त्रिवेणी (रुकुम पश्चिम), २ वैशाख: रुकुम पश्चिम जिल्लाका २१ हजार ८५५ घरधुरी अहिले केन्द्रीय विद्युत् प्रणालीमा जडान भइसकेका छन्। कुल छवटा स्थानीय तह रहेको यस जिल्लामा अझै करिब १८ हजार घरमा केन्द्रीय विद्युत् सेवा विस्तार गर्न बाँकी रहेको जानकारी विद्युत् वितरण केन्द्र, रुकुम पश्चिमका प्रमुख वीरमान रासकोटीले दिनुभयो।
नेपाल विद्युत् प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वटा वडामा सर्वेक्षण तथा तथ्यांक संकलन गरेको थियो। चालु आर्थिक वर्षभित्र थप २ हजार ५०० घरमा विद्युत् सेवा विस्तार हुने अनुमान गरिएको छ।
हालसम्म सानीभेरी गाउँपालिका–५ र ७ तथा आठविसकोट नगरपालिका–३ मा भने केन्द्रीय विद्युत् लाइन पुग्न सकेको छैन। ती क्षेत्रमा स्थानीय स्रोतबाट उत्पादित साना जलविद्युत् आयोजना मार्फत विद्युत् आपूर्ति भइरहेको छ। प्रमुख रासकोटीका अनुसार अबको दुई वर्षभित्र जिल्लाका सबै घरधुरीमा केन्द्रीय विद्युत् प्रणाली विस्तार गर्ने लक्ष्य लिएको छ।
जिल्लामा हाल पुनःविद्युतीकरण परियोजना र भम्पू चौर सबस्टेसनको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यी योजनाहरु सम्पन्न भएपछि अझै विद्युत् सेवा नपुगेका घरधुरी पनि केन्द्रीय लाइनमा समेटिने प्राधिकरणको योजना छ। प्राधिकरणका अनुसार जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तार गर्न करिब १६ करोड रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij