२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

बजारको माग बमोजिम पृथक उत्पादनहरु पस्कने सामर्थ्य हामी राख्छौंः उद्यमी ढुंगाना

बजारको माग बमोजिम पृथक उत्पादनहरु पस्कने सामर्थ्य हामी राख्छौंः उद्यमी ढुंगाना

दुर्गा प्रसाद ढुंगाना, युवा उद्यमी

 

ताप्लेजुङका दुर्गा प्रसाद ढुंगाना एक जागरुक उद्यमी हुन् । पाथिभरा कोशेली घर एवं ताप्लेजुङ डेरीका सञ्चालक रहेका ढुंगाना बहुआयामिक प्रतिभाशालि व्यक्ति हुन् । उनले आफ्ना व्यवसाय केही क्षेत्रमा मात्रै सीमित राखेका छैनन् । कपडा उत्पादन, कृषि लगायतका विभिन्न क्षेत्रमा उनले लगानी विस्तार गरेका छन् । त्यसो त डेरी एसोसिएसन ताप्लेजुङका अध्यक्ष समेत हुन् । यसपटक घरेलु तथा साना उद्योग महासंघले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको मेलामा आफ्नो स्टल राखेका ढुंगानाको स्टल पृथक उत्पादनकै कारण अधिकांश अवलोकनकर्ताको लागि आकर्षणको केन्द्र बन्ने गरेको छ ।

खासगरी बाँस लगायतमा आधारित विभिन्न किसिमका आकर्षक सामानहरु निर्माण गर्न सिपालु ढुंगानाको सीपमा आधारित वस्तुहरु हेर्दा नै लाग्छ कि एउटा व्यक्तिले चाह्यो भने असाधारण प्रतिभाशालि बनाउन सकिँदोरहेछ । यद्यपि हामी अधिकांश भने आफू भित्रको असाधारण क्षमतालाई जागृत गराउन तत्पर नै रहँदैनौं । जो तुलनात्मक रुपमा बढी सक्रिय एवं रचनात्मक क्रियाकलापमा बढी चासो राख्ने स्वभावका हुन्छन्, उनीहरुले बिस्तारै आफूभित्रको क्षमतालाई माथि उठाउँदै जान सक्दा रहेछन् । पाथिभरा कोशेली घरमा भएका उत्पादनहरु हेर्दा तुरुन्तै उक्त स्पट छोड्न मनले मान्दैन ।

आफूभित्रको रचनात्मक क्षमतालाई विकास गरेर साधारण बाँसलाई असाधारण कलात्मक वस्तुमा बदल्ने सामथ्र्य राख्ने ढुंगाना आफंैंमा बहुआयामिक क्षमता भएका व्यक्ति हुन् ।

आफ्नी श्रीमती विष्णु श्रेष्ठको नाममा रहेको कोशेली घरमा पुग्दा लाग्छ नेपाली मौलिक स्थानीय कोशेलीजन्य उत्पादनको लागि अन्य कतै जानुपर्दैन । उसो त आफ्नो स्टलका सामानहरुका डिजाइनर ढुंगाना आफैं हुन् । उनले ताप्लेजुङका अन्य कृषक तथा उत्पादकहरुलाई समेत आफ्नो आवश्यकता बमोजिमका सामान उत्पादनमा संलग्न बनाई ती उत्पादित सामानहरुको उचित मूल्यमा आफैंले बजारीकरण समेत गर्दै आइरहेका छन् ।

ढुंगानाले बजारमा नयाँ कुन उत्पादन प्रति युवाहरुको झुकाव बढ्दै गइरहेको छ भन्ने कुरालाई विचार गर्दै आफ्ना सानानहरुमा पनि विविधिकरण गर्दै लैजान्छन् । पछिल्ला दिनहरुमा विदेशमा नयाँ विकास भएका नयाँ मोडलका मोटरसाइकलहरु विदेशमा रहेका परिचित व्यक्तिहरुलाई फोटो पठाउन लगाई आफूले हेर्दा ठ्याक्कै डिजाइनमा वास्तविक उत्पादनकै झल्को दिने गरी उनले उत्पादन गर्दै आएका छन् ।

बाँसबाट निर्मित देख्दा आकर्षक साथै लेख्न र गिफ्ट दिनको लागि अत्यन्तै उपयुक्त कलम देखि घडी, फ्रेम, ऐना, मोटरसाइकल र अन्तर्राष्ट्रिय चर्चित टावर सम्मका सामानहरु राखेका ढुंगाना बजारको माग बमोजिमका नयाँ नयाँ उत्पादन तयार गर्न सिपालु भएकैले प्रतिष्पर्धी बजारमा आफूलाई सफल बनाएका हुन् । नेपालमा उत्पादन सम्भव रहेसम्म सबैजसो सामान उत्पादन आफैंले गर्ने सोचले नै उनलाई आम व्यवसायी भन्दा पृथक बनाएको हो । आगामी दिनमा उनी दुवई र मलेसियाका टावरहरु निर्माण गर्ने योजनामा छन् । पेरिसको टावर निर्माण गरेर त्यसलाई उनले प्रदर्शनीमा राखिसकेका छन् ।

अल्लोका कपडा देखि डेरी सम्मका विभिन्न व्यवसायमा गरी उनको करोडौंको रकम लगानी भएको छ । ढुंगानाले आफ्नो डेरीबाट छुर्पी उत्पादन गर्दै आएका छन् । यसैगरी उनले डिपिडि गाई फार्म पनि सञ्चालन गरेका छन् । सोही बमोजिम व्यवसायबाट उनले लाभ समेत लिन सकेका छन् ।

ताप्लेजुङमा सबैभन्दा पहिले आफूहरुले नै ताप्लेजुङ डेरी सञ्चालनमा ल्याएको ढुंगाना दाबी गर्छन् । बाँसका सामान निर्माणको अलावा उनी अन्य विभिन्न काष्ठजन्य दैनिक उपयोगी सामानहरु निर्माणमा पनि संलग्न रहँदै आएका छन् । हाल उनले काठ (दार)का ठेकीहरु उत्पादन तथा बजारीकरण समेत गरिरहेका छन् ।

अरुभन्दा पृथक तवरले काम गर्ने सोच र महत्वाकांक्षाले नै आफूलाई अग्रणी व्यवसायी बनाएको उनको धारणा छ ।

ढुंगाना आफूसँग भिरमौरीको मह, स्थानीय अण्डा, दूध, विभिन्न कलाजन्य उत्पादन, अल्लोका कपडा, ढाका कपडा लगायतका सबैजसो सामान उपलब्ध रहने दावी गर्छन् । यी विभिन्न सामान उत्पादनको लागि उनले ताप्लेजुङमा झण्डै १ सय ६० रोपनी बराबरको जग्गा उपयोगमा ल्याएका छन् । उनी युवा तथा महिलाहरुलाई विभिन्न अभिमुखीकरण तालिम समेत सञ्चालन गर्दै आएका सफल एवं जागरुक उद्यमी हुन् ।

व्यवसायमा सफल हुनको लागि बजारको आवश्यकता बुझ्न सक्नुपर्ने र पृथक तवरको उत्कृष्ट सेवा दिनुपर्ने कुरामा ढुंगाना प्रतिबद्ध छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij