
प्रस्तुत छ उनै रानाभाटसँग गरिएको कुराकानीको आधारमा तयार गरिएको यो सामाग्री
नेपालका सम्भावना क्षेत्र
नेपाल तीव्र्र विकासको लागि निकै नै राम्रो सम्भावना भएको देश हो । हामीले नेपालमा भएका सम्भावना क्षेत्रहरुलाई अहिले सम्म पनि पहिचान गर्न सकेका छैनौं । सूक्ष्म तवरले हाम्रा सम्भावनाहरुको अध्ययन एवं पहिचान गरी ती सम्भावनाहरुलाई निश्चित विधि, प्रक्रिया र योजनाको माध्यमबाट मूर्त बनाउनु जरुरी रहन्छ । हामीसँग अथाह सम्भावनाहरु छन् । नेपालको भौगोलिक परिस्थिति, हावापानी, मौसम, प्राकृतिक वातावरण, धार्मिक परम्परा, ऋतिरिवाज, संस्कार, कला लगायतका विविध पक्षहरुलाई राम्रो तवरले व्यवस्थित गर्न सकेको खण्डमा नेपालको पर्यटन क्षेत्रलाई तुलनात्मक रुपमा नयाँ उचाई दिन सकिन्छ । यसैगरी नेपालमा कृषि, व्यापार, घरेलु तथा साना उद्योगहरु, जलविद्युत लगायतको समेत राम्रो सम्भावना छ । खासगरी अहिलेको अवस्थामा प्राकृतिक रुपमा उपलब्ध हुने स्रोत र सम्पदाहरुलाई नै हामीले राम्रा सम्भावनाका आधारको रुपमा अपनाउँदै आएका छौं । यद्यपि अहिले सम्म हामीले यी सम्भावनाहरुलाई पूर्ण रुपमा दोहन गर्न भने सकेका छैनौं । यस्तो अवस्थामा विज्ञान र प्रविधिको विकास सँगै हाम्रो विकास कार्यलाई समेत उच्च गतिको साथ अघी बढाउनको लागि सम्भावना रहेका क्षेत्रको गहिरो अध्ययन गरी अत्याधुनिक प्रविधिमा जोड दिँदै त्यस कार्यलाई सम्पन्न गर्न सीपयुक्त जनशक्ति उत्पादन तथा परिचालन गर्नु निकै महत्वपूर्ण हुन आउँछ । 
बाह्य मुलुकहरुबाट सिक्नु जरुरी छ
मुलुकलाई नयाँ तवरले विकासको गतिमा अघी बढाउने क्रममा बाह्य देशहरुमा भएका अध्ययन एवं प्रयोगको बारेमा समेत गहन ज्ञान हुनु जरुरी रहन्छ । विगतमा विकासको हिसाबले हाम्रै मुलुकको जस्तो सामान्य अवस्थामा रहेका विभिन्न बाह्य मुलुकहरु अहिले कुन सिद्धान्त, दर्शन एवं प्रविधिलाई आत्मसात् गरेर अहिलेको अवस्थामा आउन सफल भएका छन् ? त्यसरी तीव्र विकास हुनुको पछाडि कस्तो विश्वासले काम गरेको छ ? ती देशहरुका शासककहरु कस्तो आदर्शबाट निर्देशित छन् ? कति समयावधिमा कसरी ती देशहरुले अहिलेको अवस्था हासिल गर्न सफल भए ? नेपालको परिस्थिति र ती देशहरुको परिस्थिति बीच के–कस्ता समानता र भिन्नताहरु छन् भन्ने लगायतमा राम्रो तवरले अध्ययन गर्दै उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग हाम्रा आवश्यकता पुर्तिमा लगाउने किसिमले अघी बढ्नु जरुरी छ । अहिले थुप्रै देशहरु जुन आर्थिक रुपमा सम्पन्न देशको रुपमा परिचित छन्, ती देशहरुका विगत हाम्रो भन्दा कमजोर अवस्थामा रहेका समेत पाइन्छन् । अब हामीले ती देशहरुको विगतबाट सिक्दै हाम्रो दिगो विकास अवधारणा तय गरी विकास कार्यलाई अघी बढाउनु जरुरी रहन्छ ।
नेपाल भन्दा कमजोर थियो सिङ्गापुर 
विश्वका अन्य देशहरुको तुलनामा नेपाल उपलब्ध प्र्राकृतिक स्र्रोत र साधनको हिसाबले सम्पन्न हुँदाहुँदै पनि यी स्रोतहरुको राम्रो तवरले उपयोग गर्न नसकिनु र यस कार्यमा हाम्रो नेतृत्व पंक्तिले निर्णायक भूमिका निर्वाह गर्न नसक्नु पनि एक हो । जसले गर्दा हाम्रो अवस्था समृद्धिको यात्रामा अघी बढ्नुको बदलामा निरन्तर ओरालो लाग्दै गइरहेको छ । ६० र ७० को दशकमा नेपालको अवस्था भन्दा कमजोर रहेको सिङ्गापुर अहिले विकासको हिसाबले कुन अवस्थामा पुग्यो ? तर नेपालको अवस्था किन अझ कमजोर बनेको छ त ? ती दशकहरुमा सिङ्गापुरमा कुनै पनि प्राकृतिक स्रोत नभएको कारण पानी समेत मलेसियाबाट आयात गर्नुपर्ने अवस्था थियो । अहिले पनि कुनै प्राकृतिक स्रोतहरुको उपलब्धता त छैन । पानी मलेसियाबाट नै आयात गर्नुपर्छ । यद्यपि अहिले सिङ्गापुरको काम गर्ने शैलि बदलिएको छ । अहिले सिङ्गापुरले आफूले मलेसियाबाट आयात गरेको पानी थप प्रशोधन गरी आफ्नो आवश्यकता पूरा गरेर पुःन मलेसियालाई नै निर्यात गर्दै आइरहेको छ ।
नेपाल र सिङ्गापुर दुवै पर्यटन प्रवर्द्धन चाहन्छन्
अहिले नेपाल र सिङ्गापुर दुवै देशहरुले पर्यटनलाई नै आर्थिक मेरुदण्डको रुपमा अपनाउँदै आएका छन् । नेपालले सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपालमा भित्र्याउने योजना बमोजिम आफ्ना गतिविधिहरु अघी बढाएको छ । उता सिङ्गापुरमा भने अहिले बार्षिक २ करोड भन्दा बढी पर्यटकहरु भित्र्याउने अवस्था सृजना भएको छ । जबकि स्रोतसाधन र क्षेत्रफलको हिसाबले नेपाल सिङ्गापुर भन्दा निकै राम्रो सम्भावना भएको देशको रुपमा रहँदै आएको छ । यसरी हेर्दा नेपालमा भएका स्रोत र साधनहरु त्यसै नष्ट भएका छन् । नेपालमा भएका प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोगितामा जोड दिन सकिएको खण्डमा मात्र नेपालले पर्यटन लगायतका अन्य विकासका पुर्वाधारहरुमा राम्रो उन्नति हासिल गर्न सक्छ ।
नेपाली जनशक्तिलाई स्वदेशमै परिचालन आवश्यक छ
नेपालमा प्रशस्तै सक्षम जनशक्तिहरु छन् । नेपालका युवा एवं क्षमतावान् जनशक्तिलाई नेपालमा नै काम गर्न सक्ने वातावरण भने अहिले सम्म सृजना हुन सकेको छैन । यसो हुनुमा नेपाल सरकारले पनि यसमा त्यति चासो राखेको पाईंदैन भने अहिले सम्म अधिकांश नेपाली जनशक्तिलाई आफैंले अग्रसरता लिएर कुनै उद्यमशिल क्षेत्रमा संलग्न हुनुपर्छ भन्ने चेतना समेत जागृत हुन सकेको छैन ।
नेपालमा अथाह सम्भावना हुँदाहुँदै पनि हामीले हाम्रा सम्भावनाहरुको खोजी नगर्नुमा कुनै एउटा निकाय मात्र जिम्मेवार छैन । यसमा हामी सबै जिम्मेवार छौं । हामी मध्ये अधिकांश सरकारले नै केही गरिदियोस् भन्ने किसिमका छौं । आफूमा भएको क्षमतालाई प्रयोगमा ल्याउन सकेको खण्डमा हाम्रो अवस्था धेरै माथि पुग्न सक्छ । तर यसबारेमा हाम्रो ध्यान जानै नसक्नु दुखद कुरा हो । यसो हुनुमा हाम्रो शिक्षा प्रणाली पनि त्यत्तिकै दोषी छ । हाम्रो शिक्षाले नै हामीलाई नयाँ विषयवस्तुको गहन अध्ययन र खोजी गर्दै आउन सक्ने चुनौतीहरु सहजै टार्न सक्ने दृढ मानसिकता विकास गर्न सक्ने शिक्षा प्रदान गर्न सकेको छैन । सहज तवरले जीवनयापन गर्न र सजिला एवं अल्पकालिन फाइदा देखिने कुराहरुमा मात्र हामीलाई संलग्न हुन सिकाउने शिक्षा हामीले पाउँदै आएका छौं । यसको परिणाम स्वरुप हामी दिनानुदिन परजिवी बन्दै गइरहेका छौं । हाम्रो अवस्था विगतको तुलनामा अझ कमजोर बन्दै गइरहेको छ ।
विकास कार्यमा शिक्षाको भूमिका
कुनै कुराको आलोचना गर्न सक्ने क्षमता विकास गर्नुले मात्रै हाम्रो शिक्षाको विशिष्ट पहिचान स्थापित गर्दैन । कुनै समस्याको सही समाधान दिन सक्ने किसिमको क्षमता विकास गर्नमा शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ । कुनै पनि क्षेत्रमा भएका अध्ययनहरु आफैंमा पूर्ण नहुन सक्छन् । सोहीकारण सम्बन्धित क्षेत्रका थप सम्भावनाहरुको अध्ययन हुनु जरुरी छ भन्ने कुरालाई जोड दिँदै शिक्षाले कुनै व्यक्तिको अवचेतनमा रहेको अदृश्य शक्ति जागरण गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सकेको खण्डमा मात्र हामीले हाम्रो सोचाईको दायरा विस्तार गर्न र त्यसलाई वास्तविकतामा बदल्दै लैजान सक्छौं । यसै प्रकृतिको शिक्षाको परिणाम स्वरुप नै हामीले पश्चिमी मुलुकहरुले छोटो अवधिमा विकासमा राम्रो फड्को मारेको पाउन सक्छौं । यद्यपि नेपालमा भने शिक्षाले जुन विशिष्ट उद्धे्रश्य हासिल गर्नुपर्ने थियो, त्यो हुन सकेको छैन । 
सोचको दायरा बढाउनमा समेत शिक्षा महत्वपूर्ण रहन्छ
कुनै पनि विकास कार्य अघी बढाउने क्रममा मानिसको सोच नै पहिलो र महत्वपूर्ण कदम हुने गर्छ । जुनसुकै वैज्ञानिक प्रयोगहरु समेत कुनै व्यक्तिको सोच र योजना बमोजिम नै अघी बढेका छन् । तर नेपालमा भने हामीले हाम्रो क्षमताको पहिचान गर्न सक्ने शिक्षा पाउन सकेका छैनौं । यसको विपरीत अहिलेको शिक्षाले हाम्रो अवस्थालाई सङ्कुचित बनाउने किसिमले शिक्षित व्यक्ति पहिले नै अस्तित्वमा रहँदै आएका कुनै उद्योग, व्यवसाय वा संस्थामा सामान्य भूमिकामा रही जागिर गर्नुपर्छ भन्ने भाव प्रदान गर्दै आएको छ । यसै शिक्षाको परिणाम स्वरुप अधिकांश मानिसहरु सहज रुपमा (सकेसम्म कुनै कामै नगरी) आफ्नो जीवनयापन सञ्चालन गर्न लालायित छन् । जसबाट समाजमा विभिन्न किसिमका विकृति र विसङ्गतिहरु समेत बढ्दै गइरहेका छन् । विभिन्न सरकारी वा निजी क्षेत्रमा संलग्न अधिकांश व्यक्तिहरुमा सेवाभाव भन्दा बढी कसरी छोटो अवधिमा नै आफ्नो राम्रो प्रगति गर्न सकिन्छ भन्ने सोच रहँदै आएको छ । यसले गर्दा भ्रष्टाचारमा प्रोत्साहन मिलेको छ । मुलुकको विकास र समतामूलक समाज निर्माणमा यस्ता गतिविधिहरु निकै नै बाधक तत्वको रुपमा रहँदै आएका छन् । सोहीकारण आगामी दिनमा आउन सक्ने यस्ता समस्या समाधानको निम्ति हामीले हाम्रो शिक्षा प्रणालीलाई नै सुधार गर्दै सोचाईको दायरालाई व्यापक गरिनु जरुरी छ ।
जनताको चेतनास्तर अभिवृद्धि भएमात्र विकास सम्भव रहन्छ
पछिल्लो २÷३ दशकमा विश्वका थुप्रै कमजोर देशहरुको अवस्था निकै माथि उठेको छ । त्यसो हुनुमा सबैभन्दा महत्वपूर्ण भूमिका भनेको ती देशका जनताहरुको चेतनास्तर माथि उठ्न सक्नु नै निकै महत्वपूर्ण कुरा हो । तर नेपालमा भने हामीले हाम्रो अवस्थालाई माथि उठाउनको निम्ति अहिले सम्म यस्ता कुनै प्रयत्न नै गरेका छैनौं । हामीले विकासका कस्ता मोडलहरु अपनाउने भन्नेमा समेत हामी दोधारमा रहेको र कुनै पनि कार्यलाई पूर्ण गर्नेतर्फ भन्दा पनि झारा मात्रै टार्ने प्रवृत्ति नेपालीहरुमा बढ्दै गएको कारण नै अहिलेको अवस्था सृजना भएको समेत मान्न सकिन्छ ।
|समृद्ध मुलुक निर्माणको निम्ति यस्तो हुनुपर्छ नेतृत्व
नेपाल सरकारले पछिल्लो समय ‘समृद्ध नेपालः सुखी नेपाली’को नारा सहित आफ्ना गतिविधिहरु अघी बढाउँदै आएको भएपनि ती नारालाई कसरी साँच्चै व्यावहारिक बनाउने भन्नेमा भने प्रतिवद्धताको कमीको अलावा आफैं अलमलमा परेको देखिन्छ । जसले गर्दा सरकारले तय गरेबमोजिम नेपालीहरु समृद्धिको यात्रामा अघी बढिरहेको पाउन सकिँदैन । साँच्ची नेपाललाई समृद्धिको दिशामा अघी बढाउने हो भने हाम्रो मुलुकका राजनीतिक दल र नीतिनिर्माताहरुले नै सबैभन्दा पहिले उत्कृष्ट र सामयिक ज्ञान हासिल गर्न र सच्चिनु जरुरी छ । यसको लागि उनीहरुले विकसित देशहरुमा भएका विकासका मोडलहरुको अध्ययन एवं स्थलगत अवलोकन गर्नु जरुरी छ । त्यहाँको पूर्वाधार एवं विकास अवस्था र त्यसको लागि भएका अध्ययनहरुको बारेमा ज्ञान हासिल गर्दै ती देशहरुमा विकास गरिएका र पूर्वाधार विकासको लागि अपनाइएका प्रविधिहरुको बारेमा ज्ञान राख्दै त्यसबाट नागरिक तहमा परेका सकारात्मक प्रभावहरुको अध्ययन गरी ती कुराहरुलाई आवश्यकता बमोजिम आफ्नो मुलुकको विकासको लागि प्रयोगमा ल्याउनु जरुरी रहन्छ ।
यसरी माथिल्लो नेतृत्व सच्चिएसँगै त्यस मातहतका निकायहरुलाई समेत जिम्मेवार बनाउँदै कर्मचारीतन्त्रलाई समेत सुव्यवस्थित र पारदर्शी बनाउनु जरुरी रहन्छ । यसबाट मात्रै हामीले अन्य नागरिकहरुलाई पनि सोहीबमोजिम चेतनशिल र जागरुक बनाउन सक्छौं । यसको अलावा हामीले हाम्रो शिक्षामा समेत हाम्रो आवश्यकता बमोजिमका विषयवस्तुहरु समेट्नु जरुरी रहन्छ । नेपालमा भएका सम्भावनाहरुबारे जागरुक गराउँदै नयाँ सम्भावनाहरु बारे अध्ययन एवं अनुसन्धानको लागि समेत सरकारले सोही बमोजिम प्रयाप्त रकम लगानी गरी त्यसलाई सही तवरले परिचालन गर्ने परिपाटी विकास गर्नु जरुरी छ । राम्रो क्षमता भएका व्यक्तिहरुलाई राज्यले नै जिम्मेवारी लिएर उनीहरुलाई आफ्नो क्षेत्रमा बिना व्यवधान काम गर्न र निरन्तर अघी बढ्न सक्ने किसिमको वातावरण सृजना हुन सक्ने हो भने हामीले पूर्वाधार, प्रविधि, उद्योग, कृषि, कलासंस्कार लगायत सबै क्षेत्रमा राम्रो प्रगति हासिल गर्न सक्छौं ।
विकासको लागि आधुनिक प्रविधिको प्रयोग पनि महत्वपूर्ण
अहिले नेपालले पनि प्रविधिको प्रयोगलाई बुझ्दै गएको छ । जसले गर्दा विश्वमा विकास भएका प्रविधिहरु त नेपालमा आएका छन् । तर ती प्रविधिहरु नेपालमा आइपुग्दा थप परिष्कृत प्रविधिहरु विकास भइसक्ने अवस्था रहेको कारण पुराना भइसक्छन् । यसकारण अहिलेको प्रतिष्पर्धि समयमा नेपालमा पनि आधुनिक विकसित प्रविधिहरु हाम्रो आवश्यकता पुर्तिको लागि तत्काल भित्र्याउनु जरुरी रहन्छ । अहिले हामीले हाम्रो मुलुकलाई समृद्ध बनाउने कुरा नारामा मात्र सीमित राखेका छौं । यद्यपि कसरी नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्नेमा हाम्रो आवश्यकता बमोजिमका प्रविधिको प्रयोगलाई जोड दिनु नितान्त जरुरी रहन्छ ।
पछिल्लो समय विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स निकै नै नयाँ प्रविधिको रुपमा विकास हुँदै गएको छ । यसले विश्वलाई नयाँ युगमा प्रवेश गराउँदैछ । तर नेपालमा भने यस बारेमा अधिकांश मानिसहरु जानकार छैनन् । यसको अलावा
ब्लक सेट टेक्नोलोजी समेत विश्वको लागि नयाँ प्रविधिको रुपमा फस्टाइरहेको छ । यस प्रविधिले पनि अहिले विश्वको ध्यान तानिरहेको छ । तर नेपालमा भने हामीले यस प्रविधिको पनि प्रयोग गर्न सकेका छैनौं । नेपाल जस्तो देशमा यस प्रविधिको समेत निकै राम्रो सम्भावना छ । यी प्रविधि नेपालमा ल्याइएको खण्डमा बैंकिङ, फाइनान्स लगायतको क्षेत्रमा राम्रो प्रगति गर्न सकिन्छ ।
पर्यटन क्षेत्रमा विदेशी लगानी आवश्यक
नेपालमा राम्रो सम्भावना रहेको अर्को क्षेत्र भनेको पर्यटन नै हो । पर्यटन क्षेत्रमा राम्रो सम्भावना हुँदाहुँदै पनि नेपालले राम्रो तवरले ठूलो परिमाणमा विदेशी स्तरीय पर्यटकहरु भित्र्याउन नसक्नुमा नेपालमा विदेशी स्तरीय ट्राभल एजेन्सीहरुले शाखा विस्तार नगर्नु पनि एक हो । विदेशी लगानी पर्यटन क्षेत्र मार्फत नेपालमा आउने हो भने नेपालमा पर्यटन क्षेत्रले थप गुणस्तरीय उपलब्धि हासिल गर्न सक्छ । यदि नेपालमा सिङ्गापुर, मलेसिया, युएसए, युके लगायतका कम्पनीले शाखा कार्यालय सञ्चालनमा ल्याउने हो भने ती देशहरुबाट नेपालमा निकै धेरै पर्यटकहरु भित्र्याउन सकिन्छ । 
अहिले सम्म नेपालमा पर्यटनको क्षेत्रमा एफडिआई भित्र्याइएको छैन । पर्यटनको क्षेत्रमा लगानी भित्र्याउनको लागि राज्य पक्षबाट नै पहल गरिने हो भने यो कार्य असम्भव भन्ने हुँदैन । यदि राज्यको लागि नै यसले राम्रो फाइदा पुग्ने अवस्था रहन्छ भने त्यस तर्फ राज्यले किन कदम नचाल्ने ? यसकारण पर्यटन क्षेत्रमा विदेशी कम्पनीहरुको लगानी आकर्षित गर्नको लागि विशेष पहल गर्नु जरुरी छ । विदेशी लगानी भित्र्याउनको लागि नेपालमा सहज वातावरण सृजना गर्न सकेको खण्डमा हामीले समेत उनीहरुको प्रविधिमा आधारित ज्ञान हासिल गरी नेपाली जनशक्तिलाई नेपालमा नै रोजगारी एवं लगानीको वातावरण सृजना गर्न सकिने सम्भावना अझ बढ्ने र छिटो नेपालको अवस्था माथि उठाउन सहयोग पुग्छ । खासगरी पर्यटनको क्षेत्रलाई माथि उठाउनको निम्ति आवश्यक पूर्वाधार हामीसँग अहिले नै तयार भएको छ । यसले गर्दा हामीलाई थप अघी बढ्न सहज हुनेछ । हामीले जुन देशबाट नेपालमा पर्यटकहरु ल्याउनु छ, त्यही देशका ट्राभल एजेन्सी नेपालमा सञ्चालन गरेको खण्डमा ती देशबाट सहजै ठूलो परिमाणमा पर्यटकहरु भित्र्याउन सकिन्छ ।
अन्य देशले सहजै स्वीकार्छन् वैदेशिक लगानी
विभिन्न विदेशी मुलुकहरुले वैदेशिक लगानी विस्तार कार्यलाई निकै नै सहजताको साथ स्वीकार गरेको पाइन्छ । तर नेपालमा भने निजी व्यवसाय सञ्चालनको लागि निकै नै झण्झटपूर्ण व्यवस्था छ । अघिल्लो बर्ष मात्रै मैले सिङ्गापुरमा ट्राभल एजेन्सी सञ्चालनको आशय सहित एउटा इमेल पठाएको भोलिपल्ट नै मलाई त्यहाँ ट्राभल एजेन्सी सञ्चालनको लागि स्वागत सहित प्रत्युत्तर इमेल प्राप्त भयो । यसबाट मलाई समेत त्यहाँको अवस्था देखेर निकै नै खुसी लाग्यो । त्यत्ति मात्र होइन, सिङ्गापुर पर्यटन प्रवद्र्धन बोर्डले हामीलाई ट्राभल एजेन्सी सञ्चालन पश्चात् त्यसको प्रवद्र्धन गर्ने खर्च समेत आफैंले उपलब्ध गराउने आश्वासन सहित हामीलाई विश्वासमा लियो । तर नेपालमा भने कुनै सामान्य निर्णय गर्न समेत महिनौं लाग्ने अवस्था छ । यसबाट पनि हामीले बुझ्न सक्छौं कि नेपाल भन्दा कमजोर रहेको सिङ्गापुरले आफ्नो अवस्था त्यत्तिकै यो अवस्थामा पु¥याएको रहेनछ । चुस्तदुरुस्त प्रशासन र दुर्त निर्णय क्षमतायुक्त नेतृत्वले सही तवरले अवश्य पनि आफ्नो मुलुकलाई माथि पुर्याउन सक्छ ।
यसरी तुलनात्मक रुपमा हेर्ने हो भने नेपालमा अधिकांश सरकारी निकायहरुबाट प्रदान गरिने सेवा निकै नै झण्झटिला छन् । सम्बन्धित क्षेत्रको ज्ञान नै नभएका कर्मचारी, कामको ढिलासुस्ती, कमिसन, माथिल्लो निकायका व्यक्तिहरुसँगको सिधा पहुँच पुग्न नसक्नु, आफूअनुकुलका सेवा प्रवाह लगायतका विशेषताहरु नेपालका सरकारी सेवाका विशेषताहरु हुन् । यस्तो अवस्था रहेसम्म नेपालले कुनै पनि हालतमा विकासको गति लिनै सक्दैन । जसले गर्दा नेपालमा लगानी गर्न चाहने सम्बन्धित क्षेत्रको ज्ञान र सीप भएका क्षमतावान् नेपाली युवाहरु समेत नेपालमा लगानी विस्तार गर्नबाट प्रोत्साहित नभई हतोत्साहित भइरहनु पर्नेछ । अहिलेको यस किसिमको अवस्थाको परिणाम बनेको छ व्यापारघाटा, घट्दो उत्पादकत्व, उच्च लागत, कृषिमा परनिर्भरता लगायत । यसकारण हामीले अब हाम्रो अवस्था कता जाँदैछ भन्ने कुरामा विचार गर्दै सोही बमोजिम हामी हाम्रा सूचकहरुको आधारमा निश्चित अल्पकालिन एवं दीर्घकालिन लक्ष्यको साथ अघी बढ्न बढ्नु जरुरी रहन्छ । यस कार्यमा हाम्रा नीतिनिर्माताहरुले नै हाम्रा आवश्यकताहरुको पहिचान गर्दैै सोहीबमोजिम आफ्ना गतिविधिहरुलाई प्राथमिकताको साथ अघी बढाउने नीति तय गरी व्यावहारिकतामा उतार्नु जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij