स्वास्थ्यअवस्था खराब नभएका ३० देखि ४० वर्षको उमेर समूहका वयस्कहरुमा कोरोना भाइरसले अचानक मस्तिस्कघात निम्त्याउनसक्ने चेतावनी न्युयोर्कका डाक्टरले दिएका छन् । माउन्ट सिनाई हेल्थ सिस्टमका डाक्टरहरुले यस्तो चेतावनी दिएका हुन् । 
‘हाम्रो रिपोर्टले पछिल्लो दुई सातामा युवामा एक्कासी हुने स्ट्रोकका घटना सात गुणाले बढेको देखाउँछ । यी बिरामीमध्ये अधिकांशसँग पहिले रोग लागेको इतिहास थिएन र उनीहरु घरमा या त कोभिडका हल्का लक्षण या कुनै लक्षण बिना नै बसेका थिए,’ अक्स्लेले भने,‘ यी सबै बिरामी कोरोना पोजेटिभ पाइए । दुईजनाले एम्बुलेन्स बोलाउन ढिलाई गरेका थिए ।’
यस्तो रिपोर्ट न्युयोर्कजस्ता शहरका लागि दुःखद हुनेछ, जहाँ अधिकारीहरुले सास फेर्न गाह्रो हुनेजस्ता अत्यधिक लक्षण नदेखिएसम्म इमर्जेन्सी कल नगर्न मानिसहरुलाई आग्रह गरिरहेका छन् – अहिल्यै चाप भइसकेको इमर्जेन्सीमा थप भिड जम्मा नगर्नका लागि ।
केही व्यक्ति भने अस्पतालमा उल्टै कोरोना सर्नसक्ने भयले त्यहाँ जाने इच्छा देखाइरहेका छैनन् । अक्स्ले र उनको टिमले मानिसलाई आफैं कोरोना भाइरसको लक्षणबारे निगरानी गर्न र यदी मस्तिस्कघात भएजस्तो लागेमा आपतकालीन नम्बर ९११ मा कल गर्न आग्रह गरेका छन् ।
उनले मस्तिस्कघातको चेतावनी बुझ्न मानिसलाई ‘फास्ट’ शब्दप्रति चनाखो हुन पनि सुझाएका छन् ।
एफ – फेस ड्रपिङ (अनुहारको छाला कमजोर भएर चल्न छाड्नु)
ए – आर्म विकनेस (पाखुरामा कमजोरी)
एस– स्पिच डिफिकल्टी (बोल्न समस्या)
टी– टाइम टु कल ९११ (आपतकालीन नम्बरमा कल गर्ने समय)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij