२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

चर्चामा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाः कति सम्भव, कस्तो छ उद्योगको अवस्था

चर्चामा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाः कति सम्भव, कस्तो छ उद्योगको अवस्था

नेपालमा झण्डै २५ बर्ष देखि व्यवसायजन्य सुरक्षा सम्बन्धी काम शुरु भएपनि अहिले सम्म यसलाई ठूलो चुनौतीको रुपमा नलिइएको र अहिलेको कोरोनाले यस सम्बन्धमा जबर्जस्त सबैलाई जागरुक बनाएको छ । नेपाल लगायत दक्षिण एसियाली देशहरुमा अझै व्यवसायजन्य सुरक्षा ठूलो चुनौतीको विषयको रुपमा रहँदै आएको छ ।

लामो समयको लकडाउनको कारण नेपालका उद्योग व्यवसायहरु पनि यसबाट निकै नै प्रभावित भएका छन् । अबका दिनमा भने उद्योग व्यवसाय सञ्चालनको विकल्प नभएको र सुरक्षाका विधिहरु अपनाउँदै उद्योग व्यवसाय सञ्चालनको लागि नेपाल सरकारले अनुमति दिइसकेको छ । तर अहिलेको अवस्थामा के नेपाली उद्योग व्यवसायहरु सुरक्षाका विधिहरु सहित काम गर्न सक्षम छन् त ? अहिले हाम्रा उद्योगहरुको अवस्था कस्तो छ ? कसरी व्यावसायिक सुरक्षा कायम गर्न सकिन्छ ? कस्ता गाइडलाइन्सहरु आवश्यक रहन्छ ? प्राविधिक रुपमा तयारी कस्ता हुनुपर्छ भन्ने लगायतका विषयवस्तुहरु सम्बोधन हुने गरी आज सेफेडको आयोजनामा एउटा विशेष वेबिनार सम्पन्न गरिएको छ ।

नेपालमा कोरोना संक्रमण बीच नै उद्योग एवं व्यवसायहरु सञ्चालन कार्य शुरु गर्नुपर्ने अहिलेको बाध्यता भएको छ । नेपाल लगायत विश्वभर नै कोरोनाको उपयुक्त समाधान नभेटिएको र औषधी तथा खोपहरु सफल हुन नसकेको अवस्थामा सुरक्षा सचेतनालाई नै अपनाउँदै हाम्रा गतिविधिहरु सञ्चालन गर्नुपर्ने जरुरी रहेको कुरालाई लक्षित गरी कसरी उद्योग व्यवसाय सञ्चालन गर्ने भन्ने सम्बन्धमा उक्त प्रशिक्षणमूलक डिजिटल छलफल आयोजना गरिएको हो ।

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धमा विशेष ध्यान दिँदै उद्योग व्यवसाय सञ्चालन गर्न सकेको खण्डमा मात्र यसलाई हामीले सुरक्षित बनाउन सकिन्छ ।

आज आयोजना गरिएको डिजिटल वेबिनारमा २ जना विज्ञहरुले आप्mना कार्यपत्रहरु प्रस्तुत गर्नुभएको छ । आज विज्ञ दिनेश प्रसाद शाह र वातावरण वैज्ञानिक रामचरित्र शाहले आज कार्यपत्र प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा केन्द्रका प्रमुख कार्यकारी अधिकृत मणिनाथ गोप हुनुहुन्थ्यो ।

कार्यक्रममा कसले के भने ?
विगत २५ बर्ष देखि कार्यगत सुरक्षा सम्बन्धमा काम गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ दिनेश प्रसाद शाह । वरिष्ठ कार्यस्थल सुरक्षा एवं स्वास्थ्य विज्ञको रुपमा परिचित उहाँले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने क्रममा सुरक्षा सम्बन्धमा एउटा निकाय मात्र सचेत भएर नहुने बताउँदै यसमा रोजगारदाता, कर्मचारी, राज्य, टे«ड युनियन एवं अन्य सरोकारवाला निकायहरु सबैले समान दायित्व बोध गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा अझै पनि विश्वस्तरीय उद्योगहरु सञ्चालन हुन नसकेको अवस्थामा कोरोना संकट बीच आउन सक्ने सामाजिक, मानसिक र भौतिक सुरक्षा बारे विशेष सचेत रहनुपर्नेमा जोड दिनुभएको छ ।

  • आफ्नो कार्यपत्रमा विज्ञ शाहले निम्न कुराहरु उल्लेख गर्नुभएको छ ।
    कोरोना भाइरसले व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा एउटा थप चुनौती थपिएका छ । यद्यपि व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा अन्य थुप्रै चुनौतीहरु विगत देखि नै रहँदै आएका थिए ।
  •  नेपालका कतिपय रोजगारदाता कम्पनीहरुले व्यवसायजन्य सुरक्षालाई थप आर्थिक भारको रुपमा लिँदै आएका छन् । सोही कारण यस्तो अत्यावश्यक सुरक्षा क्षेत्रमा लगानी गर्न आनाकानी गर्दै आएका छन् ।
  •  केही व्यवसायीहरुबाट भने पछिल्ला दिनहरुमा कार्यगत सुरक्षालाई विशेष चासोको साथ लिइएको पनि पाइएको छ । तर अझै मापदण्ड बमोजिम नभइसकेको हुन सक्छ । सोहीकारण थप सुधार गर्नु जरुरी रहन्छ ।
  •  कार्यस्थल सुरक्षित भएमा कर्मचारीले शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा ढुक्क भई काम गर्न सक्ने अवस्था सृजना हुन्छ । यसबाट उद्योगको उत्पादकत्व बढाउन समेत सहयोग पुग्छ ।
  •  व्यवसायजन्य सुरक्षा बिना कोरोनो बीच कार्यस्थल सञ्चालन गर्ने हो भने यो प्रयाश हाम्रो लागि थप चुनौतीपूर्ण बन्ने निश्चित छ ।
  •  सुरक्षा चुनौती विगतमा पनि रहँदै आएका थिए । कोरोनाले यस बारे विशेष झक्झक्याएको छ । साथै परिस्थितिलाई निरन्त्रणमा राख्न तत्काल कदम चाल्नु जरुरी पनि छ । एकपटक गरिने यस्तो पहलले भावी दुर्घटना र रोगहरुलाई नियन्त्रणमा लिन दीर्घकालिन सहयोग पुग्ने निश्चित छ ।
  •  कोरोना जस्ता भाइरस विश्वमा अहिले र एउटा मात्र आएको होइन । यद्यपि यसले विश्व समुदायलाई नयाँ चुनौती भने अवश्य दिएको छ ।
  •  नेपालमा श्रम ऐन 2074 लगायत थुप्रै नीतिगत व्यवस्थाहरु छन् । अन्तर्राष्ट्रिय नीतिविधि र स्टाण्डर्डहरु पहिले नै तयार भएका छन् । तिनको कार्यान्वयन हुनु जरुरी छ ।
  •  अबका दिनमा उत्पादनमूलक क्षेत्रहरु उच्च जोखिममा छैनन् । मध्यम तथा निम्न जोखिममा भएको कारण सचेत रहँदै काममा संलग्न हुन सकिन्छ ।
  •  कोरोनाको सबैभन्दा बढी असर दीर्घ रोगीहरुलाई पर्ने देखिएको कारण त्यस किसिमका व्यक्ति उद्योग व्यवसायमा संलग्न रहे विशेष सावधानी र सुरक्षा विधि अपनाउनु जरुरी छ ।
  •  केही होसियारी अपनाउने हो भने कोरोना भाइरस त्यत्ति जोखिमयुक्त हुँदैन । जति हामीले मानसिक आँकलन गरेका छौं । यद्यपि यसको लागि आवश्यक व्यक्तिगत सुरक्षा भने अपनाउनैपर्छ ।
  •  मास्क प्रयोग गर्ने क्रममा यसका निश्चित विधिहरु छन् । ती विधिहरुको सही पालना गर्नु जरुरी छ ।
  •  जोखिम घटाउन इन्जिनियरिङ कन्ट्रोल, एड्मिनिष्टे«टिभ कन्ट्रोल, प्रविधिको प्रयोगलाई बढावा एवं सामाजिक दूरी लगायत मानसिक रुपमा कर्मचारीलाई कोरोनासँग जुध्न सक्ने गरी तयार गराउन जरुरी छ । आवश्यकता बमोजिम सुरक्षाका अन्य विधिहरु समेत अपनाउनुपर्ने हुन सक्छ ।
  •  श्रम ऐन 2074 को दफा नं ८० लाई पूर्ण रुपमा पालना गर्नुपर्ने जरुरी छ । अहिले सम्म नेपालका अधिकांश उद्योगहरुले त्यस किसिमको नियम पालना गरेको पाईंदैन ।
  •  नेपालमा अहिले कर्मचारीहरु जस्तोसुकै जोखिम मोलेरै भएपनि काममा खटिन तयार छन् । आर्थिक अवस्था कमजोर बनेको र थप समस्या सृजना हुँदै गएको कारण यो उनीहरुको बाध्यता बनेको छ । यस्तो अवस्थामा सुरक्षित बनाउने मुख्य दायित्व नेपाल सरकार र रोजगारदाताको समेत हुने देखिएको छ ।

सम्भावित चुनाैती बारे पहिले नै सतर्क बनाैं

रामचरित्र शाह, कार्यर्कारी निर्देशक, सेफेड
वातावरण वैज्ञानिक रामचरित्र शाह मुख्यतः रसायन सुरक्षाको क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ । कोरोना संकट बीच व्यवसाय शुरु गर्दा अपनाउनुपर्ने व्यावसायिक सुरक्षा एवं स्वास्थ्य सम्बन्धी वेविनारका संयोजक समेत रहनुभएका शाहले नेपालमा सुरक्षाको अवस्था कस्तो छ ? साथै सुरक्षा संयन्त्रहरु अपनाउन कत्तिको सम्भव हुन सक्छ भन्ने सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उहाँले अहिले मास्क, सामाजिक दूरी, सेनिटाइजर लगायतमा नेपालीहरु सचेत भइसकेको बताउँदै उद्योग खोल्ने क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई लक्षित गरी उद्योगमा प्रवेश गर्ने समयमा उद्योग भित्र प्रयोगमा आउने सबै सामानहरु सही अवस्थामा रहेको यकिन गरेर मात्र भित्र प्रवेश गर्नुपर्ने र आवश्यक सचेतना अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपालमा अहिले दर्ता भएका कम्पनीहरुको तुलनामा दर्ता नभएका कम्पनीहरु पनि झण्डै त्यत्ति नै परिमाणमा भएको एउटा अध्ययनले देखाएको बताउँदै उहाँले अनौपचारिक क्षेत्रमा व्यवसायजन्य सुरक्षालाई कसरी कायम गर्ने भन्ने भन्ने चुनौती हामीमाझ रहेको बताउनुभएको छ ।

जिफन्टले गरेको एक अध्ययन पश्चात् पछिल्ला दिनहरुमा जुट, सिमेन्ट, तरकारी लगायतका केही सीमित प्रकृतिका उद्योगहरुमा भएका दुर्घटनाहरु नमुनाको रुपमा मात्र सार्वजनिक भएको र कोरोना पूर्व पनि उद्योगहरुमा सुरक्षा ठूलो चुनौतीको विषय रहेको बताउनुभएको छ । श्रम ऐनले कर्मचारीको सुरक्षाको लागि विशेष व्यवस्था गरेको भएपनि त्यो पूर्णरुपमा कार्यान्वयन हुन नसक्नु दुखद रहेको उहाँको धारणा छ ।
पछिल्ला दिनहरुमा व्यवसायजन्य सुरक्षाको क्षेत्रमा लगानी गर्न चाहहने व्यवसायीहरुलाई नेपाल सरकारले पनि प्रोत्साहनको नीति लिएको भएपनि यो अझै राम्रोसँग प्रभावकारी बन्न नसकेको उहाँको धारणा छ ।

ठाउँ र वातावरण अनुसार गाइडलाइन्स पालना गरौं
राजाराम पोटे श्रेष्ठ, नेपालको लागि कन्ट्री अफिसर (डब्ल्युएचओ)

सरकारको निर्णयसँगै खुलेका सडकहरुलाई हेर्दा जोखिम घट्दै गएको र अवस्था साम्य भइ सडकमा गाडी गुड्न शुरु भएको आभास गर्न सकिन्छ । तर नेपाल एवं छिमेकी मुलुक भारतमा दैनिक बढ्दो क्रममा रहेको संक्रमण दरलाई हेर्दा हामी अझै सतर्कता रहनु नै एकमात्र उपयुक्त विकल्प हुन सक्ने देखिन्छ ।

हुनतः डब्ल्युएचओले कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा विभिन्न गाइडलाइन्सहरु बनाइरहेको छ । गाइडलाइन्सहरु बनाउँदा जोखिमको प्रकृति, अपनाउनुपर्ने सुरक्षा उपाय, व्यवस्थापन पक्ष तथा कामदारको दायित्व एवं कोरोना संक्रमण भइहालेको खण्डमा गर्नुपर्ने कार्यहरुलाई बढी जोड दिइएको छ ।

विगतका तुलनामा केही मापदण्डहरु परिवर्तन समेत गरिँदै आइएको छ । विगतमा साबुन पानीले २० सेकेन्ड हात धुनुपर्ने भनिएको अहिले ४० देखि ६० सेकेन्ड सम्म धुनुपर्ने नयाँ तथ्य सार्वजनिक भएको छ । कति माइक्रोनका मास्क प्रयोग गर्ने, पिपिइ कस्तो हुनुपर्ने लगायत थुप्रै सुरक्षा विधि अवलम्बन गर्दा पनि हामीले सचेतना अपनाउनु जरुरी छ । सुरक्षा सामाग्री प्रयोग गर्दा त्यहाँको वातावरणीय अवस्थालाई पनि ख्याल गर्नु जरुरी रहन्छ । आवश्यक पर्ने साबुन, पानी, अन्य आवश्यक रसायन सहितको सुरक्षित चर्पी, न्यूनतमक १० वर्ग मिटरको दूरी सहितको दूरी लगायत पालना गर्नुपर्ने भएपनि त्यो पालना गर्न समस्या हुने देखिएको छ ।

कामदारको सुरक्षा आधारभूत मानव अधिकारकै विषय हो

बिना कुवँर थापा, सिनियर प्रोग्राम अफिसर (आइएलओ)

आइएलओले व्यवसायजन्य सुरक्षालाई आधारभूत अधिकारको रुपमा नै लिएको छ । सोहीकारण समेत आइएलओका सदस्य राष्ट्रहरु अझ बढी जिम्मेवार बन्नु जरुरी छ । नेपालमा भर्खर मात्र अकुपेशनल हेल्थ सम्बन्धी नयाँ नीति बनाइएको छ । यसले हाम्रो व्यावसायिक सुरक्षामा थप सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । साथै कोभिड १९ सम्बन्धमा हामीले डब्ल्युएचओ अन्तरगत पनि अकुपेशनल हेल्थ सम्बन्धी थुप्रै सामाग्रीहरु यस बीचमा तयार गरी विभिन्न निकायलाई उपलब्ध गराएका छौं ।

आइएलओको परिभाषा अनुसार कामदार सुरक्षामा रोजगारदाताको दायित्व निकै महत्वपूर्ण हुने गरेको छ । यद्यपि नेपालको सन्दर्भमा यसलाई त्यति प्रभावकारी बनाउन भने सकिएको छैन । आगामी दिनमा यसको लागि कार्य क्षेत्र बढाउँदै हाम्रा गतिविधि सञ्चालन गर्नु जरुरी छ । सोही योजना बमोजिम अबका दिनमा अकुपेशनल हेल्थ एण्ड सेफ्टी सम्बन्धी प्रोफाइल तयार गर्नुपर्ने जरुरी हामीले देखेका छौं । यस कार्यमा प्राविधिक सहयोग उपलब्ध गराउन हामी तयार छौं ।

पहिले नै सतर्क बनौं

मोहन कटुवाल, अध्यक्ष, ग्रिल तथा स्टिल व्यवसायी महासंघ

अहिले नेपाली उद्योगी व्यवसायीहरु कोभिड १९ जोखिम बीच पनि उद्योग सञ्चालनमा संलग्न हुनैपर्ने अवस्था छ । हुनतः सुरक्षा सम्बन्धमा निजी क्षेत्र, सरकारी क्षेत्र एवं श्रमिक संगठनहरु कोही पनि जिम्मेवार बन्न सकेको देखिँदैन । नेपाल सरकारले समेत व्यवसायिक सुरक्षालाई अझै विशेष चासोको रुपमा लिन नसक्दा यो समस्या थप समस्या रहँदै आएको छ ।
राज्यले सेफ्टी फस्र्ट भन्ने कुरालाई नाममा मात्र सीमित राख्यो, यसको लागि राज्य पक्षबाट कुनै पहल नै भएन । जुन दुखद दुखद कुुरा हो । यस कार्यको लागि बजेट अभाव भए निजी क्षेत्र समेत सहकार्य गर्न तयार छ ।

याद गरौं, होसियार बनौं, दुर्घटना भइसकेपछि त्यसमा दुख मनाउ गर्नुभन्दा पनि पहिले नै सतर्क रहौं । हामी सबै ग्रिल व्यवसायीहरुको यही धारणा छ ।

सचेतना सम्बन्धी निरन्तर प्रयाशरत छौं  

सकुन्तला श्रेष्ठ, एफएनसिसिआई
हामीले एफएनसिसिआइ अन्तरगत लकडाउन भन्दा पहिले देखि नै कोरोना सचेतना सम्बन्धी काम शुरु गरेका थियौं । शुरुका दिनमा उद्योग वाणिज्य महासंघको वेभसाइट मार्फत, लकडाउन पश्चात् ‘वर्क फ्रम होम’ अवधारणा बमोजिम, त्यस भन्दा पछाडि इमेल मार्फत र अझ पछिल्ला दिनहरुमा जुम मार्फत हामीले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । अबका दिनमा उद्योग सञ्चालन सम्बन्धमा अपनाउनुपर्ने सुरक्षा संयन्त्र बारे पनि हामीले निरन्तर उद्योगी व्यवसायीहरुलाई जागरुक गराउने नै छौं ।

मिलेर समाधान खोजौंः

नारायण कार्की

सबैले विषम परिस्थिति मात्र भनिरहेका छन् । यसलाई समाधान गर्न सकिने थुप्रै विकल्पहरु छन् । विषम परिस्थिति मात्र भनेर तर्कनु भन्दा यस सम्बन्धमा पक्ष मिलेर सुरक्षित समाधान निकाल्नु नै सबैको लागि कल्याणकारी हुन सक्छ ।

हामी आफैं असुरक्षित रहँदै सुरक्षाको पाठ सिकाउनुपर्योः

गणेश प्रसाद श्रेष्ठ, प्रमुख, श्रम तथा रोजगार कार्यालय (पोखरा)

हामी आफैं असुरक्षित रुपमा ३ पटक विभिन्न पोखराका उद्योगहरुमा निरीक्षणको लागि गएका थियौं, हामी आफैंलाई थाहा छैन कि कसरी सुरक्षित हुन सकिन्छ । तर काममा खटाइएपछि त अनुगमनमा पनि जानैपर्यो । पोखराको चकलेट उद्योग निरीक्षणको लागि जाने क्रममा बिना तयारी नै गएका थियौं । बिना सुरक्षा संयन्त्र एवं परीक्षण उपकरण बिना अनुगमनमा जाँदा ती उद्योगमा निश्चित सामाजिक दूरी कायम राख्न सकिने अवस्था नभएको हामीले पायौं ।

वायोलोजिकल हाजार्ड सम्बन्धमा पनि सोच्ने कि ?

सञ्जय दाहाल
वायोलोजिकल हाजार्ड बारे हामी सतर्क बन्नु जरुरी छ । यो विषय अहिले सम्म प्राथमिकतामा पर्न नसकेको विषय हो । यसलाई पनि संलग्न गराउन सकेको भए कोरोना संकट अहिले त्यति ठूलो जोखिमको विषय नै हुने थिएन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij