काठमाडौं, ४ बैशाखः दोर्दी खोला जलविद्युत लिमिटेडले जारी गरेको हकप्रद शेयरमा आवेदन दिनका लागि अब ४ दिन मात्र बाँकी छ। कम्पनीले चालु वर्षको चैत १९ गतेदेखि हकप्रद शेयर निष्कासन सुरु गरेको हो र आगामी बैशाख ८ गते अन्तिम म्याद तोकिएको छ।
यस पटक कम्पनीले वर्तमान चुक्ता पूँजीको १०० प्रतिशतका दरले अर्थात् १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्दैछ। जसअनुसार, एक कित्ता पुरानो शेयर भएका शेयरधनीले थप एक कित्ता नयाँ शेयर खरिद गर्न पाउने छन्। कुल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गरिएको हो।
यस हकप्रद शेयर निष्कासनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार, फागुन १३ गतेसम्म दोर्दी खोलाको शेयर नेप्सेमा किनबेच गरी नाम दर्ता गराएका लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
कम्पनीले इक्रा नेपालबाट प्राप्त गरेको रेटिङ अनुसार, “इक्रा एनपी इस्युअर रेटिङ बी प्लस” श्रेणीमा परेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा केही उच्च जोखिम रहेको देखाउँछ।
शेयर बिक्री तथा वितरणको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले लिएको छ। साथै, लगानीकर्ताले सानिमा बैंकका विभिन्न शाखा कार्यालयहरू — विराटनगर, वीरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ — मा गएर पनि आवेदन दिन सक्नेछन्।
यसका अतिरिक्त, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ‘मेरो शेयर’ अनलाइन प्रणाली तथा सी-आस्वा प्रणाली प्रयोग गरी सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट पनि सजिलै आवेदन दिन सकिन्छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij