मुक्तिनाथ कृषि कम्पनी कृषकहरुको जीवनस्तरमा सुधार ल्याउने र कृषिको व्यावसायिकरणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको कम्पनी हो । बैंकिङ सेवा प्रदान गर्दै आएको मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा यस मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो । नेपालको आवश्यकता बमोजिमका विभिन्न नयाँ प्रविधिहरु नेपालमा भित्र्याएर यस कम्पनीले कृषिको गुणस्तरीयता विकास एवं उत्पादन वृद्धिमा योगदान पु¥याउँदै आइरहेको छ
।
नेपालमा घट्दो कृषि उत्पादकत्व
कुनै पनि मुलुकको विकास अवस्था कस्तो छ भन्ने सम्बन्धी यथार्थ चित्रण कृषि क्षेत्रमा अपनाइने प्रविधि एवं राज्यको कृषि नीतिले समेत बताउने गरेको पाईन्छ । नेपालमा अझै पनि कृषि कार्य परम्परागत नै रहँदै आएको छ । कृषि क्षेत्रको विकासबाट पनि सम्बन्धित काममा संलग्न कृषकहरुले राम्रो आर्थिक उपार्जन गर्न सक्छन् भने राष्ट्र धनी बन्न सक्छ । नेपाल यसै पनि कृषि प्र्रधान देशको रुपमा चिनिँदै आएको छ । यद्यपि यसको उत्पादकत्व घट्दो छ । नेपाललाई साँच्ची कृषिप्रधान देश नै बनाउनको लागि यसको दिगो विकास नीति आवश्यक छ । थोरै सङ्ख्यामा कृषकहरु उत्पादन कार्यमा संलग्न भएर पनि कसरी बढी लाभ हासिल गर्न सकिन्छ भन्ने विषय अहिलेको जल्दोबल्दो आवश्यकताको विषय बनेको छ । सोही आवश्यकता परिपुर्ति गर्ने उद्देश्यले मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रको विकासको लागि आवश्यक पर्ने नयाँ उपकरणहरु स्वदेशी बजारमा उपलब्ध गराई सहज तवरले उत्पादन वृद्धिको लागि पहल गर्दै आइरहेको छ ।
कृषि क्षेत्रको सम्मान आवश्यक
संसारका अन्य देशहरुले कृषिलाई विशेष महत्व दिँदै आएका छन् । यद्यपि नेपालमा भने कृषि क्षेत्रलाई सम्मानजनक क्षेत्रको रुपमा विकास गर्न सकिएको छैन । यस्तो अवस्थालाई विचा।र गरेर कृषिमार्फत मुलुकको समृद्धिलाई नयाँ उचाईमा पु¥याउने मान्यता सहित आफूहरुले मुक्तिनाथ कृषि कम्पनीको अवधारणा अघी सारेको कम्पनीका अध्यक्ष बताउनुहुन्छ । मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकाल लामो समय देखि बैंकिङ सेवामा जोडिँदै आउनुभएका व्यक्ति समेत हुनुहुन्छ । लामो समय खासगरी ग्रामीण क्षेत्रमा बैंकिङ सेवा बिस्तारको क्रममा ग्रामीण जनताहरुका समस्यालाई ऊहाँले नजिकबाट बुझ्नुभएको छ । ग्रामीण जनताको आर्थिक अवस्था सुधारको लागि कृषिको व्यावसायिकरण नै सबैभन्दा बढी महत्वपूर्ण कार्य रहेको महसुस गरी ढकालले बैंकिङको अलावा कृषि कार्यलाई पनि सँगसँगै अघी बढाउने मनसाय बनाउनुभएको हो ।
कृषिमा शिक्षित एवं उर्जाशिल युवा संलग्न हुनुपर्छ
नेपालमा अहिले सम्म कृषिमा अनपढ व्यक्तिहरु मात्र संलग्न हुनुपर्छ भन्ने बुझाई व्यापक छ । जुन कृषि क्षेत्र प्रति गरिएको एक किसिमको अपमान हो । यस किसिमको उपेक्षा नै नेपालमा कृषि क्षेत्रको विकासको लागि ठूलो अवरोधक तत्वको रुपमा रहँदै आएको ढकालको बुझाई छ । सोहीबमोजिम कृषि क्षेत्र प्रतिको जनताहरुको दृष्टिकोण बदल्ने आवश्यकता बमोजिम आफूहरुले मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा ल्याएको भरतराज ढकाल बताउनुहुन्छ । उहाँले भन्नुभयो ।
‘कृषि क्षेत्र प्रतिको दृष्टिकोण बदल्न सकेमात्र हामीले कृषिबाट राम्रो लाभ लिन सक्छौं । कृषि आफैंमा प्राविधिक काम हो । यसको लागि उचित मलजल, हावापानी, नियमित रेखदेख, खनजोत, गोडमेलको आवश्यक पर्छ । मौसम अनुसार उत्पादन पनि फरकफरक हुन्छन् । विभिन्न रोगव्याधि पनि मौसम र उत्पादन अनुसार फरकफरक हुन्छन् । साथै सबै मानिसहरुको प्राण धानिने आधार समेत कृषि नै रहेको हुनाले जबसम्म क्षमतावान् मानिसहरु कृषिमा संलग्न हुने परिपाटी बन्न सक्दैन । तबसम कृषिको व्यावसायिकरण सम्भव हुँदैन’ ढकालको धारणा छ ।
समग्र कृषि क्षेत्रकोे विकास सम्बन्धमा ढकालको धारणा
कृषिको व्यावसायिकरणको लागि माइण्ड, मसल (परिश्रम) र टेक्नोलोजीको कम्बिनेसन आवश्यक पर्ने गर्छ । कृषिको व्यवासायिकरणको लागि क्षमतावान् युवाहरुको संलग्नतालाई हामीले विशेष जोड दिएका छौं । खासगरी वैदेशिक रोजगारबाट फर्किएका ऊर्जाशिल युवाहरुलाई हामीले साथमा लिएर हाम्रा क्रियाकलापहरु सञ्चालन गरिरहेका छौं । वैदेशिक रोजगारबाट फर्किएका युवाहरु काममा दत्तचित्तले संलग्न हुनुपर्नेमा बुझेका हुन्छन् । काम गर्ने संस्कार र तौरतरिका सिकेका हुन्छन् । विदेशबाट फर्किएका युवाहरुले पैसा कमाउनको लागि सहज तरिका नभई उपयुक्त तरिका सिकेका हुन्छन् । सोहीकारण उनीहरु कामको लागि सहजै तयार हुन्छन् ।
कृषि क्षेत्रको सुधारको लागि सतही कार्यक्रम नभई गहिराईमा पुगेर कार्यक्रमहरु तय गर्नु जरुरी रहन्छ । सबै समस्याहरु एकैपटक समाधान नहुन सक्छन् । क्रमिक रुपमा सुधार गर्दै जानुपर्छ । अहिलेका राजनीतिक दलहरुले तयार पारेका घोषणापत्र हेर्ने हो भने सबै कार्यक्रमहरु छरपष्ट रुपमा प्रस्तुत गरिएका छन् । जसले गर्दा हामी कुनै क्षेत्रमा पनि स्पेसिफाइड (संगठित) हुन सक्दैनौं ।
परिस्थिति सँगै बदलिन सिकौं
बदलिँदो परिवेश बमोजिम हामी पनि बदलिनु जरुरी छ । अहिलेको समय विश्वव्यापीकरणको समय हो । प्रविधिको विकासले हाम्रो सिङ्गो संसार एउटा गाउँमा सीमित भएको छ । यद्यपि हाम्रो अवस्था अझै पनि सुधार हुन सकेको छैन । हाम्रो उत्पादन घटेको छ । कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान रहेको क्षेत्र कृषि नै हुँदाहुँदै पनि अहिले कृषि क्षेत्रमा जनशक्तिको अवस्था नाजुक छ । हामी आयातित वस्तुमा निर्भर बन्दै गएका छौं । हामी सुविधाभोगी बन्दै गएका छौं । जसले गर्दा आफ्ना उर्वर खेतबारी बाँझै राखेर शहरमा भाडामा बस्न हामी लालायित बन्दै गएका छौं । अहिले श्रम प्रति हाम्रो दृष्टिकोण नकारात्मक बन्दै गएको छ । कामलाई सम्मान गर्ने बानीव्यवहार परिवर्तन हुनुमा आधुनिक प्रविधिको विकास एवं विश्वव्यापीकरणको प्रभाव नै मान्न सकिएला । यद्यपि हरेक स्थितिका सकारात्मक एवं नकारात्मक दुवै पक्ष हुने गर्छन् । हामीले सकारात्मक पक्षलाई ग्रहण गर्नुपर्ने हो । तर ठ्याक्कै उल्टो भइदियो । प्रविधिको उपयोग मार्फत उत्पादकत्व बढाउनुपर्नेमा हामीले त्यसो गर्न सकेनौं । हाम्रा उत्पादनको बजारीकरणको लागि प्रविधिको प्रयोग गर्न सकेनौं ।
राष्ट्रियता हाम्रो पहिचान हो । हामीले राष्ट्रियता बचाउनुपर्छ । त्यो भन्दा महत्वपूर्ण आवश्यकता भनेको हाम्रो आर्थिक उपार्जनका आधारहरु बलियो बनाउनुपर्नेछ । हामीले अर्थतन्त्र सुधारको लागि विश्वबजारमा विकास भएका नयाँ प्रविधि र प्लान्टहरु नेपालमा भित्र्याउनु जरुरी छ ।
बजार अनुसन्धानमा जोड दिएका छौं
कुनै पेशा व्यवसाय वा काम शुरु गर्ने क्रममा बजार अनुसन्धान आवश्यक र महत्वपूर्ण रहने गर्छ । व्यवसाय गर्ने क्रममा त्यस वस्तुको बजारमा मागको अवस्था, उत्पादन लागत, मुनाफा, बजारको सुनिश्चितता, पुँजी व्यवस्थापन, कर्मचारी एवं शाखा सञ्जाल लगायत धेरै पक्षहरुमा विचार गर्नुपर्ने हुन्छ । अहिलेको समयमा कुनै ठूलो काम एक्लैले गर्न सक्ने स्थिति नरहन सक्छ । यसको लागि बलियो संगठन आवश्यक रहन्छ । सम्भावित जोखिमहरुको पूर्व आँकलन गरेर सोहीबमोजिम काम अघी बढाउन सकेको खण्डमा त्यसबाट तुलनात्मक रुपमा कम क्षति व्यहोर्नुपर्ने हुन सक्छ । यी र यस्ता धेरै कुराहरुमा विचार गरेर मुक्तिनाथ कृषि कम्पनीले क्षमतावान् ६० जना जनशक्ति मार्फत हामीले आफ्नो सञ्जाललाई बढाउँदै लगेका छौं ।
अहिले हामी आफैंले कृषि उद्यम केन्द्र समेत सञ्चालन गरेका छौं । हामीले यस कम्पनी मार्फत विभिन्न ठाउँमा स्थानीय सरकारसँग सहकार्य गरेर समेत आफ्ना गतिविधिहरु अघी बढाइरहेका छौं । कृषि उद्यम केन्द्र सञ्चालनको लागि यस कम्पनीले अलग्गै पाठ्यक्रम समेत तयार गरेको छ । जुन पाठ्यक्रममा कुन कृषिजन्य वस्तु कस्तो हावापानीमा राम्रोसँग फस्टाउन सक्छ ? त्यो वस्तु उत्पादनका चुनौतीहरु के हुन् भन्ने सम्बन्धमा प्रशिक्षार्थीले शुरुमा ३ महिना कृषि उद्यम केन्द्रमा रहेर सिकेपश्चात् मात्र आफू व्यावसायिक रुपमा कृषिमा संलग्न हुने परिस्थिति यस कम्पनी मार्फत हामीले तयार गरिदिएका छौं ।
व्यावसायिक कृषिको लागि जग्गा व्यवस्थापन
अहिले नेपालमा कृषिमा व्यावसायिक रुपले संलग्न हुनको लागि सबैभन्दा पहिले जग्गा व्यवस्थापन नै आवश्यक हुने गर्छ । व्यावसायिक रुपमा कृषिमा संलग्न हुने हो भने कम्तीमा ५ रोपनी जग्गा आवश्यक पर्छ । हामीसँगको सहकार्य मार्फत कृषिमा काम गर्न इच्छुक कृषक आफैंले आफ्नो लागि जग्गा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहन्छ । यस कार्यमा स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने हुन्छ ।
लागत अनुमानमा सफ्टवेयर सहयोगी बन्दै
अहिले व्यावसायिक तवरले कृषिमा आउन चाहने व्यक्ति बर्षमा १ वा २ सिजन मात्र कृषि उत्पादनमा संलग्न हुने मानसिकतामा रहनुहुँदैन । निरन्तर कुनै न कुनै उत्पादनमा आफू क्रियाशिल रहन मानसिक रुपमा तयार हुनुपर्छ । यदि तयार छ भने कृषकले कृषि अन्तरगत आफूले कुन वस्तु उत्पादन गर्ने हो भन्ने सम्बन्धमा पनि योजना बनाउनुपर्छ । मानसिक रुपले तयार भएका र कृषि उद्यम केन्द्रमा रहेर कम्तीमा ३ महिना प्रशिक्षण लिएका व्यक्तिले काम गर्न चाहेको क्षेत्र (तरकारीखेती, पशुपालन, घाँस, बिउविजन, जडिबुटी लगायत)मा काम गर्ने क्रममा कस्तो हावापानीमा कति लागतमा कति रकम बराबरको उत्पादन तयार हुन सक्छ भन्ने मोटामोटी अनुमान गर्नको लागि हामी (मुक्तिनाथ कृषि कम्पनी)ले सफ्टवेयर नै तयार गरेका छौं । जुन कृषकलाई निर्णय लिनको लागि निकै सजिलो माध्यम बनेको छ ।
मुक्तिनाथ कृषि कम्पनीका कार्यक्रमहरु
मुक्तिनाथ कृषि कम्पनीले ‘एक स्थानीय निकाय ः एक कृषि परियोजना’ कार्यक्रम अघी सारेको छ । यस कार्यक्रमको उद्देश्य हरेक स्थानीय तहमा कृषिको व्यावसायिकरण गर्ने रहेको छ । यसलाई सार्थक बनाउन सम्भव रहेसम्म आफैं र सम्भव नरहने अवस्थामा स्थानीय सरकार एवं अन्य निजी कम्पनीहरुको सहकार्यमा त्यो आकाङ्क्षा पूरा गर्न कम्पनी प्रतिबद्ध छ ।
हाम्रा कार्यक्रमहरुमा उन्नत बिऊ उत्पादन परियोजना, हाइब्रिड बिऊ उत्पादन परियोजना, प्राङ्गारिक मल उत्पादन परियोजना, व्यावसायिक बाली, कृषि स्रोत केन्द्र स्थापना, व्यावसायिक पशुपालन, कृषि मार्केट, नमुना कृषि गाउँ, फलफूल तथा नर्सरी उत्पादन, तरकारी खेती, जडिबुटी उत्पादन, हाते कृषि सामाग्री, कृषि व्यवस्थापन परियोजना लगायत रहेका छन् ।
कृषिबाट राम्रो लाभ
अहिले नेपालमा खेती भइरहेका जग्गाहरुमा बाह्रै महिना खेती हुन सकेको छैन । थोरै जग्गामा मात्र नेपालमा नियमित उत्पादन भइरहेको छ । नेपालमा राम्रो तवरले खेती हुन सकेको खण्डमा नेपालमा भित्रने रेमिट्यान्स रकम बराबरको मुनाफा हामीले नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुको प्रयोग र निर्यातबाट नै प्राप्त गर्न सकिन्छ ।
कृषि क्षेत्रका अहिलेका समस्या र समाधानका उपाय
अहिले सम्म नेपालमा कृषकले राम्रो सामान उत्पादन गर्न सकेका छैनन् । उत्पादनमा गुणस्तरको ग्यारेन्टी हुन सकेको छैन । उत्पादक कृषकले राम्रो मूल्य पाउन सकेका छैनन् । बजारको समस्या छ । यस्तो अवस्थामा उत्पादन एवं वितरणको लागि संस्थागत पहल आवश्यक भएको हामीले बुझेका छौं । यस्तो अवस्थाको समाधानको लागि शहरमा स्थापना भएका सहकारीहरुलाई प्रयोगमा ल्याउनुपर्ने आवश्यकता हामीले देखेका छौं । शहरी क्षेत्रमा भएका सहकारीहरुको आफ्नै कार्यालय छ । प्रयाप्त जनशक्ति छ । ती सहकारीहरुले स्तरीय मार्ट चलाउन सक्छन् । यसबाट कोही पनि ठगिनुपर्दैन । बजारमा रहेका हरेक विकृति विसङ्गति नियन्त्रणको लागि समेत यस्तो प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
व्यवस्थित बजार प्रणालीका फाइदा बारे बताउँदै ढकाल भन्नुहुन्छ, ‘हामीले व्यवस्थित बजार सञ्चालन गर्दा आफूले उत्पादन गरेको वस्तु उपभोक्ताले कति मूल्यमा किनिरहेका छन् भन्ने उत्पादकले पनि सहजै जानकारी प्राप्त गर्न सक्छन् । साथै उपभोक्ता पनि आफू ठगिएको वा आफूले प्रयोग गर्ने वस्तु कम गुणस्तरीय भएको महसुस गर्नुपर्दैन । यसको अलावा कुन वस्तु कहाँ उत्पादन भएको हो भन्ने जानकारी समेत उपलब्ध गराउँदा आफ्नो स्थानीय क्षेत्रमा उत्पादन भएको वस्तु प्रति उपभोक्ताले अलग्गै गर्व अनुभुति गर्ने स्थिति समेत बन्न सक्छ ।
मुक्तिनाथ कृषि कम्पनीको अवस्था
अहिले मुक्तिनाथ कृषि कम्पनीले ६० जना कर्मचारी मार्फत कृषि सम्बन्धी विभिन्न कामहरु गर्दै आइरहेको छ । यस कम्पनीका कामहरुमध्ये देशभरको उत्पादन एवं बजारको मागबारे तथ्याङ्क संकलन, उत्पादित सामानको गुणस्तर सुनिश्चितता, प्रविधि (सफ्टवेयर)को विकास लगायत मुख्य छन् । हाल यस कम्पनीमा ३६ करोडको शेयर पुँजी लगानी भएको छ । कम्पनीले आगामी दिनमा पुँजी १ अर्बको लगानी पु¥याउने योजना बनाएको छ । भविष्यमा आवश्यक रहेको खण्डमा ठूलो पुँजी सहित जोइन्ट भेन्चर कम्पनीको रुपमा विदेशी कम्पनीहरुलाई पनि नेपालमा भित्र्याउन सक्ने गरी कम्पनीले आफूलाई तयार पार्दैछ । यसको अलावा मुक्तिनाथ कृषि कम्पनीले शुरुवात गरेको कार्यक्रम आगामी दिनमा थप आकर्षित हुने र यस कम्पनीले तयार पारेको इकोसिष्टमले अन्य थुप्रै व्यवस्थित कम्पनीहरुलाई पनि कृषि क्षेत्रमा काम गर्नको लागि आकर्षित गर्ने विश्वास लिन सकिन्छ ।
कम्पनीको सबैभन्दा महत्वपूर्ण पहल भनेको कृषिबाट ठूलो पैसा कमाई गर्न सकिने स्थिति नेपालमा नै सृजना हुन सकेको खण्डमा भविष्यमा नेपाली युवाहरु नेपालमा नै बसेर कृषिमा काम गरेर गौरव महसुस गर्ने स्थिति सृजना गर्न सकिन्छ भन्ने नै रहेको बुझ्न सकिन्छ ।
फार्म सञ्चालन मुक्तिनाथ कृषिको उद्देश्य होइन
अहिले कतिपय व्यक्तिहरुले मुक्तिनाथ कृषि कम्पनी आफैं पनि फार्म सञ्चालनमा संलग्न छ त ? भनेर प्रश्न पनि गर्नुहुन्छ । अब सबैले बुझ्नुपर्छ कि हाम्रो उद्देश्य फार्म सञ्चालन हुनेछैन । हामी आफैंले फार्म सञ्चालन गरेर ठूलो योगदान दिन सक्दैनौं । हामीले सम्पूर्ण कृषि क्षेत्रको व्यवस्थापनको लागि उचित प्लेटफर्म तयार गरिरहेका छौं । जुन काम कृषकले गर्न सक्दैनन्, त्यो काम हामीले गर्ने हो । हामी काठमाडौंमा बसेर गाउँका जग्गा किनेर फार्म चलाउँदा उत्पादन लागत उच्च पर्न जान्छ । मूल्य प्रतिष्पर्धी हुन नसक्ला । कर्मचारी राख्दा उत्पादनबाट धानिने स्थिति सृजना नहुन सक्छ । यस्तो स्थितिमा स्थानीय कृषकलाई नै परिचालन गरेर त्यस उत्पादनको बजारीकरण कम्पनी आफैंले गरी हरेक सिजनको अन्त्यमा निश्चित रकम कृषकले प्राप्त गर्ने पूर्वसहमति सहित मुक्तिनाथ कृषि कम्पनीले काम गर्दै आएको छ । उत्पादनको क्रममा आवश्यक प्राविधिक सेवा भने कम्पनीले नै उपलब्ध गराउँदै आएको छ ।
अन्त्यमा
कृषिको व्यावसायिकरण कार्य एक्लै सम्भव हुन सक्दैन । नेपाल सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा बैंक र वीमाको योगदान कुल ग्राहस्थ उत्पादनमा केवल ६ प्रतिशत रहेको छ । जुन संस्थागत संरचना विकास भएका क्षेत्रहरु हुन् । औपचारिक रुपमा खरर्बौं पुँजी लगानी भएको रुपमा विमा र बैंक नै रहँदै आएका छन् । यद्यपि कृषि क्षेत्र अझै पनि औपचारिक बन्न सकेको छैन । यद्यपि यस क्षेत्रमा पनि ठूलो लगानी त भएको छ । यद्यपि कति लगानी भएको छ भन्ने स्पष्ट तथ्याङ्क छैन । कृषिको जिडिपीमा महत्वपूर्ण योगदान छ । ठूलो परिमाणमा रोजगारी सृजना गरेका छ । यद्यपि अनौपचारिक रुपमा नै सञ्चालन हुँदै आएको कृषि क्षेत्रलाई व्यवस्थित गर्दै लैजानुपर्ने जरुरी छ । नेपाल सरकारले कृषिको नियमन र व्यवस्थापनको लागि नियमनकारी निकाय स्थापना गर्नु जरुरी बनेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij