
ओखलढुङ्गामा जन्मिएका विष्णु खड्का हाल पोल्ट्री फार्म सञ्चालन गर्दै आएका छन् । विगत केही बर्ष पहिले देखि कोल्ड स्टोर सञ्चालन गर्दै आएका खड्का कोल्ड स्टोर व्यवसायको अलावा लगानी विविधिकरणको योजना सहित पोल्ट्री फार्म व्यवसायमा संलग्न भएका हुन् । हाल उनले चम्पादेवी पोल्ट्री फार्म सञ्चालन गरी करिब २ हजार कुखुरा उत्पादन गरिरहेका छन् । यद्यपि अहिलेको अवस्थामा भने नेपालमा सञ्चालनमा रहेका कुखुरा उत्पादक किसानहरुले राम्रो मूल्य पाउन नसकेको र मूल्य निर्धारणमा किसानहरुको कुनै भूमिका नरही व्यवसायीहरुको स्वार्थ अनुसार कुखुराको मूल्य निर्धारण हुने परम्पराबाट किसानहरु अन्यायमा रहँदै आएको व्यवसायी खड्का बताउँछन् ।
सोही परिस्थितिलाई अन्त्य गर्नुपर्ने मान्यता सहित विगत करिब ३ महिना देखि राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समिति गठन गरी कुखुरापालक किसानको व्यावसायिक हकहितको लागि काम गर्ने उद्धेश्यले खड्का संयोजकको जिम्मेवारीमा रही काम गर्दै आएका छन् । उनका अनुसार अहिले नेपालका कुखुरापालक किसानहरु निकै नै कमजोर बन्नुपरेको छ । उत्पादन कार्यमा पूर्ण सक्रिय किसानहरुले भोग्दै आएको घाटालाई न्यून गर्दै किसानहरुलाई मूल्य निर्धारण कार्यमा संलग्न बनाउने वातावरण सृजना गर्नको लागि आफू लगायतका कुखुरापालक किसानहरु संगठित हुनुपरेको व्यवसायी खड्काले बताए ।
समस्या बनेको मूल्यनिर्धारण
अहिले सम्म नेपालमा कुखराको मूल्य निर्धारणको कुनै वैज्ञानिक मापदण्ड छैन । जसले गर्दा कुखुराको मूल्य निर्धारणमा मध्यस्थकर्ता व्यवसायी (विचौलिया) हावी हुँदै आएका छन् । जसले गर्दा उत्पादक कृषक र उपभोक्ता दुवै मर्कामा छन् । तर मध्यस्थकर्ताले आफूखुसी मूल्य निर्धारण गरेर एकलौटी रुपमा ठूलो आर्थिक लाभ लिइरहेका छन् । यसबाट किसान तथा उपभोक्ता लगायतका सम्बन्धित पक्षलाई परिरहेको अप्ठ्यारोलाई विचार गर्दै मूल्य निर्धारण राज्य पक्षबाट हुनुपर्ने जरुरी देखिएको छ । यद्यपि राज्य पक्षले कुखुराको मूल्य निर्धारण गर्न नसकेको खण्डमा किसानकै नेतृत्वबाटै मूल्य निर्धारण हुनुपर्नेमा अडान राख्दै राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समितिले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
किसानका मुख्य समस्याहरु
अहिले कुखरा पालक किसानहरु आफूले उत्पादन गर्ने कुखुराको मूल्य निर्धारण गर्ने अधिकारबाट वञ्चित छन् । किसानले उत्पादन गर्ने कुखुराको मूल्य बारे एकपटक पनि नसोधी उत्पादकलाई मूल्य दिँदा त्यसले किसानको लागत समेत उठ्न मुस्किल हुने अवस्था छ । जसले गर्दा अहिले किसानहरुको अवस्था माथि उठ््न सकेको छैन । किसानले कोल्ड स्टोरमा कुखुरा पु¥याएपश्चात् बिल हातमा परेपछि मात्र आफ्नो उत्पादनको मूल्य जानकारी पाउने अवस्थालाई अन्त्य गर्न करकाँटा अनिवार्य लागु गर्नुपर्ने र किसानले आफ्नो उत्पादनको आधार मूल्य तोक्न पाउनुपर्ने अवस्था सृजना गर्नु जरुरी छ ।
सङ्घर्ष समितिको संरचना 
अहिले नेपालमा कुखुरा पालक किसानहरुको हकहितको लागि स्थापना गरिएको सङ्घर्ष समितिमा उपत्यका र वरपरका जिल्लाबाट २० इलाका कायम गरेर २७ प्रतिनिधिको कार्यसमिति बनाइ सङ्घर्ष कार्यक्रमहरु सञ्चालन गरिँदै आइएको छ । हाल यस समितिमा सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर लगायतका क्षेत्रहरु समेटिएका छन् ।
कुखरा उत्पादनको तथ्याङ्क
अहिले सम्म नेपालमा कुखुराको मासुको आवश्यकता कति छ भन्ने बारे सही तथ्याङ्क सङ्कलन गर्न सकिएको छैन । ह्याचरी व्यवसायीहरु बजारमा दैनिक २० लाख चल्लाको माग रहेको तर ४५ लाख उत्पादन भएको भन्दै आएका छन् । यो ह्याचरी उत्पादकहरुले उत्पादन गर्ने चल्लाको परिमाण हो । त्यसरी नै ह्याचरी उत्पादक संघका सदस्यहरुको अलावा बाह्य रुपमा पनि चल्ला उत्पादन हुँदै आएको छ । जुन त्यस तथ्याङ्कमा समेटिएको छैन । अहिले हाम्रो अनुमानमा करिब ५० लाख चल्ला प्रति हप्ता उत्पादन हुँदै आएका छन् । तर बजार माग भने करिब ३० लाखको हाराहारीमा छ । त्यो माग बढ्ने अवस्था पनि रहन्थ्यो । तर भारत लगायत अन्य क्षेत्रबाट समेत लुकिछिपी मासु तस्करी गर्ने कार्य भइरहेको कारण काठमाडौं लगायतका क्षेत्रमा उत्पादित मासुले बजार पाउन सकेको छैन । जुन अर्को समस्याको रुपमा रहेको छ ।
राज्यको चासो 
अहिले सम्म नेपाल सरकारले यस विषयलाई कुनै समस्याको रुपमा नै लिएको छैन । अहिले नेपाल सरकार अन्तरगत कृषि क्षेत्र समेट्ने पशु विभाग, नापतौल विभाग, खाद्य विभाग, वाणिज्य विभाग लगायतका विभिन्न निकायहरु छन् । तर ती निकायहरुले यस किसिमको समस्याको उपयुक्त समाधान दिने पक्षमा भने देखिँदैनन् । यसो हुनुमा व्यवसायीको तुलनामा किसानको अवस्था कमजोर हुनु नै मुख्य हो । अहिले नेपालमा कुखुरा पालन व्यवसायमा करिब ५ लाख किसानहरु संलग्न रहँदै आएका छन् । यसले ठूलो सङ्ख्यामा स्वरोजगारको अवसर समेत सृजना गरेको छ । यसो हुँदाहुँदै पनि यस क्षेत्रसँग सम्बन्धित मुद्दालाई राज्यले गम्भीर रुपमा लिन तयार नहुनु दुखद कुरा हो ।
अहिले ह्याचरीहरुले विभिन्न प्रपञ्च चल्लाको मूल्य बढाउनको लागि नै गरेका हुन् । उनीहरुले बजारमा कृत्रिम अभाव सृजना गरेका छन् । अप्रत्यक्ष रुपमा उनीहरुको माग भनेकै किसानले उत्पादन गर्ने कुखुराको मूल्य आफूहरुले प्रभावित पार्न सकियोस् भन्ने नै हो । यद्यपि उनीहरुको आन्दोलनको कारण कृषकहरु समस्यामा छन् । बजारमा आरोहअवरोह आउँदा सबैभन्दा बढी प्रभाव त किसानलाई नै पर्छ । त्यो स्वभाविक हो ।
जनशक्तिकाे अभाव
अहिले नेपालमा कुखुरा क्षेत्रमा काम गर्नको लागि जनशक्ति अभाव छ । साथै साधारण किसानले आफ्नो फर्ममा कामको लागि मान्छे राखेर काममा लगाउने हो भने उसको घाटाको परिमाण अझ बढ्दै जाने अवस्था छ । साथै कर्मचारी राखेर काम गर्दा कर्मचारी माथि नै पूर्णत विश्वास गर्न सकिने अवस्था समेत छैन । अहिले नेपालमा काम गर्दै आएका अधिकांश कुखुरापालक किसानहरु साधारण तवरले काम गर्दै आएका किसान हुन् । व्यावसायिक तवरले काम गर्ने कुखुरा किसानहरु अहिले अत्यन्तै न्यून छन् । जसले गर्दा किसानले आफ्नो अवस्था नाफा घाटा के छ भन्ने बारे जानकारी पाउन सक्ने अवस्था समेत छैन । केवल घरखर्च मात्र चलाइरहेका छन् ।
राज्यले चासो लिनुपर्छ
यदि राज्यले चाहने हो भने यस समस्यालाई तत्काल नै समाधान गर्न सक्छ । यद्यपि राज्य पक्षका निकायहरु साना किसानको पक्षमा नरहेको कारण हामी राज्य पक्षसँग तत्काल ठूलो अपेक्षा गर्न सकिने अवस्थामा छैनौं । यदि राज्यले साना किसानहरुलाई लक्षित गरेर सेवाप्रवाहमा चासो नराख्ने हो भने किसानको अवस्था अझ कमजोर हुँदै जाने अवस्था सृजना हुनेछ ।
कुखुरा पालनमा संलग्नताअाफ्नाे सलग्नता
कोल्ड स्टोर समेत सञ्चालन गर्दै आएका खड्का बजारमा निर्भर रहेर कोल्ड स्टोर सञ्चालन गर्दा चाडपर्व लगायतमा कुखुराको अभाव हुने र बजारको माग बमोजिम कुखुरा उपलब्ध गराउन नसकिएको कुरालाई विचार गर्दै आफैंले कुखुरा फार्म सञ्चालन गरेका हुन् । स्नातक तहको अध्ययन पश्चात् कुनै व्यवसायमा सहभागि हुने मान्यताले शुरुमा साथीहरुसँग मिलेर कोल्ड स्टोर सञ्चालन गरेका उनले अहिले भने यही कोल्ड स्टोर र कुखुरा पालन व्यवसायमा संलग्न रहँदै आएका छन् । व्यवसायमा संलग्न भएपश्चात् यस क्षेत्रका विभिन्न समस्याहरुको बारेमा जानकारी हुँदैगयो ।
बजारलाई व्यवस्थित बनाउँदै किसानको पक्षमा काम गर्दै व्यवसायमा संलग्न रहने क्रममा आफ्नो व्यवसायको अलावा खड्का आफ्नै नेतृत्वमा राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समिति बनाएर अहिले अघी बढिरहेका छन् । यस व्यवसायमा आउन चाहने नवउद्यमीहरुले व्यवसायमा आउनुपूर्व त्यस क्षेत्रका समग्र पक्षहरुलाई बुझेर मात्र सहभागि हुनुपर्ने बताउँदै बिना जानकारी व्यवसायमा संलग्न भए पछि समस्या आउन सक्नेमा सचेत रहनुपर्ने उनी बताउँछन् । ओखलढुङ्गाको एक सामान्य कृषक परिवारमा जन्मिएका खड्का आगामी दिनमा पनि कुखुरापालक किसानहरुको सुरक्षित भविष्य निर्माणको लागि उनले निरन्तर रुपमा काम गरिरहने बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij