।

|लायन्स क्लब मार्फत लम्सालले निर्वाह गरेको भूमिका 
लायन्स क्लबमा डिष्ट्रिक्ट गभर्नर रहँदा लम्सालको नेतृत्वमा कलंकी स्थित लायन्स भवन खरिद गर्ने कार्य सम्पन्न भयो । यसको अलावा आँखाको समस्या नेपालमा समेत ठूलो समस्याको रुपमा सृजना भएको अवस्थामा आँखाको मोतियाबिन्दको उपचारमा समेत लम्सालको विशेष भूमिका रह्यो । नेपालका थुप्रै जिल्लाहरुमा ऊहाँले प्रोजेक्ट म्यानेजर लगायत विभिन्न भूमिकामा रही उक्त उपचार सफल पार्न ऊहाँले सक्रिय भूमिका निर्वाह गर्नुभयो ।

क्लबको सञ्जाल विस्तारमा योगदान 
लम्साल गभर्नर हुँदा ऊहाँ नेपालमा ६५ ओटा लायन्स क्लबहरु थप गर्न सफल हुनुभयो । जुन तीव्रतामा त्यस समय सम्म विश्वमा कहीँ पनि लायन्स क्लबको सञ्जाल विस्तार भएको थिएन । यसर्थ संगठन विस्तार, सुदृढीकरण एवं नेतृत्वदायी क्षमता विकासको निम्ति पनि ऊहाँको भूमिका निकै नै महत्वपूर्ण रह्यो । नेतृत्व विकासको क्षेत्रमा जिएलटी मल्टिपल कोर्डिनेटरको रुपमा रहेर पनि ऊहाँले विशेष भूमिका निर्वाह गर्दै आउनुभएको छ । सन् २०१३ मा नेपालमा इसामी फोरम कार्यक्रमको आयोजना गर्ने कार्यमा समेत लम्सालको सक्रियताले निकै प्रभावकारी भूमिका निर्वाह गर्यो ।

लायन्स क्लबको योगदान 
नेपालमा लायन्स क्लबले सामाजिक क्षेत्रमा निकै महत्वपूर्ण योगदान दिएको छ । हाल नेपालमा करिब ३३ हजार लायन्स सदस्यहरु छन् । सबै लायन्स सदस्यहरुले नेपालमा कुनै न कुनै रुपमा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । लायन्स एउटा ठूलो सञ्जाल भएको विश्वव्यापी संस्था भएको कारण सबै सदस्यले हरेक बर्ष सदस्यता शुल्क बापत निश्चित रकम विदेशमा पठाउनुपर्ने हुन्छ । यसरी संकलन भएको रकम विश्वका विभिन्न ठाऊँका समस्याग्रस्त क्षेत्रमा उपयोग हुने गर्छ । हामीले नेपालबाट बाहिर पठाएको रकमको तुलनामा निकै बढी रकम नेपालको सहयोग बापत विदेशबाट भित्रिइरहेको छ । भूकम्पको समयमा नेपालमा क्षतिग्रस्त विद्यालयहरु निर्माणको निम्ति ५० करोड रकम नेपालमा भित्रिएको थियो । यसबाट १८ ओटा विद्यालय निर्माण कार्य सम्पन्न गर्न हामी सफल भयौं । यसैगरी दादुरा विरुद्ध खोप अभियान अन्तरगत समेत २४ करोड र ३५ करोड गरी २ पटकमा ५९ करोड रकम नेपालमा भित्रियो । यी त केही उदाहरण मात्र हुन् । लायन्स इन्टरनेशनलको भूमिका नेपालको विकासको निम्ति निकै महत्वपूर्ण रहेको छ ।

नेपालमा पनि अहिलेको अवस्थामा सामाजिक सेवा गर्ने इच्छा शक्ति र साधनस्रोत भएका व्यक्तिहरुको लागि लायन्स क्लब राम्रो प्लेटफर्म बनेको छ । हुनतः सामाजिक सेवाको लागि लायन्स क्लबमा नै आवद्ध हुनुपर्छ भन्ने त छैन । हरेक नेपाली कुनै न कुनै रुपमा त सामाजिक कार्यहरुमा संलग्न भइ नै रहेका छन् । लायन्सको अलावा नेपालमा अन्तराष्ट्रिय सञ्जालको रुपमा रहेका संस्थाहरु रेडक्रस, जेसिस लगायत पनि छन् । यी संस्थाहरुले पनि प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् । महत्वपूर्ण कुरा भनेको सामाजिक क्षेत्रमा संलग्न व्यक्तिहरुले आफ्नो अलावा अरुको लागि समेत केही काम गर्नुपर्छ भन्ने भावना जागृत हुनुपर्छ । जुन निकै महत्वपूर्ण रहन्छ । यद्यपि लायन्स क्लबले ठूलो रकम संगठित गर्दै त्यसलाई सदुपयोग गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

नेपालका सम्भावना बारे उद्यमी लम्सालको धारणा 
नेपाल निकै राम्रो सम्भावना भएको मुलुक हो ।साथै अहिलेको अवस्थामा पनि नेपाली युवाहरुमा नैराश्यता बढी रहेको पाइन्छ । हरेकले अधिकारको कुरा गर्दै आएका भएपनि आफ्नो कर्तव्य के हुनुपर्छ भन्ने बारेमा भने अधिकांश जागरुक हुन सकेका पाईदैनन् । नेपाल निकै राम्रो सम्भावना रहेको देश हो । यसलाई माथि उठाउनमा हरेक नेपाली युवाहरुको भूमिका निकै महत्वपूर्ण रहने गर्छ । सबै व्यक्तिहरु आफ्नो क्षेत्रमा इमान्दार भइ लागिपर्ने हो भने हाम्रो देशलाई विकासको गतिमा अघी बढाउन धेरै समय लाग्नेछैन । छोटो अवधिमा नै नेपाल संसारले चिन्न सक्ने मुलुक बन्न सक्ने स्रोतसाधन हामीसँग छन् ।

नेपालमा जलविद्युत, पर्यटन लगायतका क्षेत्रहरुमा निकै राम्रो सम्भावना छ । अबका ५० बर्ष भित्रमा विश्वमा पानीको हाहाकार हुने अवस्था विभिन्न अध्ययनहरुबाट पाउन सकिन्छ । साथै नेपालको पानीलाई प्रशोधन सहित विश्वबजारमा पठाउन सक्ने हो भने यसबाट राम्रो आर्थिक लाभ लिन सकिने अवस्था रहन्छ । नेपालको भौगोलिक अवस्था, कृषि, उत्पादन लगायतको हिसाबले समेत निकै राम्रो सम्भावना भएको मुलुक हो । यसकारण हामीले हामीसँग जे छ, त्यसैमा टेकेर हाम्रो मुलुकलाई अघी बढाउनु जरुरी छ । अहिले सम्म नेपालले राम्रो गति लिइनसक्नुमा हामीले यहाँका सम्भावनाहरुको राम्रोसँग अध्ययन र पहिचान गर्न नसकेको कारणले गर्दा हो । यस कुरालाई विचार गर्दै कुन–कुन क्षेत्रलाई कसरी अघी बढाउने भन्ने सम्बन्धमा प्राथमिकताको आधारमा हाम्रा गतिविधिहरु अघी बढाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij