२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेपालको व्यावसायिक वातावरण र राज्यका नीतिहरुले पारेकाे प्रभाव

नेपालको व्यावसायिक वातावरण र राज्यका नीतिहरुले पारेकाे प्रभाव

रविन कुमार श्रेष्ठ लामो समय देखि जुत्ता उद्योगमा संलग्न रहँदै आउनुभएका व्यक्ति हुनुहुन्छ । कोशेली शुज इन्डष्ट्रिजका प्रबन्ध निर्देशक ऊहाँ बज्र फुटवेयर मार्फत नेपालमा जुत्ताको सोल उत्पादन गर्ने कार्यमा पनि त्यति नै सक्रियताको साथ लागि रहनुभएको छ । यसको अलावा आगामी दिनमा नेपालमा ठूलो रवड उद्योग स्थापना गर्ने योजना बमोजिम ऊहाँले सामुहिक लगानी अवधारणा बमोजिम काम अघी बढाइसक्नुभएको छ ।

रविन कुमार श्रेष्ठ, उपसभापति, उद्योग समिति नेपाल उद्योग वाणिज्य महासंघ

अधिकांश व्यवसायीहरु समस्यामा नै केन्द्रित भइरहँदा पनि ऊहाँ भने तत्कालिन परिस्थिति बमोजिम औचित्यपूर्ण निर्णय लिँदै आफ्ना गतिविधिमा निरन्तर पाइला चालिरहनुहुन्छ । व्यवसाय गर्दा होस् वा अन्य अवस्थामा, कुनै न कुनै समस्या वा अवरोध आइरहनुलाई प्राकृतिक गुणको रुपमा लिँदै अघी बढ्नुभएका श्रेष्ठले आफ्ना हरेक जटिल परिस्थितिलाई सहजै पार गर्न सफल हुनुहुन्छ ।

श्रेष्ठका अनुसार समयक्रम सँगै समस्याका प्रकृति पनि फेरिने गर्छन् । व्यवसायीहरुको निम्ति केही बर्ष पहिले सम्म लोडसेडिङ ठूलो समस्याको रुपमा रहँदै आएकोमा अहिले यो समाधान भई भिसिटिएस, सामाजिक सुरक्षा, प्यान लगायत चर्चामा छन् । अहिले सरकारले ल्याएका यी कार्यक्रमहरु स्वागतयोग्य नै भएपनि अहिलेको नेपालको बजार यी सबै कुराहरुलाई सहजै स्वीकार्न तयार भइसकेको छ कि छैन भन्ने सम्बन्धमा आवश्यक अध्ययन गरेर मात्र कार्यान्वयनको निम्ति अघी बढाएको भए राम्रो हुने धारणा राख्नुहुन्छ । राज्यले यी कार्यक्रम तय गर्दा अहिलेको अवस्थालाई विचार नै नगरी यी कार्यक्रम ल्याएको कारण व्यवसायीहरु यसबाट त्रसित हुनुपरेको श्रेष्ठको ठम्याई छ । साथै तत्कालको नेपालको परिस्थितिमा यी सबै कार्यक्रमहरु लागु हुन सक्ने अवस्था समेत छैन ।

प्रस्तुत छ उद्यमी श्रेष्ठको व्यावसायिक वातावरण सम्बन्धी धारणा

अलमलमा छन् व्यवसायीहरु

राज्यले कुनै नीति ल्याउने क्रममा त्यसको राम्रो सँग अध्ययन गरी निश्चित समय परीक्षणकालको रुपमा राखी त्यसको प्रभावकारितालाई अनुभव गर्ने र सोही बमोजिम निश्चित समय पश्चात् अनिवार्य गर्नुपर्ने जरुरी रहन्छ । नेपालको परिप्रेक्ष्यमा भ्याट ल्याइएको निकै लामो समय भयो । यद्यपि अहिले सम्म पनि यसलाई पूर्ण रुपमा लागु गर्न सकिएको छैन । यस्ता थुप्रै नीतिहरु छन् । जुन लागु हुन सकेका छैनन् । ती विगतमा ल्याइएका नीतिहरु के कारणले सफल हुन सकेका छैनन् भन्ने कुरामा विचार गर्दै अन्य नीतिहरु तय गर्नु जरुरी रहन्छ । तर नेपालमा यस बर्ष एकैपटक कर्मचारीको ठूलो मात्रामा तलब वृद्धि (४० प्रतिशत), सामाजिक सुरक्षा, प्यान, भिसिटिएस, मनि लन्ड्रिङ (बार्षिक १० लाख कारोबार गर्ने व्यापारी सँग केवाइसी लिनुपर्ने) लगायतका व्यवस्थाहरु गरिएको कारण यसबाट व्यवसायीहरु समेत निकै नै अलमलिएको र यी कार्यक्रमहरु कार्यान्वयन गर्न अप्ठ्यारो पर्ने अवस्था देखिएको छ ।

नेपालमा लगानीमैत्री वातावरण 
अहिले नेपालमा निजी क्षेत्रलाई काम गर्दा थुप्रै समस्याहरु सामना गर्नुपर्ने अवस्था छ । खासगरी अहिलेको अवस्थामा पनि बैंकहरुले कर्जा उपलब्ध गराउँदा त्यसको धितोलाई मात्रै मुख्य आधार मानेर कर्जा उपलब्ध गराउँदै आइएको अवस्था छ । सम्बन्धित व्यवसाय वा उद्योगको अवस्था र आगामी सम्भावनालाई हेरेर धितो प्रदान गर्ने अभ्यास नेपालमा हुन सकेको छैन । यसले गर्दा नेपालमा व्यवसाय गर्ने क्रममा धितो बापत स्थिर सम्पत्ति अनिवार्य जस्तै बनेको छ । यसको प्रभाव स्वरुप ज्ञान, सीप, क्षमता, अनुभव र दृढ आत्मविश्वास भएका तर धितो व्यवस्थापनको लागि स्थिर सम्पत्ति नभएका व्यक्तिहरु व्यवसायमा आउन सक्ने अवस्था छैन । कम्पनीको अवस्था राम्रो भएको खण्डमा पनि नियमित रुपमा ब्याज तिरिरहेका व्यवसायीलाई आवश्यकता बमोजिम थप कर्जा उपलब्ध गराउनु जरुरी रहन्छ । उद्योग सञ्चालन गर्ने क्रममा शुरुका केही बर्षमा नै उक्त उद्योग नाफामा जान सक्छ भन्ने हुँदैन । त्यसको अलावा व्यवसायमा उतारचढाव आउनु अस्वभावित पनि होइन । यो कुरा बैंकहरुले पनि बुझ्नुपर्छ । राज्यले पनि बुझेर सोहीबमोजिम नीतिगत व्यवस्था गर्नु जरुरी रहन्छ ।

निकायपिच्छे फरक व्यालेन्ससिट बुझाउने बाध्यतामा व्यवसायीहरु 
सधैं नाफाको ब्यालेन्स सिट देखाउनसके मात्र बैंकबाट पाउने सुविधा निरन्तर गरिने जुन व्यवस्था छ, यसले गर्दा नेपाली व्यवसायीहरु भिन्न प्रयोजनको लागि भिन्न किसिमको ब्यालेन्स सिट बनाउन बाध्य रहँदै आएका छन् । अबका दिनमा एउटै व्यालेन्स सीटबाट सबै निकायमा काम गर्न सकिने किसिमको सहज परिस्थिति निर्माण गर्नु जरुरी छ । यसबाट मात्रै हामीले सहज तवरले व्यवसाय गर्न सकिने अवस्था रहन्छ । अहिलेको अवस्थामा अधिकांश व्यवसायीहरु बैंक तथा राज्य पक्षले यस कुरालाई ध्यान नदिँदा अन्यायमा परेका छन् ।

वैदेशिक लगानीको आवश्यकता र लगानीक्षेत्र 
नेपालमा विदेशी लगानी भित्र्याउनु निकै नै महत्वपूर्ण छ । यद्यपि नेपालमा सबै क्षेत्रमा वैदेशिक लगानी आउनु आवश्यक रहँदैन । अहिले नै आत्मनिर्भर भइसकेका र त्यस दिशामा अघी बढेका थुप्रै क्षेत्रहरु छन्, जहाँ वैदेशिक लगानी भित्र्याउनुपर्ने कुनै जरुरी छैन । अहिले नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । अबका दिनमा यस्ता उद्योगमा थप वैदेशिक लगानी आवश्यक रहँदैन । वैदेशिक लगानी भित्र्याउने क्रममा हामीले त्यसबाट सृजना हुन सक्ने समस्यामा पनि ध्यान दिनु जरुरी रहन्छ । विगतका दिनमा नेपालमा थुप्रै साबुन उद्योगहरु सञ्चालनमा रहेको अवस्थामा युनिलिभर स्थापना भएसँगै अन्य साना उद्योगहरु जसरी विस्थापित भए, त्यसरी नै अन्य क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा त्यसले नेपाली उद्योगलाई पार्ने असरमा पनि विचार गर्नु जरुरी रहन्छ ।

नेपालमा नेपालीहरु आफैंले ठूलो क्षेत्रमा लगानी विस्तार गर्न नसकिने र विदेशी लगानी तथा प्रविधिको आवश्यक रहेका क्षेत्रमा भने विदेशी लगानी भित्र्याउनु निकै महत्वपूर्ण हुन सक्छ । अहिलेको अवस्थामा पर्यटन, कृषि र पुर्वाधार लगायतका क्षेत्रहरुमा वैदेशिक लगानी ल्याउन उपयुक्त हुने मैले देखेको छु । यसबाट हाम्रो मुलुकको अवस्थालाई छोटो अवधिमा नै माथि उठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij