२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

आर्थिक वृद्धि तीन प्रतिशत पनि नपुग्ने विश्व बैंकको प्रक्षेपण

आर्थिक वृद्धि तीन प्रतिशत पनि नपुग्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष (सन् २०२०) मा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतबीच रहने प्रक्षेपण गरेको छ ।

रेमिटेन्समा आउने कमीका साथै पर्यटन तथा व्यापारमा संकुचन र सीमा अवरोधका कारण यस वर्ष आर्थिक वृद्धिमा खस्कने उसको अनुमान छ । बैंकले आइतबार सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’ प्रतिवेदनले यो अनुमान गरेको हो ।

सरकारले भने यो वर्ष साढे आठ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.८ प्रतिशतका बीच रहने प्रक्षेपण गरेको थियो ।

यस्तै बैंकले कोरोना भाइरसको असरलाई हेरेर तयार पारेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२०’ मा नेपालले २०२१ मा ६.४ प्रतिशतको वृद्धि हासिल गर्ने बताइएको थियो । यस्तै, आगामी वर्ष २०२१ मा नेपालको आर्थिक वृद्धि १.४ देखि २.९ प्रतिशतबीच रहनेछ । अर्थतन्त्रमा सुधार आए २०२२ मा बढीमा साढे तीन प्रतिशतको हाराहारी २.७ देखि ३.६ प्रतिशतमा मात्र विस्तार हुने बताइएको छ ।

प्रतिवेदनमा कोरोनाका कारण नेपालका कम आय भएको वर्गमा गहिरो असर गर्ने बताइएको छ । दैनिक ज्यालादारी गर्ने मजदुर, अनौपचारिक क्षेत्रका कामदार, खुद्रा व्यापारी, यातायात क्षेत्रमा काम गर्ने लगायत प्रभावित हुने बताइएको छ ।

बैंकले नेपालसहित यो क्षेत्रका आठ मुलुक रहेको समग्र दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धिदरको अवस्था सार्वजनिक गरेको हो । भाइरसको कारण दक्षिण एसियामा ४० वर्षयताकै न्यून आर्थिक वृद्धि हुने भनिएको छ । बैंकले यो क्षेत्रको वृद्धिदर १.८ देखि २.८ प्रतिशतबीच खुम्चिने अनुमान गरेको हो । प्रतिवेदन अनुसार महाव्याधीबाट दक्षिण एसिया खाद्य सुरक्षामा धेरै कमजोर देखिएको छ । यहाँका गरिब र आप्रवासी सबैभन्दा असुरक्षित रहेको बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij