काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन् । काठमाण्डु महानगरको दुरावस्था देखेर दिक्क भएका प्रधानमन्त्री ओलीले प्रतिपक्षीको पनि बचन सहनु परेकाले मेयरको काम देखेर दिक्क भएका हुन् ।
मेयर शाक्यलाई समग्र काठमाण्डुको विकासमा केन्द्रीत हुन र नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मेयर शाक्यलाई काठमाण्डुमा भएको प्रगति विवरण पेश गर्न पनि निर्देशन दिएका थिए । लगातारमा विवादमा तानिदैं आएका मेयर शाक्य काठमाण्डु नगरवासीले पनि असक्षम घोषणा गर्दै आएका छन् ।
महानगरको काम राम्रो गर्न नसक्दा सिंगो सरकार र पार्टीलाई पनि असर पर्ने भन्दै ओलीले शाक्यलाई देखिने गरी काम गर्न निर्देशन दिएका छन् । स्रोतका अनुसार ओलीले शाक्यलाई प्रधानमन्त्री निवास वालुवाटरमै बोलाएर एक वर्षमा काठमाडौं महानगरपालिकाले गरेको कामको विवरण मागेका थिए ।
काठमाण्डुका सडकको दूरावस्था र धुँवाधूलो नियन्त्रण गर्नेतर्फ परिणामुखी काम हुन नसकेकोमा प्रधानमन्त्री असन्तुष्ट छन् । शाक्यका कामप्रति असन्तुष्टि जनाउँदै सुधारका साथ अघि बढ्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
शाक्यले भने काम गर्न खोज्दा विभिन्न ठाउँबाट अवरोध आइरहेको र नभएका कामको मात्र प्रचार हुने गरेको स्पष्टिकरण दिएका छन् । केन्द्र सरकार र प्रदेश सरकारले गर्नुपर्ने काम नभएको दोष पनि आफूले बोक्नु परेको मेयर शाक्यको गुनासो छ ।
मिडिया आफूप्रति नकारात्मक रहेको भन्दै महानगरले एक वर्षमा स्थानीय जनताको पक्षमा धेरै काम गरेको बताएका छन् । शाक्यले आफ्नो विरोध र आलोचना काठमाण्डुका स्थानीय वासिन्दाभन्दा पनि बाहिरबाट आएर बसेकाहरुले सामाजिक सञ्जालबाट गर्ने गरको बताउँदै आएका छन् ।
महानगरको जिम्मेवारीमा नपर्ने राष्ट्रिय सडकहरुको दूरावस्थाको जिम्मेवार पनि आफूलाई देखाउने गरिएको गुनासो शाक्यको छ । सडकको धूलो सफा गर्न दुई वटा बुमर ल्याइइएको उनले बताए ।
प्रधानमन्त्री ओलीले भने काठमाण्डु महानगरको नेतृत्वले राम्रो काम गर्न नसक्दा त्यसको क्षति सरकार र पार्टीले पनि भोग्नुपर्ने भन्दै शाक्यलाई विज्ञ र सल्लाहकारहरुको टिम बनाएर काम गर्न सुझाएका छन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले काठमाण्डुका मेयरसँग प्रधानमन्त्रीले राजधानीको समग्र विकास र सडक पूर्वाधारको अवस्थाबारे छलफल गरेको बताए । प्रधानमन्त्रीले यसै साता नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुुसँग पनि छलफल गरेका थिए ।
प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘काठमाण्डुका मेयर शाक्य खराब मान्छे होइनन् । तर, काठमाण्डु महानगर हाँक्न जुन गतिशीलता हुनु पर्ने हो, त्यो चाहिँ नभएकै हो । प्रधानमन्त्रीले फटाफट काम गर्नुस्, केही परे म छु भनेर पठाउनु भएको छ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij