२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अबको विकास मोडालिटी, सम्भावना क्षेत्र र युवा व्यवस्थापन

अबको विकास मोडालिटी, सम्भावना क्षेत्र र युवा व्यवस्थापन

राजन सिंखडा, युवा पर्यटन उद्यमी

लकडाउनले नेपालका आर्थिक क्रियाकलापहरु निकै नराम्रोसँग प्रभावित भएका छन् । लकडाउनको कारण करिब ५ सय अर्ब रकम बराबरको नोक्सानी हामीले व्यहोर्नुपरेको छ । हाम्रा अर्थमन्त्रीले नै अर्थतन्त्र गम्भीर खतरामा पर्न सक्ने बताउँदै खर्च करिब ४० अर्ब रहेको तर आम्दानी भने केवल १५ अर्बमा मात्र सीमित रहेको तथ्य सार्वजनिक गरिसक्नुभएको छ । जसलाई हेर्दा विकास गतिविधिहरु नेपालमा तत्काल सुचारु हुन सक्ने अवस्था समेत देखिँदैन ।

देशकै अवस्था यस्तो नाजुक रहँदा त्यसको प्रभाव निजी व्यवसायीमा पर्नु अस्वभाविक हुनै सक्दैन । नेपालमा अहिलेको अवस्थामा कोरोनाको कारण आह्वान गरिएको लकडाउनको सबैभन्दा बढी मारमा पर्यटन क्षेत्र नै छ । यस क्षेत्रमा अहिले सम्म कुनै पनि आर्थिक क्रियाकलापहरु सञ्चालन हुन सकेका छैनन् । केही चार्टड उडानहरु भएपनि त्यसबाट ट्रेकिङ एजेन्सी लाभान्वित हुन सक्दैनन् । हवाई सेवा बन्द गरिएको छ । लकडाउन आन्तरिक बजारमा केही खुकुलो बनेको भएपनि यसबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने अवस्था छैन । हवाई सेवा सुचारु नभएको कारण नेपालमा विदेशी पर्यटक आउन सक्ने कुनै सम्भावना नै छैन । यस सङ्कटको कारण तहसनहस बनेको समग्र अर्थतन्त्र नेपालमा पुनः गतिमा आउन अझै कम्तीमा डेढ बर्ष लाग्ने मैले देखेको छु । पर्यटन क्षेत्रकै कुरा गर्ने हो भने त पहिलेको गति लिन कम्तीमा ५ बर्ष लाग्ने मैले देखेको छु ।

यस्तो अवस्थामा कोरोना सङ्कटसँगै केही नयाँ अवसरहरु पनि सृजना हुने अवस्था समेत देखिएको छ ।

अबका अवसरहरु 
खासगरी नेपालमा कृषि क्रान्तिको लागि यो सङ्कटले उपयुक्त माहोल तयार गर्न पुर्याउँछ भन्नेमा म आशावादी छु । अहिले कामको लागि विदेशिएका नेपालीहरु स्वदेश फर्किने र शहरी क्षेत्रमा आई विभिन्न पेशामा संलग्न मानिसहरु समेत ग्रामीण क्षेत्रमा फर्किएको र फर्किंदै गरेको अवस्था छ । उनीहरुलाई कृषि कार्यमा संलग्न गराउन सकेको खण्डमा नेपालमा बर्षेनी ठूलो परिमाणमा भित्रिने मकै, तरकारी, चामल, माछामासु, फूल, दूधजन्य उत्पादन लगायतलाई न्यूनीकरण गर्दै लैजान सकिन्छ ।

बाँझो जमीनको उपयोग र बहुबाली खेती आवश्यकः
एकातिर अहिले नेपालका ग्रामीण क्षेत्रका खेतबारीहरु अधिकांश बाँझै छन् । सिँचाईको अभावमा प्रयाप्त अन्नबाली उत्पादन गर्न सकिएको छैन । ३-४ बाली खेती गर्न सकिने क्षेत्रहरु अहिले १ वा २ बालीमै सीमित भएका छन् । यस्तो अवस्थामा नेपाल सरकारले उपयुक्त कदम चालेर कृषकहरुलाई बहुबाली उत्पादन तर्फ आकर्षित गर्ने हो भने यसबाट एकातिर हाम्रो परनिर्भरता घट्दै जान्छ । कृषि सामान आयातको लागि विदेशिने ठूलो रकम नेपालमा नै रोकिन सक्छ । साथै हामी स्वस्थ समेत बन्न सक्छौं ।

नेपालमा नै हामीले खाद्यान्न उत्पादन गर्दा त्यसको शुद्धता के–कस्तो छ भन्ने सम्बन्धमा हामी स्वयं नै जानकार हुन सक्छौं । नेपालमा भारतबाट खाद्यान्न आयात गर्ने क्रममा बिषको मात्रा समेत परीक्षण गर्न नसकिएको अवस्था छ । नेपाल मुख्यतः कृषिप्रधान देश नै हो । यद्यपि अहिले हामी कृषिमा परनिर्भर बन्दै गएको अवस्थामा पुनः अब कसरी कृषिमा युवाहरुको आकर्षण बढाउन सकिन्छ भन्ने भन्ने ठूलो चुनौती पनि छ ।

प्रकृतिसँग एकाकार हुने अवसर
नेपाल परापूर्व काल देखि नै तपोभूमि, योगभूमि र सिद्धभूमिको रुपमा चर्चित रहँदै आएको देश हो । यद्यपि पछिल्लो समय भने हामी भौतिकवादी बन्दै गएका छौं । हरेक कुरामा स्वार्थ मात्रै हेर्ने प्रचलन बढेको छ । सत्य र नैतिकता धरापमा छ । प्रकृतिलाई बढी दोहन गर्दै भौतिक उपलब्धिमा रमाइरहेको पुस्ताहरुको विचारलाई नयाँ तवरले सोच्न बाध्य गराएको छ । अर्थात भौतिक उपलब्धि नै सर्वस्व रहेनछ भन्ने हामीले बुझेका छौं । जसले गर्दा प्रकृति र भौतिक उपलब्धि बीच समदूरी कायम गर्दै हाम्रा विकास गतिविधिहरु सञ्चालन गर्नु आवश्यक रहने पाठ यस सङ्कटले सिकाएको छ । अबका दिनमा लागि योग, ध्यान, प्रणायाम तर्फ युवा पुस्ताको समेत आकर्षण बढ्न सक्ने देखिएको छ । साथै डिप्रेसन र वेचैनीबाट बचाउँदै आत्मबल र प्रतिरक्षात्मक क्षमता बढाउन यी उपायहरु बढी प्रभावकारी हुन सक्ने मेरो बुझाई छ । अहिलेको आवश्यकता भनेको जटिल परिस्थितिमा पनि कसरी तनावविहीन भई खुसी र शान्ति प्राप्त गर्न सकिन्छ भन्ने नै हामी सबैको लागि चासोको विषय बनेको छ ।

उपलब्ध स्रोतको उच्चतम प्रयोगः
आगामी दिनहरुमा हामीले हाम्रो सोचाईमा केही परिवर्तन गर्नु जरुरी छ । छिटो र राम्रो लाभ लिन सकिने प्राकृतिक वस्तुहरुको पहिचान गरेर पनि त्यस दिशामा हामीले काम गर्न सकिने मैले देखेको छु । यसको लागि नेपालमा प्राकृतिक रुपमा उपलब्ध हुने जडिबुटीहरुको खेती गर्ने नीति बनाई सोहीबमोजिम काम गर्न सकिन्छ । यसबाट हामीसँग उपलब्ध स्रोतसाधनलाई साधारण प्रशोधन गरेर समेत बढी लाभ लिन सकिने अवस्था सृजना हुन सक्छ । साथै यसबाट ठूलो परिमाणमा स्थानीय स्तरमा नै रोजगारी समेत सृजना गर्न सकिन्छ ।

राज्यले यस किसिमका क्रियाकलापमा संलग्न हुन चाहने व्यक्तिहरुलाई प्रोत्साहित गर्ने र उपयुक्त वातावरण बनाउन पहल गरिदिने हो भने नेपालमा हाम्रो ध्यान जान नसकेका ग्रामीण स्तरका खेर गइरहेका थुप्रै प्राकृतिक वस्तुहरु प्रशोधन गरी हामीले लाभ लिन सक्छौं । यसबाट विदेशी मुद्रा आर्जनमा पनि हामीलाई ठूलो सहयोग पुग्न सक्छ ।
लाभ लिन के गर्नुपर्छ ?

हामीले हाम्रो बुद्धि र लगानीकर्ताको सोच बीचको तालमेल मिलाउँदै काम गर्ने नयाँ तौरतरिका पहिचान गर्न सक्यौं भने लगानीको तुलनामा उच्च मुनाफा हासिल गर्न सकिने थुप्रै क्षेत्रहरु पहिचान गर्न सक्छौं । यद्यपि अहिलेको अवस्थामा एउटा क्षेत्रमा संलग्न रहेको मानिस नयाँ क्षेत्रमा आवद्ध हुन तत्काल आकर्षित हुन्छ वा हुँदैन भन्ने प्रश्न पनि आउन सक्छ । जुन स्वभाविक हो ।

हामीले यो पनि बुझ्नुपर्छ कि कहिलेकाहीँ क्रमभङ्गताबाट पनि राम्र्रो अवसर सृजना हुन सक्छ । अहिलेको समयमा हामी नियमित संलग्न रहने क्षेत्रबाट क्रमभङ्ग भएको अवस्थामा छौं । तत्काल विगतमा संलग्न पर्यटन लगायतका क्षेत्रले गति लिने अवस्था नै छैन । यस्तो अवस्थामा २ ओटा विकल्प मध्ये एउटा रोज्नैपर्छ ।

क) यही क्षेत्रको अवस्था सुधार हुनेमा आशावादी हुँदै २-५ बर्ष कुर्ने
ख) केही जोखिम नै लिएर नयाँ क्षेत्रमा संलग्न हुने ?

नयाँ क्षेत्रमा संलग्न हुँदा हामी आफैंले नयाँ अवसर देखेर संलग्न हुन्छौं वा जनमत जता छ, त्यतै संलग्न हुन्छौं ? भन्ने कुराले पनि हाम्रो प्रगतिस्तर निर्धारित हुन सक्छ । कृषि क्षेत्रमा नै संलग्न हुने हो भने त्यसको लागि हाम्रो पूर्वाधारले कति धान्न सक्ने अवस्था छ ? कृषिको व्यावसायिकरण गर्ने क्रममा कस्ता समस्या सामना गर्नुपर्ने हुन्छ ? जस्ता पनि कुराहरुमा विचार गर्नुपर्ने हुन्छ ।

सबै युुवा स्वदेशमै उद्यम गर्न तयार नहुन सक्छन्ः
वैदेशिक रोजगारबाट सामान्यतः १५-२० लाख मानिसहरु नेपालमा फर्किन्छन् भन्ने हामीले प्रारम्भिक अनुमान गरेका भएपनि अहिलेको परिस्थितिमा त्यति धेरै युवाहरु नेपाल नफर्किने देखिएको छ । नेपालमा आएपछि ती युवाहरुलाई कसरी व्यवस्थापन गर्र्ने भन्ने पनि रहन्छ । विदेशी भूमिमा रहँदा नै मानसिक रुपमा तयार भई नेपालमा आएपश्चात् के गर्ने भन्ने योजना बनाएका व्यक्तिहरु नेपालमा आएपछि सोचेबमोजिमको क्षेत्रमा सजिलै संलग्न हुन सक्छन् । उनीहरुको सोच सम्बोधन हुनेगरी राज्यले आवश्यक तालिम, पुँजी व्यवस्थापन लगायत कार्य गरे पुग्छ । तर सोहीबमोजिम राज्य उनीहरुलाई सहयोग गर्न तयार छ त ? सबल पनि छ त ? भन्ने कुरा पनि जोडिएर आउँछन् । सबै कुराको तालमेल नमिले वैदेशिक रोजगारीबाट नेपाल फर्कने युवाहरुको लागि नेपाल बसाईं फेरी पनि दीर्घकालिन समाधान नहुन सक्छ ।

राज्यको सहयोग मिले मुलुक आत्मनिर्भर बन्न सक्छः
नेपालीहरुलाई नेपालमा नै लामो समय राख्ने र सम्भावना रहेका क्षेत्रमा उनीहरुलाई संलग्न गराउन सक्ने हो भने नेपालमा दीर्घकालिन रुपमा देशलाई आत्मनिर्भर बनाउन अहिलेको संकटले निकै नै सहयोग पुग्नेछ । बुझ्नुपर्छ कि हामीले जहाँ बढी बौद्धिकता र श्रम खर्च गर्छौंं, हामी त्यहीँ नै सफल हुन सकिन्छ ।

सरकारले के गर्नुपर्छ ?
नेपाल सरकारले विदेशबाट फर्किएका नेपालीहरुको तथ्याङ्क सङ्कलन गरी उनीहरुको चाहना बुझेर सोही बमोजिम व्यवस्थापन गर्नु जरुरी छ । यदि उनीहरु उद्यमी बन्न चाहन्छन् भने आवश्यक ऋण उपलब्ध गराउन, प्रविधि भित्र्याउन, जग्गा व्यवस्था गरिदिन, सहज रुपमा प्रक्रिया मिलाउने कार्यमा सहयोग लगायत कार्य गर्नु जरुरी रहन्छ । जसरी नेपाल सरकारले सहज रुपमा युवाहरुको व्यवस्थापन गर्न सक्छ, त्यसरी नै हामी पनि दिगो रुपमा बलियो र आत्मनिर्भर बन्न सक्छौं । होइन भने समाजमा यस संकटसँगै विभिन्न विकृति, विसङ्गतिहरु समाजमा समाज अझ दुषित समेत बन्न सक्छ । यसमा समयमा नै विचार गर्नुपर्छ ।

नेपालका अबका सम्भावनाहरु
१. कृषि
२. प्रविधि
३. प्राकृतिक चिकित्सा एवं जडिबुटी
४. स्वास्थ्य

तत्कालको लागि पर्यटन, होटल-रेष्टुरेन्ट, चलचित्र लगायतका क्षेत्रहरु सञ्चालन गर्न निकै चुनौतीपूर्ण छ ।

कृषिको व्यावसायिकरणः
अहिले सम्म निर्वाहमुखी रहेको हाम्रो कृषिलाई व्यावसायिकरण गर्दै भ्यालु एडेड गरेर विक्री गर्नुपर्ने आवश्यकता हाम्रो बनेको छ । त्यसकारण अब कृषि पनि उद्योग बन्न सक्नुपर्छ । साथै नेपालमा कृषि क्षेत्रमा केही कर्पोरेट कम्पनीहरु संलग्न हुन सक्ने देखिएको छ । यस्ता कम्पनीहरुको मुख्य उद्देश्य मुनाफा नै हुने गर्छ । जुन अस्वभाविक होइन । तर त्यस आकर्षणको पछाडि उनीहरुको चाहना मुनाफा मात्रै छ कि मुनाफासँगै राष्ट्रभक्ति समेत छ भन्ने कुराले विशेष महत्व राख्छ ।

युवाहरुको सोच परिवर्तन हुनु जरुरी
यवा पुस्ताका व्यक्तिहरुले अब नेपालको विकासकै लागि समर्पित हुन सकेको खण्डमा देशले आर्थिक समृद्धिको दिशामा छिट्टै काँचुली फेर्न सक्छ । स्वदेशमै परिश्रम गर्ने, स्वदेशी उत्पादन नै उपयोग गर्ने, स्वदेशकै नै माया गरी आफू, समाज र देशलाई सँगसँगै उठाउँदै स्वावलम्बी नेपाल निर्माणको दिशामा अघी बढ्ने हो भने अवश्य पनि नेपालले छोटो अवधिमा नै राम्रो प्रगति हासिल गर्न सक्छ । जुन हामी सबैको चाहना हो । अहिलेको आवश्यकता पनि हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij