लकडाउनको कारण नेपालमा सञ्चालित जलविद्युत आयोजनाहरु एक बर्ष पछाडि धकेलिएको आयोजना प्रवद्र्धकहरुले बताएका छन् । नेपालमा अहिले निर्माण कार्यलाई गतिदिनको लागि निर्माण सँग सम्बन्धित सामानहरुको अभाव भएको र काम गर्ने प्रयाप्त जनशक्ति नभएको कारण अधिकांश आयोजनाहरु बन्द भएको समेत व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार सञ्चालनमा रहेका आयोजनाहरुमा पनि निकै कम जनशक्तिबाट काम गराउनुपर्दा काम निकै सुस्त छ ।
जलविद्युत आयोजना प्रवद्र्धक कम्पनी मध्ये एक हो सिंगटी खोला जलविद्युत कम्पनी । यस कम्पनीका निर्देशक गणेश कार्की अहिलेको अवस्थाले गर्दा सबै आयोजनाहरुको काम कम्तीमा १ बर्ष पछाडि धकेलिएको बताउनुहुन्छ ।
कार्कीले भन्नुभयो, ‘अहिलेको परिस्थितिले गर्दा हाम्रा विकास निर्माणका कामहरुमा निकै नै समस्या सृजना भएको छ । आयोजनाहरुको लागत तुलनात्मक रुपमा आँकलन गरे भन्दा निकै माथि पुग्ने अवस्था सृजना भएको छ । लगानीकर्ताहरुको लागत उठ्न समेत समस्या सृजना हुन सक्ने देखिएको छ ।’
लकडाउनको कारण उत्पन्न भएको अहिलेको अवस्था कहिले सामान्य बन्ने हो भन्ने समेत आँकलन गर्न सकिएको छैन । लकडाउन खुलेको ६-७ महिना सम्म पनि आयोजनाहरुका कामहरु नियमित बन्न सक्ने देखिँदैन ।
अहिले हामीले विभिन्न जलविद्युत आयोजनाहरुमा काम गरिरहेका थियौं । अहिले यस जलविद्युत प्रवद्र्धक कम्पनीले सिंगटीखोला, वेनी हाइड्रो, गेलुङ, खानिखोला, चाकु लगायतका थुप्रै आयोजनाहरु जुन जस्तो अवस्थामा पुगेका थिए, ती आयोजना त्यही अवस्थामा नै सीमित हुन पुगेका छन् । 
हामीले आयोजनाहरु राम्रो तवरले सञ्चालन हुँदा एउटै प्रोजेक्टमा नै करिब ५ सय जति जनशक्ति परिचालन गरेर काम गर्नुपर्ने अवस्था रहन्थ्यो । तर अहिले अवस्था कमजोर बनेको कारण निकै ठूलो समस्या सृजना भएको छ ।
अहिले आयोजनाहरु सञ्चालन गर्नको लागि एकातिर जनशक्ति समस्या बनेको छ भने अर्कोतिर गिट्टी, बालुवा लगायतका निर्माण सामाग्रीहरु उपलब्ध हुन सकेको अवस्था छ । समग्रमा हेर्दा सञ्चालनमा रहेका आयोजनाहरु विगतको तुलनामा केवल ५ प्रतिशतमा सीमित रहेको अवस्था छ । अहिलेको अवस्थामा हामी सबै सुरक्षित कसरी हुने भन्नेमा नै सोच्नुपर्ने बेला छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij