नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आचारसंहिता विपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्नु उचित भएको बताएका छन्। 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्र्दै उनले भने, “तत्कालीन सरकारले गरेको निर्णय खारेज गर्ने वर्तमान सरकारको निर्णयबाट मुलुकमा प्रणालीको विकास शुरु भएको छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले संक्रमणकालमा गरिने निर्णय सहमति र सहकार्यमा नगरिएकाले बहुमतको वर्तमान निर्वाचित सरकारले खारेज गरेको उल्लेख गर्दै डा गोविन्द केसीको भूमिका र उठाएको माग सम्बोधन गर्न गाह्रो भएको बताए ।
राष्ट्रिय नेता मनमोहनको नाममा स्थापना भएका संस्था बन्द गर्ने र करोडौ रुपैयाँ खर्चिएर नेपाली विद्यार्थीलाई विदेश अध्ययन गर्न पठाउने उद्देश्य राम्रो होइन भन्दै उनले अनसन त्यागेर शिक्षा र स्वास्थ्यका समस्या समाधान गर्न सरकारसँग वार्तामा आउन उहाँलाई आग्रह गरे ।
नेता नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण रोक्न वर्तमान सरकार कटिबद्ध रहेको चर्चा गर्दै जनताको शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिने बताए ।
क्षणिक आवेशमा नआउन र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपाली काँग्रेसलाई आग्रह गर्दै उनले प्रतिपक्षले वर्तमान सरकारलाई कार्य गर्न नदिने गरी गरिएको निर्णयले उल्टै नेपाली काँग्रेसप्रति नै जनताले आरोप लगाउने धारणा व्यक्त गरे।
नेता नेपालले मुलुकका गरिबी, बेरोजगारी, अभाव र पछौटेपन जस्ता समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य गरी समृद्ध नेपाल, सुखी नेपाली बनाउनेतर्फ लाग्न पनि काँग्रेसलाई आग्रह गरे।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij