२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मर्कामा साना व्यवसायीहरु, राज्यबाट तत्काल राहत प्याकेज आवश्यक

मर्कामा साना व्यवसायीहरु, राज्यबाट तत्काल राहत प्याकेज आवश्यक

नरेश कटुवाल* अध्यक्ष, नेपाल राष्ट्रिय व्यवसायी महासंघ

अहिले नेपालका सबैजसो व्यवसायहरु बन्द छन् । नेपालमा लकडाउनको कारण व्यवसायिक कारोबार बन्द हुँदा सबै व्यवसायीहरु समस्यामा छन् । अहिले सबैजसो व्यावसायिक सटरहरु बन्द छन् । सबैजसो उद्योगहरु बन्द छन् । अहिलेको अवस्थालाई हेर्दा लकडाउन तत्कालै खुलेपनि करिब १ बर्ष उद्योगहरु सामान्य तवरले सञ्चालन हुन सक्ने देखिँदैन ।

उद्योग व्यवसायलाई कामदारको समस्या
उद्योग तथा व्यवसाय सञ्चालनको लागि कामदारहरुको भूमिका महत्वपूर्ण रहन्छ । तर अहिले नेपाली उद्योगहरुमा मजदुर समस्या एक ठूलो समस्या बन्ने देखिएको छ । कोरोना त्रासदीको कारण कामदारहरु समेत कार्य क्षेत्रमा नभई अधिकांश आफ्नो स्थायी बसोबास क्षेत्रमा फर्किएका छन् । जसले गर्दा लकडाउन खुलेपश्चात् तत्काल व्यवसाय वा उद्योग खोल्न सक्ने अवस्था छैन ।

समस्यामा मजदूर वर्ग
अहिले सबैजसो उद्योगहरु ठप्प भएका हुँदा कामदार र कर्मचारीलाई बन्द अवधिको तलब सुविधा उपलब्ध गराउन सक्ने अवस्थामा छैनन् उद्योगी र व्यवसायीहरु । अकस्मात् सिर्जना भएको यस परिस्थितिको कारण नेपालमा ठूलो सङ्ख्यामा मानिसहरु बेरोजगार हुनुपरेको छ । साथै निरन्तरको बन्दको कारण खान र बस्नको लागि आफ्नो उचित प्रवन्ध गर्न सक्ने अवस्थामा समेत छैनन् काठमाडौंमा रहेका अधिकांश कामदारहरु । यसरी वेरोजगार भएर अलपत्र परेका कामदारहरुको लागि नेपाल सरकारले तत्काल नै विशेष राहत प्याकेज ल्याउनुपर्ने जरुरी देखिएको छ । यस कार्यमा नेपाल सरकारले केही पहल त शुरु गरेको छ । तर त्यो प्रयाप्त हुन नसक्दा कामदारहरुले निकै दुख पाएको अवस्था छ । जुन अहिले ठूलो चिन्ताको विषय बनेको छ ।

व्यवसायी लक्षित राहत प्याकेज
नेपालमा अहिले तत्काल नै सरकारले साना, घरेलु एवं उद्योग सञ्चालकहरुलाई लक्षित गरेर विशेष राहत प्याकेज छिट्टै घोषणा गर्नु जरुरी छ । नेपाल सरकारले शीघ्र यसो गर्न सकेन भने नेपालमा साना र मझौला उद्योगहरु विस्थापित हुने अवस्था सृजना हुन सक्छ । नेपालमा साना तथा मझौला र घरेलु उद्योग बन्द हुने हो भने निकै नै भयावह अवस्था सृजना हुन सक्ने देखिन्छ ।

कस्तो राहत प्याकेज चाहन्छन् त व्यवसायीहरु ?
अहिलेको समस्या समाधान गर्दै पुनः व्यावसायिक गतिविधि सञ्चालन गर्न सहज हुने राहत प्याकेज व्यवसायीहरु चाहन्छन् । यस्तो राहत प्याकेज अन्तरगत व्यवसाय सञ्चालनको लागि बैंकहरुबाट कर्जा लिएका व्यवसायीहरुलाई कर्जाको व्याज मिनाहा हुनुपर्ने, किस्तामा सहजता ल्याउनुपर्ने लगायत छन् ।

मुलुकभरीका आफ्नो जग्गामा नभई भाडामा सञ्चालन हुँदै आएका उद्योगव्यवसायहरु तथा व्यावसायिक सटरमा छुट उपलब्ध गराउनुपर्ने कुराहरु हामी व्यवसायीहरुले माग गरेका छौं ।

अध्यक्षको सन्देश र महासंघका प्रयाशहरु

‘अहिलेको परिस्थितिमा सबै व्यवसायीहरु नआत्तिई धैर्यतापूर्वक बस्न आग्रह गर्दछु । विषम परिस्थितिको कारण कुनै कामदार तथा कर्मचारी समस्यामा परेको पाइए यथाशिघ्र हामी उनीहरुको उद्दार एवं खाना र वासको उचित व्यवस्था गर्न तत्पर छौं । हामीले विपद व्यवस्थापनको लागि अहिले महासंघका महासचिवको नेतृत्वमा एउटा समिति गठन गरेका छौं । सोही समितिबाट सहयोग संकलन गरी राज्यलाई सहयोग गर्ने योजनामा हामी छौं’ महासंघका अध्यक्ष नरेश कटुवालले सेतोघर डट कमसँगको कुराकानीमा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij