राष्ट्रिय योग तथा प्राकृतिक चिकित्सक संघले माननीय सांसद प्रेम सुवालले योगका सम्बन्धमा संसदमा व्यक्त गरेको अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाका महासचिव रविनलाल श्रेष्ठकाे हस्ताक्षर सहित विज्ञप्ति प्रकाशन गर्दै संस्थाले जेठ २४ गते योग वैज्ञानिक नभएको र यसलाई प्रतिबन्ध लगाउनुपर्छ भन्दै सांसदले अभिव्यक्ति दिनु गम्भीर त्रुटि भएको बताएको छ ।
उक्त अभिव्यक्तिको खण्डन गर्दै विज्ञप्तिमा योग नेपालबाट शुरु भएर विश्वभर फैलिएको एउटा वैज्ञानिक सभ्यता रहेको बताइएको छ ।
योग वैज्ञानिक भएकै कारण पछिल्ला बर्षहरुमा योग सम्बन्धी विभिन्न अनुसन्धानहरु भइरहेको र विश्वका अनेकौं देशहरुले यसलाई अङ्गालिसकेको समेत विज्ञप्तिमा उल्लेख छ ।
यस्तो अवस्थालाई विचारै नगरी माननीय सांसद जस्तो गरिमामय पदमा रहेको व्यक्तिले भ्रम बीच त्यसले पार्ने प्रभावलाई कुनै विचार नै नपुर्याई संसदमा बोल्दा ठूलो नोक्सानी पुग्न सक्नेमा समेत विज्ञप्तिमा सजग गराइएकाे छ ।
विज्ञप्तिमा उल्लेख अनुसार योग पूर्ण रुपमा वैज्ञानिक छ । योग विभिन्न गुरुहरुले प्रवद्र्धन गर्नुभएको हो । पछिल्ला बर्षहरुमा योग सम्बन्धि हजारौं अनुसन्धानहरु समेत भएका छन् ।
अहिले गुगलमा योग थेरापीका १ लाख ५७ हजार, मेडिटेसनका ११ लाख ४० हजार र प्रणायामका २ हजार ५ सय ८० ओटा सोधपत्रहरु प्रकाशित छन् ।

यसको अलावा पबमेडमा समेत ५ हजार ५ सय २५ ओटा योग थेरापीका र ७ हजार १७ ओटा ध्यान (मेडिटेसन)का सोधपत्रहरु प्रकाशित छन् ।
विश्व स्वास्थ्य संगठन, अमेरिकन हार्ट एशोसिएसन लगायतका संस्थाहरुले समेत योग थेरापीलाई मान्यता प्रदान गरिसकेको अवस्थामा योगलाई माननीय जस्तो जिम्मेवार व्यक्तिले अवैज्ञानिक भन्दै अभिव्यक्ति दिएको प्रति राष्ट्रिय योग तथा प्राकृतिक चिकित्सक संघले खेद प्रकट गरेको छ ।
पछिल्लो समय नेपालमा पनि आधिकारिक रुपमा योग चिकित्साको अभ्यास शुरु भएको छ र यस क्षेत्रमा थुप्रै डाक्टर तथा थेरापिष्टहरु खटिइरहनुभएको संघका उपाध्यक्ष यन्जन गैह्रले जानकारी गराउनुभएकाे छ ।
साथै योग तथा योग थेरापी र फिजियो थेरापी समेत आफैंमा अलगअलग विधाहरु भएकाे र योग शारीरिक, मानसिक, भावनात्मक, आध्यात्मिक र सामाजिक स्वास्थ्य सँग प्रत्यक्ष सम्बन्धित विषय भएको समेत बताइएकाे छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij