धनगढी– भारतको धार्चुलामा क्वारेन्टाइनमा राखिएका नेपालीहरु लामो समयसम्म नेपाल फर्कन नपाएपछि ज्यानलाई जोखिममा राखेर महाकाली नदीमा पौडी खेल्दै नेपाल भित्रिरहेका छन्।
अहिलेसम्म महाकाली तरेर भारतबाट २ सय ३८ जना नेपाली नेपाल प्रवेश गरेका छन्। एक महिनायता पटक–पटक गरी २ सय ४ जना र आइतबार ३४ जना महाकाली नदी पार गरेर नेपाल प्रवेश गरेका हुन्।
आइतबार मात्र दार्चुलाको व्यासबाट महाकाली नदी पार गरेर ३४ जना नेपाली आएको महाकाली नगरपालिकाका मेयर हंसराज भट्टले बताए। यसरी ज्यानै जोखिममा राखेर महाकाली नदी तरेर नेपाल प्रवेश गरेकाहरुलाई क्वारेन्टाइनमा राखिएको मेयर भट्टले जानकारी दिए।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण महाकाली पारि भारतीय सीमामा फसेका नेपाली नागरिकले घर कहिले जान पाइएला भनेर दिन गन्न थालेका छन्। ती मध्यका २ सय ३८ जनाले नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेका हुन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij