काठमाडौँ– केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिन बहुमतबाट निर्णय गर्ने अडान र चेतावनी दिँदै आएको खेमा पछि हटेको छ। पार्टी बहुमतको निर्णय सबैले मान्नुपर्ने र त्यो नियम ओलीले पनि स्वीकार गर्नुपर्ने बताउँदै आएको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमत निर्णय गर्न हच्केको हो।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दाहालको अध्यक्षमा बसेको बैठकले बहुमत भए पनि ‘सुझबुझका साथ अघि बढ्ने’ भन्दै ओलीलाई दुई मध्ये एक पदबाट राजीनामा दिन निर्देशन गर्ने निर्णय गर्न नसकेको हो।
ओलीले एक पक्षीय रुपमा स्थगित गरेर दाहालले निरन्तरता दिएको बैठकमा बहुमत सदस्य उपस्थित भए पनि सहमतिमै अघि बढ्ने भन्दै स्थगित भएको छ। बैठकमा ओली पक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित भएनन्। बैठकमा दाहाल नेपाल पक्षका २९ जना नेता सहभागी थिए।
बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले बहुमत हुँदैमा छिटो छिटो निर्णय गर्ने पक्षमा आफूहरु नरहेको प्रतिक्रिया दिए। तथापि, प्रचण्ड नेपाल खेमाले एक पद छाड्न ओलीलाई निर्देशन दिने निर्णय बहुमतबाट गर्ने तयारी गर्दै आएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij