२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणः साढे २७ करोडको बिगो, १२३ पीडित, २३ वटा जाहेरी

नक्कली भुटानी शरणार्थी प्रकरणः साढे २७ करोडको बिगो, १२३ पीडित, २३ वटा जाहेरी


काठमाडौँ, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज सोमबार प्रतिवेदन बुझाएको हो ।

उक्त प्रकरणमा ११३ जना पीडित रहेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । ती पीडितहरूबाट २३ वटा जाहेरी परेको छ । प्रहरीले २७ करोड ५० लाख ७४ हजार ५०० रुपैयाँ बिगो कायम गरेको अनुसन्धानमा प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले यो प्रकरणमा अभियुक्तहरूले चार खाले भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको छ ।

प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई मुख्य निर्णयकर्ता बनाएको छ ।

त्यस्तै, सानु भण्डारी र केशव दुलाललगायतले विचौलियाको भूमिका निर्वाह गरेको प्रहरीको निष्कर्ष छ । यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापाको सचिवालयले विचौलियाको संरक्षण गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, उनका छोरा निरज राई, थापापुत्र प्रतीक थापा, रायमाझीपुत्र सन्दीप रायमाझीले विचौलियाको संरक्षक गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

यसैगरी, नक्कली भुटानी बनेर अमेरिका जान चाहने व्यक्ति खोज्ने र उनीहरूबाट पैसा उठाउने भूमिकामा सागर थुलुङ राई, टंक गुरुङ, गोविन्दकुमार चौधरी, गजेन्द्र बुढाथोकी र सन्देश शर्मालगायतका व्यक्ति रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

अनुसन्धान प्रतिवेदनमा केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत भने अझै फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij