काठमाण्डाै, २४ चैतः अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्थाका रुपमा विगत ५० वर्षदेखि क्रियाशील नाडा अटोमोबाइल्स एसोसियशन अफन नेपालले आफूबाट फुटेर बनेको नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को अस्तित्व स्वीकार गरेको छ । नाइमा गठन भएपछि पहिलो पटक नाडा र नाइमाले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।
यसअघिसम्म नाडाका पदाधिकारीहरु फुटेर बनेको संस्थाको औचित्य नहुने दाबी गर्दै आएका थिए । तर, आइतबार नाडाका अध्यक्ष करण चौधरी र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले संयुक्त विज्ञप्ति जारी गर्दै नाडा र नाइमाले नेपालको अटोमोबाइल क्षेत्रको समग्र विकासमा प्रतिबद्ध रहेको जनाएका छन् ।
विज्ञप्तिमा नाडाले नेपालको अटोमोबाइल क्षेत्रको प्रवद्र्धन, नीति निर्माणमा सहकार्य एवं व्यापार–व्यवसाय सहज बनाउने काममा सक्रिय रहँदै आएको उल्लेख छ । हालै गठित नाइमाले भने मोबिलिटी सशक्तीकरणका लागि वकालत गर्दे जाने जनाइएको छ ।
दुवै संगठन अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनी दुवैको हिस्सा बन्न सक्ने एवम् प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहँदै स्वतन्त्र रूपमा आफ्ना प्रयास जारी राख्ने पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ । ‘हामी स्पष्ट पार्न चाहन्छौं नाडा र नाइमा दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउने छ भन्नेमा दुवै संस्थाले विश्वास गर्छन्’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (NADA) ले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवर्द्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा NADA सधैं सक्रिय रहँदै आएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो । NADA ले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (NAIMA) नाईमा भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन् । दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुबै संघको भाग बन्ने छनौट गर्न सक्छन् । तथापि, प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्नेछ ।
NAIMA भनेको मोबिलिटी सशक्तीकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन । NAIMA को उद्देश्य मोबिलिटीमार्फत विकास सशक्त बनाउने रहेको छ । यसले रणनीतिक नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ, जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइनेछ ।
NAIMA ले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए तापनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाहरुको सशक्तिकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ । यस संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्यहरू पुरा गर्न काम गर्नेछ । हालै NAIMA को स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट NADA को भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएका छन् । हामी स्पष्ट पार्न चाहन्छौं कि NADA र NAIMA दुबै संस्थाको स्वतन्त्र सह अस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुबै संस्थाले विश्वास गर्छन् ।
नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा, NADA र NAIMA दुवै संस्थाहरू व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य, तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध छन् । NAIMA ले २०८२ साल वैशाख ४ गते (१६ अप्रिल २०२५) मा आफ्नो औपचारिक शुभारम्भ गर्नेछ । सो अवसरमा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण ( Vision), प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना तथा मोबिलिटी सशक्तिकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij