२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मुलुकको बढ्दो वेथितिले राजनीतिमा आउन बाध्य बनायोः उम्मेदवार महर्जन

मुलुकको बढ्दो वेथितिले राजनीतिमा आउन बाध्य बनायोः उम्मेदवार महर्जन

बुद्ध रत्न महर्जन, प्रतिनिधिसभा उम्मेदवार, ललितपुर क्षेत्र नम्बर २, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । विगत ३ दशक पहिले देखि कलाकारिता क्षेत्रमा संलग्न रहँदै आएका बुद्ध रत्न महर्जन नेपालमा बढ्दै गएको विकृति, विसङ्गति र अनियमितता प्रति असन्तुष्ट बनेका पात्र हुन् । राष्ट्रिय कलाकारको रुपमा पहिचान समेत बनाइसकेका महर्जन विगत २ दशक देखि उद्योग व्यवसायमा समेत जोडिँदै आएका छन् ।

वि.सं २०५४ मा आयोजना गरिएको नेपाल टप प्रोग्राममा प्रथम स्थान हासिल गरेर चर्चामा आएका महर्जनलाई विगतमा आफू कुनै दिन राजनीतिमा संलग्न हुन पुगुँला जस्तो लाग्दैनथ्यो । यद्यपि समयक्रममा मुलुकको अवस्था दयनीय बन्दै गएको स्थितिलाई नजिकबाट नियालिरहेका महर्जनलाई आफू जस्ता केही राष्ट्र प्रेम भएका व्यक्तिहरु राजनीतिमा आउनुपर्छ भन्ने हुटहुटीले आन्तरिक रुपमा पिरोलिरह्यो । यद्यपि परिस्थिति आफूलाई राजनीतिमा आउन सहज बनिसकेको थिएन । पछिल्लो समय रवि लामिछानेले मुलुकका स्वतन्त्र जागरुक व्यक्तिहरु एकत्रित गराई नयाँ पार्टी स्थापना गर्ने सोचाईसँगै महर्जन पनि सोही अभियानमा जोडिन पुगे ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ललितपुरको क्षेत्र नम्बर २ बाट घण्टी चुनाव चिन्ह मार्फत उम्मेदवारी दिएका महर्जन मुलुकमा सुशासनको अनुभुति गराउनको लागि आफूले उम्मेदवारी दिएको बताउँछन् ।

नयाँ दल भएको र संगठन राम्रोसँग बिस्तार हुन नसकेको वर्तमान परिवेशमा पनि जनताहरुको साथ र समर्थनले आफूहरुलाई निरन्तर रुपमा अघी बढ्न ठूलो हौसला मिलेको महर्जनको अनुभव छ ।

राष्ट्र प्रेमकै कारण आफूले नेपाल छोड्न नसकेका महर्जनले निर्वाचित प्रतिनिधिहरुबाटै राज्य कोष दोहन हुँदै आएको स्थिति प्रति आफू आगो बनेर प्रतिकार गर्ने गरी आफूलाई तयार पारिरहेका छन् । आफू निर्वाचित प्रतिनिधि बनिसकेपछि पनि राज्यबाट कुनै सेवासुविधा नै नलिने मनस्थिति बनाएका महर्जनले राज्यबाट आफूले पाउने तलबभत्ता विभिन्न सामाजिक गतिविधिहरुमा प्रयोगमा ल्याउने छन् । सही अर्थमा मुलुकलाई उचित ट्रयाकमा हिँडाउने पाठ स्थापित कहलिएका राजनीतिक दलहरुलाई समेत सिकाउन र मुलुकलाई व्यवस्थित प्रणालीमा हिँडाउनको लागि आफ्नो उम्मेदवारी निकै महत्वपूर्ण हुने महर्जनको धारणा छ ।

महर्जन हात्तिगौंडा स्थित कान्तिपुर मेटल एण्ड इन्जिनियरिङ वर्कसपका सञ्चालक समेत हुन् ।

महर्जन भन्छन्, ‘राजनीतिमा आउनु मेरो रहर होइन, बाध्यता हो । म कुनै कुराको लाभ वा अपेक्षा गरेर राजनीतिमा आएको होइन । मेरो लागि व्यक्तिगत रुपमा केही कुराको अभाव छैन । यद्यपि मुलुकको परिस्थितिले म आफूलाई आत्म सन्तुष्टि प्राप्त हुन नसकेको कारण नयाँ शक्तिको रुपमा उदाउँदै गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मार्फत म चुनावी मैदानमा होमिन पुगेको हुँ ।’

आफूहरुले घरदैलोको क्रममा नयाँ शक्ति हुँदाहुँदै पनि पुराना र शक्तिशाली भनिने राजनीतिक दलहरु नयाँ एवं स्वतन्त्र व्यक्तिहरु समेटिएको आफूहरुको दल प्रति ससङ्कित भइरहेको स्थिति छ । यो अवस्था आउनु आफैंमा ठूलो उपलब्धि भएको महर्जनको धारणा छ ।

आफूले बाटोघाटो, स्वास्थ्य, खानेपानीको सहजीकरण, क्षमता अनुसारको रोजगारीको उपलब्धता लगायतमा गुणस्तरीय विकासको लागि आफूले महत्वपूर्ण महल गर्ने महर्जन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij