काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ निम्त्याउने नोवेल कोरोना भाइरस संक्रमणको हिसाबले नेपाल संसारकै तेस्रो सुरक्षित मुलुकको रुपमा रहेको एक तथ्यांकले देखाएको छ ।
सार्स–कोभ२ वैज्ञानिक नाम दिइएको कोरोना भाइरस पोजेटिभ केसहरुको दैनिक आधिकारिक तथ्यांक प्रकाशन गर्ने वेबसाइट वर्ल्डोमिटर डट कमका अनुसार नेपाल सबैभन्दा धेरै टेस्ट गर्ने देशमा १०० नम्बरमा छ । आइतबार राति १० बजेसम्ममा नेपालले चार हजार चार सय २६ वटा कोरोना परीक्षण सम्पन्न गरेको छ ।
जनसंख्या अनुपातको परीक्षणमा भने नेपाल एक सय ३५ नम्बरमा रहेको देखिन्छ । नेपालले प्रत्येक १० लाख जनसंख्यामा एक सय ५२ वटा परीक्षण गरेको देखिन्छ । यो मामिलामा भारत नेपालभन्दा पछाडि छ । भारतले प्रत्येक १० लाख जनसंख्यामा १३७ परीक्षण सम्पन्न गरेको छ ।
परीक्षण र कोरोना संक्रमितको संख्याको आधारमा भने नेपाल विश्वभरीमै तेस्रो नम्बरमा छ । उक्त सूचकांकअनुसार नेपालमा प्रत्येक ३६९ परीक्षणमा एउटा मात्र परीक्षण नतिजा पोजेटिभ आएको छ । यस्तोमा सबैभन्दा अगाडि रहेको भेनेजुयलामा प्रत्येक १०३६ परीक्षणमा एकजनाको नतिजा पोजेटिभ आएको देखिन्छ ।
दोस्रो नम्बरमा रहेको भियतनाममा प्रत्येक ४६९ परीक्षणमा एउटा नतिजा पोजेटिभ आएको छ । जबकि जर्मनीमा १० वटा र भारतमा २१ वटा परीक्षणमा एउटा पोजेटिभ केस भेटिएको छ । अमेरिकामा त प्रत्येक ५ परीक्षणमा एउटा केस पोजेटिभ भेटिएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपालको परीक्षणलाई पूर्ण रुपमा विश्वासिलो भनेको सन्दर्भमा आजका मितिसम्म कोभिड–१९ संक्रमणको हिसाबले नेपाल निकै सेफ जोनमा रहेको मान्न सकिन्छ ।
सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना र व्यक्तिगत होसयारीले नेपालमा कोरोना संक्रमण फैलिनबाट रोक्ने सम्भावना प्रबल देखिएको छ ।
चौथो नम्बरमा रहेका बोत्सवानामा प्रत्येक २४० परीक्षणमा एउटा पोजेटिभ नतिजा आएको छ । पाँचौं नम्बरको युएईमा १७३ परीक्षणमा एउटा पोजेटिभ केस भेटिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij