२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आफैंले तय गरेको स्थायी कमिटी बैठकबाट किन भागे त ओली ?

आफैंले तय गरेको स्थायी कमिटी बैठकबाट किन भागे त ओली ?

काठमाडौँ – आफ्ना विरोधीको समीकरण भत्काउँदा बिजय ठानेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले निर्धारण गरेकाे स्थायी कमिटी बैठक तत्काल नहुने गरी टाढिएका छन् । आफू पराजित हुने भयले उक्त वैठक अनिश्चितकालिन रुपमा राेक्न ओली सफल भएका छन् ।

वैशाख २० गतेको केन्द्रीय सचिवालय बैठकमा आफूविरुद्धको समीकरण भत्काउन सफल भएका ओलीले बहुप्रतीक्षित स्थायी कमिटी बैठक पनि छल्न सफल भएका छन्।

बुधबार बालुवाटारमा भएको केन्द्रीय सचिवालय बैठकमा खासगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि अर्थात बिहीबारका लागि निर्धारित स्थायी कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन र एजेण्डा टुंगो लगाउनुपर्ने जोड दिएलगत्तै बैठकको बीचमै असन्तुष्टिपूर्ण मुद्रामा ‘थाकेको’ भन्दै बाहिरिएपछि उनको ‘मुड’ स्पष्ट भएको थियो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले सल्लाह गरेरै बैठकको बीचबाटै उठेको दाबी गरेपनि ओलीले स्थायी कमिटी बैठक छल्न उनी याेजनावद्ध रुपमा बाहिरिएकाे  विशेष स्रोतले बताएकाे छ ।

ओली उठेर हिँडेको केहीबेरमै सचिवालयका सबै सदस्यहरु पनि बैठकबाट बाहिरिएका थिए। तर प्रचण्डले फेरि ओलीसँग करिव १५ मिनेट एक्लै छलफल गरेपनि स्थायी कमिटी बैठकको मिति भने तय हुन सकेन ।

स्रोतका अनुसार ओलीले दाहाललाई भनेका थिए, ‘केही बिग्रिएको छैन। हतार गर्नुपर्ने कारण पनि छैन। एक–दुई दिनमा सल्लाह गरौँला र दुईचार दिनमा स्थायी कमिटी बैठक डाकौँला।’

दाहालले भने आफैले मिति तय गरिसकेको स्थायी कमिटी बैठक नबोलाउँदा बाहिर झन् गलत सन्देश जाने हुँदा त्यसमा सहयोग गर्न ओलीलाई आग्रह गरेका थिए। तर ओली कुनै पनि हालतमा भोलि नै स्थायी कमिटी बैठक डाक्न तयार नभएपछि दाहाल निराश मुद्रामा खुमलटार फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij