
पृष्ठभूमिः
खाना हाम्रो लागि प्रकतिको महान उपहार हो । प्रकृतिले हामीलाई जन्म दिनु भन्दा पहिले नै यसको प्रबन्ध गरिदिएर जीवनको सुनिश्चित गराएर मात्रै हामीलाई जन्माएको छ । यसकारण हरेक पटक खाना खानु भन्दा पहिले हामीले कृतज्ञता भाव अवश्य प्रकट गर्नुपर्छ ।
खाना खानु भन्दा पहिले खाना प्रति कृतज्ञता प्रकट गर्ने प्रचलन प्राचीन काल देखि नै रहँदै आएको छ । पूर्वीय र पश्चिमी दुवै समुदायमा यस्तो प्रचलन छ । खाना खानु भन्दा पहिले कृतज्ञता भाव व्यक्त गर्दा हामीले खाने खाना शुद्धिकरण हुने र यसबाट हाम्रो शरीरमा उत्पन्न हुन सक्ने सम्भावित विकारहरु उत्पन्न नभई नष्ट हुनगई शरीर स्वस्थ रहने विश्वास रहँदै आएको छ ।
खाना खानु भन्दा पहिले कृतज्ञता कसरी व्यक्त गर्ने ?
– नेपाली समाजमा अग्निलाई हवन गरेर खाना ग्रहण गर्ने प्रचलन छ ।
– प्रकृतिका अन्य दृष्य अदृष्य शक्तिहरुलाई उपलब्ध गराउने (खुवाउने), चराचुरुङ्गी, कुकुर, बिरालो, गाई लगायतलाई खुवाउने वा योगी एवं ब्राह्मण लगायतका शुद्धात्मालाई भोजन गराउने वा दान दिने, वृद्धाश्रम, मन्दिर, अस्पतालका विरामी लगायतलाई समेत खाना खुवाउने प्रचलन पनि खाना प्रति कृतज्ञताका अभ्यासहरु हुन् ।
– खाना लिनु भन्दा पहिले हाम्रो वरपर रहेका विभिन्न शक्तिहरुलाई स्मरण गरेर र आफूमा समेत शक्ति भाव जगाएर खाना ग्रहण गर्ने प्रचलन समेत छ ।
– कृतज्ञता प्रकटको लागि मन्त्र जप र भिजुअलाइजेसन पनि गर्न सकिन्छ । जसबाट खाना खानु भन्दा पहिले नै मुखमा र्याल उत्पन्न भइ खाना पचाउनमा ठूलो सहयोग पुर्याउँछ ।
– खाना पकाउने, खाद्यान्न उत्पादन गर्ने एवं यससँग सम्बन्धित व्यक्तिहरुलाई सम्झिएर मनमनै धन्यवाद भाव समेत विकास सकिन्छ ।
कृतज्ञता भावले ब्रह्माण्डीय सम्पन्नतासँग एकाकार गराउँछ
यस मान्यतालाई क्वान्टम फिजिक्सले समेत प्रमाणित गरिसकेको छ । क्वान्टन विज्ञानले भौतिक विज्ञान भन्दा पर ऊर्जामय विज्ञानको व्याख्या गर्दछ । ऊर्जाको दुनियाँमा हरेक वस्तुका २ ओटा स्वरुप रहने गर्दछन् । वेभ (ऊर्जा) र पार्टिकल (भौतिक स्वरुप) । अति सूक्ष्म रुपमा अध्ययन गर्दा हरेक वस्तु ऊर्जामय स्वरुपमा रहने गर्दछन् । हाम्रो विचारमा भौतिक वस्तुको स्वरुपलाई नै बदल्न सक्ने शक्ति हुन्छ ।
विचारले कसरी बदल्न सक्छ भौतिक स्वरुप ?
हरेक वस्तुमा आफ्नो प्रकृति अनुसार फ्रिक्वेन्सी रहने गर्दछ । एउटा समान फ्रिक्वेन्सीले अर्को समान फ्रिक्वेन्सी वा फ्रिक्वेन्सी युक्त वस्तुलाई आकर्षित गर्न सक्छ ।
धन सम्पत्ति, सुन चाँदी, ठूला महलहरु भौतिक स्वरुप हुन् । विद्युतीय शक्ति, पृथ्वीको चुम्बकीय शक्ति, गुरुत्व बल थुप्रै अदृष्य शक्ति यस धरातलमा छन् । यी दुवै स्वरुप ऊर्जाका सकारात्मक र शक्तिशालि स्वरुप हुन् । हामी आफूमा समेत कृतज्ञता भाव जगाएर यी शक्तिहरुको पहुँच बढाउन सक्छौं ।
यी फ्रिक्वेन्सीमा पुग्नको लागि हामीले खुसी, आनन्द, प्रेम, दया, करुणा, दान, सद्व्यवहार, अनुसाशन लगायतको अभ्यास गरेर लामो समय यस्तै अवस्थामा रहिरहनुपर्ने जरुरत भने रहन्छ ।
आत्मनिरीक्षण गरौं कि ?
हामी अधिकांश सफल बन्न त चाहन्छौं, समस्या यो भयो कि हाम्रो अधिक समय खराब कुराको स्मृति, नकारात्मक स्थिति बताउने समाचार, झै–झगडा, रोग, डर, त्रास, पीडा, रिस, अविश्वास, ग्लानि, पश्चात्ताप लगायतका कुराहरुमा केन्द्रित भयो । यस्ता अवस्थाहरुमा ऊर्जाका नकारात्मक अर्थात कम शक्तिशालि फ्रिक्वेन्सी रहेको हुन्छ ।
ट्रान्समिसन लाइन र मष्तिष्कको तुलना
हाम्रो मष्तिष्क टेलिफोन वा इन्टरनेटको ट्रान्समिसन टावर जस्तै हो । जसले समान फ्रिक्वेन्सीलाई आकर्षित गर्दछ । एकैपटकमा थुप्रै टेलिभिजन स्टेसनहरुले आफ्नो फ्रिक्वेन्सी वा भाइब्रेसन ब्रह्माण्डमा छोडेका हुन्छन् । तर हामीले आफ्नो टेलिभिजन सेटमा जुन फ्रिक्वेन्सी सेट गर्दछौं, सोही अनुसारको टेलिभिजन कार्यक्रमको पहुँचमा हामी पुग्छौं ।
खाना प्रति कृतज्ञता कसरी प्रकट गर्ने ?
एक पटक विचार गरौं त, जुन खाना हामीले नियमित रुपमा खाइरहेका छौं, त्यो खाना हामी सम्म आइपुग्नुमा कति धेरै व्यक्तिहरुको योगदान होला ?
खाद्यान्न उत्पादक कृषक, मल उत्पादक, बिऊ बिजन सञ्चयकर्ता, प्याकेजिङ उद्योग र त्यसका कर्मचारीहरु, यातायात साधन र त्यसका कर्मचारी, सडक निर्माणमा संलग्न इन्जिनियर, निर्माण व्यवसायी एवं कामदारहरु, कृषि मेसिन उत्पादक कम्पनी र कर्मचारीहरु, यातायात साधनका उत्पादक, खाद्यान्न वितरणमा संलग्न डिष्ट्रि«ब्युटर, होलसेलर, रिटेलर, भण्डारण प्रविधि, सञ्चार प्रविधि, राज्यका नीतिनियम निर्माता लगायत ठूलो सङ्ख्याका व्यक्तिहरुको संलग्नता हामीलाई खाना उपलब्ध गराउनमा रहेको हुन्छ । यसको अलावा जल, घाम, वायु, माटो, विभिन्न रसायनहरुले सूक्ष्म रुपमा हाम्रो लागि खाना उत्पादनको लागि भूमिका खेलिरहेका छन् ।
हामीले थाहा पायौं कि हामीलाई खाना प्राप्ति हुनुमा कति धेरै व्यक्ति र संरचनाको योगदान रहँदो रहेछ ? यति गहिरो सँग कहिल्यै विचार गरेका छौं त ? शायद नहोला । यी मध्ये कुनै एउटा संयन्त्र मात्रै बलियो हुन सकेन भने हामी सम्म खाद्यान्न आइपुग्दैन ।
दृष्टिकोण बदलौं
हामीले अहिले सम्म पैसा तिरेर किन्ने त हो नि, हाम्रो के त्यो भन्दा बढी दायित्व रहन्छ र ? भनेर आफूलाई कमजोर अवस्थामा रहिरहन प्रेरित गरिह्यौं । किनकि हामीले यसरी सोच्दा हाम्रा अन्नदाताहरु प्रतिको दायित्व पूरा हुँदैन । हामी सम्म खाद्यान्न पुर्याइदिने हरेक व्यक्ति र संरचनालाई एक–एक गरेर धन्यवाद व्यक्त गर्यौं भने हामीमा कृतज्ञताको मात्रा बढ्दै जान्छ र उत्पादकहरुलाई समेत राम्रो गर्नको लागि थप प्रेरणा मिल्छ । यस्तो भावले हाम्रो शरीर र मनमा रहेका बाधाअवरोधहरुलाई एक–एक गरेर शुद्धिकरण समेत गर्दै लैजान्छन् । यसले हामी आफूलाई त थप स्वस्थ र ऊर्जाशिल बनाउँछ नै । साथै हामी दिनभरमा जो–जो व्यक्तिसँग भेट्छौं, हामीले भेट्ने अन्य व्यक्तिहरु र समाजको लागि समेत केही योगदान पुर्याउन सक्छौं ।
अबको प्रयत्न यस्तो हुनुपर्छ
अहिले सम्म हामी संसारलाई बदल्ने चाहना राखिरह्यौं, त्यो चाहना कसरी पूरा हुन सक्ला भन्ने हामीले सिक्न सकेनौं । त्यो राम्रो चाहना हो । हरेक योजना र उद्धेश्य निश्चित विधि अनुसार पूरा हुँदै जान्छन् ।
हामीले संसार बदल्ने यात्रामा निस्कनु भन्दा पहिले आफूलाई बदल्न सक्नुपर्छ । त्यो बदलाव केवल विचार र दृष्टिकोणको माध्यमबाट ल्याउन सकिन्छ । आफूले आज सम्म संसारका विभिन्न वस्तुहरुलाई हेर्ने दृष्टिकोणलाई एक–एक गरेर फरक तवरले हेर्न शुरु गर्यौं भने हामी स्वतः नयाँ स्थितिमा विकसित भइसकेका हुन्छौं ।
भौतिक सम्पत्ति प्राप्तिको लागि अभ्यास
भनिन्छ नि परिस्थिति बदल्न सकिँदैन, हामीले त केवल आफ्नो मनस्थितिलाई मात्रै बदल्नु जरुरी रहन्छ । किनकि मन हाम्रो नियन्त्रणमा रहन्छ, बाह्य परिस्थिति हाम्रो नियन्त्रणमा रहँदैनन् । हामीले त आफ्नो नियन्त्रणमा भएका वस्तुमा मात्रै बदलाव ल्याउने हो, बाँकी कुरा जे हुन्छ, राम्रैको लागि हुन्छ भन्ने भाव आफूमा विकास गर्यौं भने हामी आफूलाई कहिल्यै कमजोर बन्न दिँदैनौं । जसबाट हामी सदैव सकारात्मक फ्रिक्वेन्सीमा रहिरहन सक्छौं । साथै यस्तो अभ्यासबाट आकर्षणको नियम अनुसार हामीमा खुसी, प्रेम, शान्तिको अलावा भौतिक उपलब्धि समेत एक–एक गरेर हामीतर्फ आकर्षित हुँदै जानेछन् ।
आजको अभ्यास
– केवल आजको दिन खाना खानु भन्दा पहिले हरेक किसिमका खाना (खाजा, पानी, चिया समेत) प्रति गहिरो कृतज्ञता भाव व्यक्त गरौं ।
– …….खाना प्रति म धेरै कृतज्ञ छु किनकि ………(कारण जोडौं)……
– खाना उपलब्ध गराएकोमा घरका सदस्यहरु (आमा, श्रीमती, दिदीबहिनी), होटलका साहुजी लगायतलाई विनम्र स्वरमा धन्यवाद व्यक्त गरौं ।
– यो अभ्यासलाई आज देखि सधैंको लागि निरन्तरता दिने संकल्प गरौं ।
– आफू केवल आजको १ दिन कुनै पनि चिज प्रति नकारात्मक नहुने प्रतिज्ञा गरौं ।
– जब मनमा कुनै कुराको नकारात्मक भाव आउँछ, तब त्यस भावलाई तुरुन्तै रोकेर पुनः सोचौं कि
……..(नकारात्मक विचार)…………….अवस्था हुँदाहुँदै पनि म………………..को लागि भित्रै देखि कृतज्ञ छु किनकि ……………..(कारण जोड्नुहोस्) ।
– राति सुत्ने बेलामा पुनः आजको दिनका राम्रा–राम्रा क्रियाकलापहरु मध्ये कम्तीमा १० ओटा कामहरु एक–एक गरेर स्मरण गरेर वा डायरीमा टिपोट गरेर धन्यवाद भाव सहित विश्राम लिनुहोस् ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिन यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij