२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

काठमाडाैं, ७ चैतः ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल,सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’

राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो कविताको पंक्ती जस्तै मानिसमा दृढ ईच्छाशक्ति र लगनशिलता भयो भने कुनै पनि कार्य असम्भव हुँदैन । जीवनमा सबल भएर पनि केहि गर्न सकिँन भन्नेहरुका लागि एक उदाहरणीय र प्रेरणाका पात्र हुन्, अनिल कुमार महर्जन । उनको सिर्जनशीलताको अगाडि शारिरिक दुर्बलताले पनि हार खाएको छ ।

शारिरिक रुपमा अशक्त भएपनि उनले चलचित्र, लघुचलचित्र, वृत्तचित्र, म्युजिक भिडियोहरु सम्पादन गरेर महिनाको लाखौं आम्दानी गर्ने गर्दछन् । कुनै ईन्स्टिच्युटमा नगई घरमा आफै सम्पादन कला सिकेर हजारौं भिडियोहरु सम्पादन गरिसकेका अनिलले एक दर्जन बढि म्युजिक भिडियोहरु तथा लघुचलचित्रहरुसमेत निर्देशन गरिसकेका छन् ।

अनिलको बाल्यकाल, विवाह र शिक्षा
ललितपुरको कुपन्डोलमा सुनिल महर्जन र शान्ति महर्जनको कोखबाट जन्मिएका ४७ वर्षीय अनिल कुमार महर्जन घरका जेठा सन्तान हुन् । वंशाणुगत शारीरिक समस्या मार्बल बोन डिजिज अर्थात् हड्डीभित्रको मासी नबढ्ने समस्याका कारण अनिल सानैदेखि हिँड्न सक्दैन थिए । आमामा देखिएको यो समस्या तीनजना दाजुभाइमध्ये अनिलसँगै माईला भाई अजय महर्जन पनि मार्बल बोन डिजिज सर्भाइभर हुन् ।

‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल,
सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’

घिस्रिँदै हिँड्नुपर्ने भएका कारण अनिल विद्यालय पढ्नको लागि जान सक्दैन थिए । उनी घरमै स्वअध्ययन गरेर परिक्षा दिने गर्थे । बहिनीहरुलाई सिकाउन आएको शिक्षकले नै उनलाई पनि घरमा नै सिकाउने गर्दथे । अनिललाई बुबा आमाले बोकेर कहिलेकाहिँ स्कुल लगिदिने गर्थे । ५१ सालमा एसएलसी पास गरेका अनिलले निम्स कलेजबाट व्यवस्थापनमा १२ कक्षा सम्मको अध्ययन पुरा गरेका छन् । उनी बैसाखीको सहाराले कलेज जाने गर्दथे । उनको इन्जिनियरिङ पढ्ने ईच्छा थियो तर आर्थिक र शारिरिक समस्याकै कारण पढ्न नसकिएको उनी बताउँछन् ।

२७ वर्षको उमेरमा दोलखाकी मन्जु कार्कीसँग वैवाहिक बन्धनमा बाँधिएका अनिलका १ छोरा र १ छोरी गरि २ सन्तान छन् । जुनसुकै स्थानमा जाँदा पनि श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् । बुबाको महानता, श्रीमतीको त्याग, आमा र छोराछोरीको प्रेमले जीवन रसमय बनेको अनिल बताउँछन् ।

वंशाणुगत शारीरिक समस्या मार्बल बोन डिजिज
मार्बल बोन डिजिज एक दुर्लभ आनुवंशिक समस्या हो, जसलाई ओस्टियोपेट्रोसिस पनि भनिन्छ । जसले हड्डीको विकासलाई प्रभावित गर्दछ । हड्डीको पुनर्निर्माणमा बाधा पु¥याउँछ । परिणामस्वरूप हड्डी असामान्य रूपमा कठोर, तर अत्यन्त भंगुर बनाउँछ । यस्तो अवस्थामा हड्डीहरू असामान्य रूपमा बाक्लो हुन्छन् र जतिबेला पनि भाँचिने सम्भावना अत्यधिक हुन्छ । हड्डीहरू कमजोर हुने भएका कारण ठोक्किन र लड्नबाट बच्नुपर्ने हुन्छ ।

मार्बल हड्डी रोगको लागि जिम्मेवार आनुवंशिक उत्परिवर्तन दोषपूर्ण जीन बोक्ने आमाबाबुबाट वंशाणुगत हुन सक्छ । यी उत्परिवर्तनहरूले ओस्टियोक्लास्ट भनिने कोशिकाहरूको कार्यलाई असर गर्छ, जुन नयाँ हड्डीको विकासको लागि बाटो बनाउन पुरानो हड्डीको तन्तुलाई तोड्न जिम्मेवार हुन्छ ।
मार्बल बोन डिजिज सर्भाइभर अनिलको जीवनमा पनि उपचारको लागि बुबाले धेरै अस्पतालहरुदेखि भारतसम्म बोकेर लगेका थिए । धेरै हड्डीको डाक्टरसँग सल्लाह लिँदा यो समस्या निको हुने उपचार नभएको बरु लड्न, ठोक्किनबाट बच्नुपर्ने सुनाएका थिए । त्यसपछि अस्पतालहरु धाउन छोडेको अनिल बताउँछन् । बाहिर जाँदा भर्याङ चढ्न उक्लन समस्या भएका कारण अनिल हत्तपत्त बाहिर निस्कँदैनन् । हिँडडुल गर्न केही समस्या भए पनि सम्पादनमा कुनै समस्या नभएकाले आफूलाई अन्य सामान्य मानिसझैँ महसुस हुने उनले बताए । उनी आफुलाई मिष्टर ग्लासका रुपमा चिनाउँछन् ।

मिष्टर ग्लासको संघर्ष र सपना
सानोमा घिस्रिएर हिँड्ने अनिल ६० सालपछि बैसाखीको सहारामा हिँड्न थाले । उनले जीवनमा केहि गर्नुपर्छ भनेर आफै मोबाईल पसल खोलेर रिपेयरिङको काम गर्न थाले । २० वर्ष जति मोबाईल पसलमै बिताए । आफुभित्र भएको ईच्छा र सिर्जनालाई रोक्न सकेनन् । उनी विस्तारै डिजाईन र सम्पादन आफै सिक्न थाले । उनले जेनेक्स मिडिया नामको कम्पनी खोलेर बिस्तारै भिडियोहरु सम्पादन गर्न थाले । उनी निरन्तर ११ वर्षदेखि डिजाईनर तथा भिडियो सम्पादकको रुपमा काम गरिरहेका छन् ।
कम्युटरको किबोर्ड माउस र मोनिटरसँग अभ्यस्त अनिल बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म सम्पादनकै कार्यमा व्यस्त देखिन्छन् । उनले भिडियोहरु सम्पादन गरेरै महिनाको लाख भन्दा बढी कमाई गर्ने गर्दछन् । कहिलेकाहिँ महिनामा दुई तीन लाख सम्म हुने गरेको उनी बताउँछन् ।

सानैदेखि केही गरौँ र नाम राखौँ भन्ने सोच बोकेका अनिल आफ्ना बाबु आमालाई प्रेरणाको स्रोत मान्छन् । उनी यतिबेला आफैले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादनमा व्यस्त छन् । अनिल आफैले लेखेको नयाँ लघुचलचित्र निर्माण गर्ने योजनामा पनि रहेका छन् । उनको एउटा सपना छ, चलचित्र निर्देशन गर्ने । यसको लागि ५ वर्षदेखि स्क्रिप्टमा काम गरिरहेका छन् । कुनै निर्माता भेटियो भने चलचित्र निर्माणको कार्य पनि चाँडै सुरु हुने उनी बताउँछन् ।

सम्पादकदेखि निर्देशकसम्म यात्रा
नयाँनयाँ म्युजिक भिडियो, वृत्तचित्र, र चलचित्रको सम्पादन गर्ने सिर्जनशील कर्ममा अनिलले झन्डै डेढ दशक बिताइसकेका छन् । कम्युटरको ज्ञान भएका उनले सम्पादन कला आफैँ सिकेका हुन् । उनले ६ सय भन्दा बढि नेपाली भाषाका म्युजिक भिडियोहरु, सयभन्दा बढि लघुचलचित्रहरु, ६० भन्दा बढि वृत्तचित्रहरु सम्पादन गरिसकेका छन् ।

१ दर्जन ठूलो पर्दाका चलचित्रहरु सम्पादन गरेका अनिलले मट्टिमाला, झमक बहादुर, तिम्रो मन बदलिएछ, कसैलाई नभन्नु, ब्ल्याक ब्युटी, द्रौपदी, सेमिफुङ, फुर्वा, थिम लगायत विदेशी चलचित्रहरु पनि सम्पादन गरेका छन् । जापानिज सर्टफिल्म पुष्प (द हर्बल ब्वोई) लगायत विभिन्न जातजाति तथा धर्मसँग सम्बन्धित धरै भिडियोहरु सम्पादन गरिसकेका छन् ।

अनिलले सम्पादन मात्र नभई डिजाईन, कलर तथा निर्देशन समेत गर्ने गर्दछन् । एक दर्जन बढि म्युजिक भिडियोहरु तथा लघुचलचित्रहरु निर्देशन गरेका छन् । उनले आफै निर्देशन गरेको लघुचलचित्र गौरव, कम्युटर र बैसाखीे धेरै महोत्सवहरुमा छनोट भएर प्रदर्शनसमेत भईसकेको छ । उनले सगरमाथा म्युजिक अवार्ड, स्टार म्युजिक अवार्डलगायत विभिन्न अवार्डमा सर्वोत्कृष्ट सम्पादकको अवार्डसमेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij