२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सामाजिक कामलाई राष्ट्रिय गौरवका कार्यक्रममा समेटाैंः मन्त्री गुरुङ

सामाजिक कामलाई राष्ट्रिय गौरवका कार्यक्रममा समेटाैंः मन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले
सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

मन्त्री गुरुङले सामाजिक रुपान्तरणको माध्यमबाट मात्रै मुलुकलाई समृद्ध बनाउने आधार तय हुने उल्लेख गर्दै सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन सम्वद्ध सबै पक्षलाई ध्यान केन्द्रित गर्न पनि आग्रह गर्नु भयो ।

सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले बजेटले कार्यक्रम निर्धारण गर्ने पूरानो परम्पराको अन्त्य गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

‘सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउनुपर्ने भएको छ,’ मन्त्री गुरुङले भन्नु भयो, ‘सामाजिक रुपान्तरणको माध्यमबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउने अवधारणा अघि सार्नुपरेको हो ।’

मन्त्री गुरुङले सामाजिक अन्धविश्वास र कुरीतिको रुपमा रहेका छाउपडी प्रथा, बाल विवाह, बोक्सी, दाईजो लगायतका कुप्रथाको अन्त्यका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जोड दिइएको पनि स्पष्ट पार्नुभयो । उहाँले सामाजिक क्षेत्रको नीति, कार्यक्रम र बजेट कमजोर हुँदा कोभिड–१९ जस्ता महामारीबाट बच्ने अभियान संचालन गर्न समस्या भईरहेको उल्लेख गर्दै त्यसबाट शिक्षा र प्रेरणा लिएर अघि बढ्नुपर्ने पनि बताउनुभयो ।

मन्त्री गुरुङले राष्ट्रिय कलंकको रुपमा रहेको छाउपडी जस्ता कुप्रथाको अन्त्यका लागि सरकारले नेपाललाई मर्यादित महिनावारीको देशको पहिचान दिलाउने गरी योजना तय गरेको पनि स्मरण गराउनुभयो ।
उहाँले महिला हिंसा हुन नदिने दृढता पनि व्यक्त गर्नुभयो ।

बैठकमा सांसदहरुले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij