काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्ताहरुमाथिको धरपक्कड जारी राखे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सो चेतावनी दिएका हुन् । मंगलबार आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्दको क्रममा पार्टी नेताहर सुदर्शन, पदम राई लगायतका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै विप्लवले तत्काल उनीहरुको रिहाईको माग समेत गरेका छन् ।
विज्ञप्तिमा भनिएको छः बन्द सघर्षमा सहभागि सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौंकि शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशिघ्र मुक्त गरियोस्, अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने छ । संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनुपर्ने छ । विज्ञप्तिमार्फत महासचिव विप्लवले आफ्नो पार्टीको नेतृत्वमा भएको नेपाल बन्द शानदार ढंगले सफल भएको दाबी समेत गरेका छन् । बन्द सफल बनाउन सहयोग गर्ने सबैमा उनले धन्यवाद समेत दिएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij