२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

मिथिला चित्रकलामा बन्दैछ युवा कलाकारको ‘करियर’

मिथिला चित्रकलामा बन्दैछ युवा कलाकारको ‘करियर’

विजेता कर्ण चौधरी/रासस

काठमाडौं, २५ पुसः पछिल्लो सयम मिथिला चित्रकलालाई युवा कलाकारहरूले आफ्नो ‘करियर’ अर्थात जीविकोपार्जनका रूपमा अङ्गाल्न थालेका छन् । यसमा महिलाहरूको सङ्ख्या झनै आशालाग्दो छ । मिथिला चित्रकलाको ख्याति अन्तर्राष्ट्रियस्तरसम्म फैलिएसँगै चित्रकारहरूले पनि यतिबेला देशभित्र मात्रै सीमित नरहेर अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो पहिचान स्थापित गर्दै लगेका छन् । मिथिला चित्रकलाको प्रदर्शनी, ग्यालरी सञ्चालन, क्राफ्ट निर्माणलगायत विभिन्न निजीदेखि व्यापारिक भवनसम्ममा चित्रकला गरेर चित्रकारहरूले राम्रो आम्दानी गर्नुका साथै मान–सम्मान र प्रतिष्ठा पनि आर्जन गरिरहेका छन् ।

चित्रकलालाई आफ्नो ‘करियर’ बनाएर मिथिला–मधेसकी हजारौं महिलाकी नमूना भन्नुभएकी युवा चित्रकार सुनयना ठाकुरको नाम अग्रपङ्क्तिमा आउँछ । जनकपुरधाममा मिथिला पेन्टिङसम्बन्धी आफ्नो आर्टग्यालरी सञ्चालन गरेर एक दशकअघि नै सुनयनाले आफ्नो भविष्यको बाटो कोर्नु भएको थियो । सानो छँदा चित्र कोर्न मन पराउने सुनयनालाई आफूले कोरेको चित्र मिथिला चित्रकला हो भनेर थाहा थिएन । उहाँले घरमा र टोलछिमेकमा आमा–काकीहरूले विभिन्न विधि–व्यवहारमा कोर्नुभएको चित्रलाई नै आफ्नो क्षमताले कोर्नुभयो । तर त्यही प्रतिभाले आज देश–विदेशमा एक परिचित अनुहार मात्र नभएर आर्थिक रूपमा पनि सक्षम र आत्मनिर्भर बन्न सफल भएको छ । कक्षा ८ पढ्दै गर्दा विवाह भएकी सुनयनाले सफलताको शिखर आफ्नै आँट र सुझबुझले चढ्नुभयो ।

त्यस्तै मिथिला चित्रकलालाई आफ्नो करियर बनाएर सफलताको उडान भर्ने अर्की कलाकार हुनुहुन्छ रन्जु यादव । रन्जुले पनि भर्खरै ललितपुरमा आफ्नो ग्यालरी सञ्चालनमा ल्याउनुभएको छ । राजविराज, थलहा गाविस, सुरुङ्गा नगरपालिका–१० की रन्जु पनि मिथिला चित्रकलामा एक स्थापित नाम हो । यसैगरी भक्तपुरको राधेराधेमा लक्ष्मण मण्डल र सरिता मण्डल यसै क्षेत्रमा लाग्नुभएको छ । श्रीमान–श्रीमतीसमेत रहनु भएका उहाँहरूले आफ्नो कलालाई जीविकोपार्जनसँग जोड्नुभएको छ । यसबाहेक, मिथिला चित्रकलामा यतिबेला पूजा साह, दीपा कर्ण, सुलेखा साह, मुन्नी खातुन, संगीता मण्डल, सुनिता साह, मनतोरियादेवी, विनिता भारतीलगायतका प्रतिभाहरुले यस क्षेत्रमा आफ्नो करियर बनाउँदै हुनुहुन्छ ।

घरबाट बाहिर गएर मिथिला चित्रकलालाई पूर्णकालिक अङ्गाल्नेको सङ्ख्या थोरै रहे पनि यो क्रम बढ्दो रहेको चर्चित एवम् वरिष्ठ चित्रकार एस.सी. सुमन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मिथिला चित्रकला आफ्नो फरक ढङ्गको चित्रकारी र शैलीकै कारण विश्वविख्यात हुँदै गएको छ । त्यति मात्र नभएर पारम्परिक चित्रकलालाई यतिबेलाका युवाहरूले समसामयिकतासँग जोड्दै लगेको हुनाले पनि मिथिला चित्रकलाको माग र आकर्षण बढ्दो छ ।”

मिथिला चित्रकलालाई संस्थागत गराउन मधेस प्रदेशस्थित राजर्षि जनक विश्वविद्यालयमा स्नातकमा फाइनआर्ट अध्ययन–अध्यापनका लागि पहल भइरहेको वरिष्ठ चित्रकार सुमन बताउनुहुन्छ । यससम्बन्धी पाठ्यक्रमलाई जीवनयापनसँग जोडिनुपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हाम्रो पुस्ताले सोखको रूपमा चित्रकारी सुरु गरेका थियो तर अबको पुस्ता फाइन आर्टमा मिथिला पेन्टिङ्ग पढेर करियर बनाउँछन् । भविष्यमा मिथिला चित्रकला जीवनयापनका लागि स्थायित्व प्रदान गर्ने राम्रो र सबल माध्यम बन्न सक्छ ।”

ग्यालरी सञ्चालन गरी आत्मनिर्भर बन्ने प्रथम महिला
युवा चित्रकार सुनयना ठाकुर, देश र मधेसभरिमै ग्यालरी सञ्चालन गरेर मिथिला चित्रकलामा आत्मनिर्भर बन्ने प्रथम महिला पनि हुनुहुन्छ । ‘सुनयना आर्ट’ २०६८ सालमा खुल्यो, जो मिथिला ग्यालरीको नामले पनि परिचित छ । उहाँ भन्नुहुन्छ, “जानकी मन्दिरको प्राङ्गनमा ग्यालरी सञ्चालन गर्दा धेरैले ग्यालरी भनेको के हो नै बुझेका थिएनन् । ग्यालरी सञ्चालन गर्न मैले धेरै अप्ठयाराहरू भोगेँ । शुरुमा कन्सेप्ट बुझाउनै गाहे थियो तर चित्रकलामा नै समर्पित हुन्छु भनेर धार्मिक नगरी जनकपुर घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै जानकी मन्दिरसँगैको प्राङ्गणमा ग्यालरी सञ्चालन गरेँ । ग्यालरी एउटा कलाकारको सपना हुन्छ । मैले देश–विदेश घुम्दा ग्यालरीको महत्व बुझेँको थिएँ । र आज यसैले मेरो जीविका पनि चलाइदिएको छ ।” उहाँले कागजदेखि माटोको भाडोमा चित्र कोर्दाकोर्दै क्यानभासको यात्रा तय गर्नुभयो ।

चित्रकार सुनयनाले जलेश्वर, जनकपुर हुँदै पोखरा, काठमाडौंमा दर्जनौ एकल प्रदर्शनी गरिसक्नुभएको छ । भने विदेशमा मात्र पाँच वटा प्रदर्शनी लगाइसक्नुभएको छ । उहाँले सन् २०१६ मा अमेरिका, जापानलगायत नेपालका विभिन्न स्थान र विदेशमा पनि उहाँले एकल र सामूहिक प्रर्दशनी गर्दै आउनुभएको छ । महोत्तरीको सुगा गाउँकी सुनयनाले जनकपुरदेखि काठमाडौँको ठमेलसम्म आफ्नो आर्ट ग्यालरीको विस्तार गर्नुभएको पनि लामो समय भयो । उहाँले आफूजस्तै थुप्रै चित्रकारलाई रोजगार पनि दिनुभएको छ । उहाँले आफ्नो एउटा पेन्टिङ अमेरिकामा १७ डलरमा बेच्नुभएको थियो भने नेपालमा पनि एक लाखदेखि माथिका पेन्टिङहरू बिक्री भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij