२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

समयमै पारिश्रमिक दिन बीमा सर्भेयरको माग

समयमै पारिश्रमिक दिन बीमा सर्भेयरको माग

काठमाडौं । बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले समयमै पारिश्रमिक नदिएको गुनासो गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको बीरगञ्जस्थित प्रदेश कार्यालयको आयोजनामा बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया कार्यक्रम बोल्दै सर्भेयरहरुले उक्त गुनासो व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागी बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले बीमा गराउँदा बीमितलाई बीमालेखका बारेमा राम्रोसँग जानकारी दिनुपर्ने, सर्भेयरलाई क्षेत्र छुट्याएर काम दिने व्यवस्था गर्नुपर्ने, बीमितलाई समयमै बीमा दाबी भुक्तानी गर्नुपर्ने, क्षति भएको जानकारी पाउनासाथ सर्भेयरलाई खटाउनुपर्ने, सर्भेयरले दिएको अनलाइन रिपोर्टलाई मान्यता दिनुपर्ने, सर्भेयरका लागि तालिमको व्यवस्था गर्नुपर्ने र सर्भेयरलाई समयमा नै पारिश्रमिक दिनुपर्ने लगायतका धारणा राखेका थिए ।

बीमा सर्भेयर सुनिल जोशीले सर्भेयर पेशालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि बीमकले सर्भेयरप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने तथा समयमानै सर्भेयरलाई पारश्रमिक दिनुपर्ने बताए ।

बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेले बीमक, बीमा सर्भेयर र बीमितबीचको सुमधुर सम्बन्धबाट नै बीमाप्रतिको विश्वास बढ्दै जाने विचार राखे ।

नेपाल बीमा प्राधिकरणको बीरगञ्ज प्रदेश कार्यालयकी प्रमुख कुसुम शर्माले बीमा सर्भेयरले आफ्नो पेशालाई मर्यादित र व्यवस्थित बनाउँदै लैजानुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन समयमा नै उपलब्ध गराउनुपर्ने बताइन् ।

सो कार्यक्रम बीमा सर्भेयरको कामलाई छिटोछरितो बनाउने तथा सर्भेयरका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक कालीकान्त झा र बीमा सर्भेयरहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij