नेपाली कांग्रेसका सांसद एवम् संसदीय सुनुवाइ समिति सदस्य भीमसेनदास प्रधानले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाइमा अलमल गरेर सत्तापक्षले सर्वसत्तावादका लागि बार्गेनिङ गरेको टिप्पणी गरेका छन् ।
बिहिबार सुनुवाइ भए पनि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका दीपकराज जोशीको सुनुवाइ धकेलिँदै आएको । सुनुवाइलगत्तै अनुमोदन गर्ने प्रचलन भए पनि जोशीको बिहीबार अनुमोदन भएन । शुक्रबार र आइतबारका लागि डाकिएका दुबै बैठकले समेत जोशीको अनुमोदन गरेन ।
समिति सदस्य प्रधानले बैठकमा जोशीको शैक्षिक प्रमाणपत्रको कुरा नआएको बताए ।
‘सकभर सर्वसम्मत गरौं पनि भन्छन् । हाम्रो बीचमा राय बाझिएको छ भन्ने कुरा पनि ल्याए । नेकपा भने पनि माओवादी र एमालेभित्र राय बाझिएको जस्तो छ’, प्रधानले भने, ‘बार्गेनिङ जस्तो छ । दुई पक्षले बार्गेनिङ गरेको छ ।’
नेकपाका सांसदहरूले अनौपचारिक रूपमा जोशीले उल्लेख गरेको प्रमाणपत्रको सिम्बोल नम्बरमा अर्कै व्यक्तिको प्रमाणपत्र भेटिएको बताउने गरेका छन् । तर औपचारिक रूपमा उनीहरूले धारणा दिएका छैनन् ।
‘उनीहरूको मुख्य धारणा सर्वोच्च अदालत र नेपाल सरकार दुई धारमा गएर सरकारको निर्णय बदर गर्ने गर्नु भएन भन्ने छ । न्यायालयलाई स्वतन्त्र बनाउने पक्षमा उनीहरू छैनन्’, प्रधानले भने, ‘प्रधानन्यायाधीशलाई आफ्नो पकडमा राख्ने क्रममा हरेक कुरा कार्यान्वयन होस् भनेर सर्वसत्तावादका लागि बार्गेनिङ गरेजस्तो छ ।’
प्रधानले सत्तापक्षकै सांसदले शुक्रबार र आइतबार दुबै पटक बैठक सार्न प्रस्ताव गरेको बताए । ‘शुक्रबार पनि सारौं भनेर प्रस्ताव गरे’, प्रधानले भने, ‘उनीहरूको बहुमत छ । हामीले ठिकै छ भन्यौं । आज पनि उनीहरुबाटै प्रस्ताव आयो ।’ प्रधानले जोशीको अनुमोदनबारे सत्ता पक्षभित्रै द्वन्द्व देखिएको बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij