नेपालमा ग्रिल व्यवसायलाई व्यवस्थित गर्दै लैजाने पहल बमोजिम नै हामीले यस व्यवसायलाई अहिलेको अवस्था सम्म ल्याइपुर्याएका हौं । नेपालमा ग्रिल व्यवसाय विगतमा संगठित हुन नसकेको र यसले गर्दा व्यवसायीहरुलाई परेका समस्याहरुलाई समाधानको निम्ति सामुहिक पहल हुन नसकेको अवस्थामा व्यवसायीहरु एकजुट हुनुपर्ने आवश्यकता महसुस गरेर नै सितापाइला इकाइ गठन गरिएको हो ।

नेपालमा ग्रिल तथा स्टिल व्यवसाय निकै राम्रो सम्भावना रहेको व्यवसाय हो । यस व्यवसायमा निकै सानो लगानीबाट नै प्रवेश गर्न सकिन्छ । यद्यपि यो व्यवसाय सीप र कलामा आधारित प्राविधिक क्षेत्र भएको हुनाले व्यावसायिक दक्षता भने हुनुपर्छ । अहिले सम्म नेपालमा ग्रिल तथा स्टिल क्षेत्रमा संलग्न हुने व्यक्तिहरुलाई न्यूनतम तालिम समेत सञ्चालन गर्न नसकिएको र नेपालमा सीपयुक्त जनशक्ति काम गर्न चाहने अवस्था समेत निकै कम रहेको कारण हामीले यस क्षेत्रमा आवश्यक दक्षतायुक्त जनशक्ति प्राप्त गर्न सकिने सहज वातावरण छैन । नेपालमा ग्रिल व्यवसायमा आवश्यकता बमोजिम दक्ष जनशक्ति उपलब्ध हुने अवस्था नरहेको कारण हामीले नै व्यवसायीहरुलाई काम सिकाउँदै दक्ष बनाउनुपर्ने हुन्छ । अहिले पनि यस क्षेत्रमा जोडिएर काम गर्ने मानिसहरु कुनै सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान बिना नै यस क्षेत्रमा प्रवेश गर्ने भएको कारण यस व्यवसायमा रहेर काम गर्ने क्रममा आवश्यक सचेतना र सुरक्षाका उपायहरु अपनाइएन भने विभिन्न किसिमका दुर्घटनाहरु समेत हुने अवस्था रहन्छ । यसकारण यस व्यवसायमा संलग्न रहने क्रममा विशेष सचेतना अपनाउनु जरुरी रहन्छ ।
मेरो ग्रिल व्यवसायमा प्रवेश
विगत करिब २५ बर्ष पहिले टेकु स्थित महर्जन मेटलमा कामको निम्ति प्रवेश गरेसँगै म यस व्यवसायमा जोडिएको हुँ । त्यहाँ रहँदा मैले प्रत्यक्ष रुपमा ग्रिलकै काम नगरेपनि यससँग सम्बन्धित रहने वायरिङ लगायतका कामहरु भने सिक्ने मौका पाएको थिएँ । मैले उक्त कम्पनीमा करिब १० बर्ष काम गरेँ । त्यस पश्चात् विगत १५ बर्ष पहिले देखि मैले आफैंले व्यवसाय शुरु गरेको हुँ । शुरुका दिनमा मैले सोलार सम्बन्धी उपकरणहरु निर्माणको काम गरेको हुँ । यद्यपि सोलारको कारोबार कम हुँदै गएसँगै व्यवसायलाई नयाँ ढङ्गले बजारको माग बमोजिम नै सञ्चालन गर्नुपर्छ भन्ने मान्यताले मैले ग्रिल क्षेत्रमा आफ्ना पाइलाहरु अघी बढाएको हुँ । शुरुका दिनमा मलाई ग्रिल सम्बन्धी काम गर्न त्यति ज्ञान थिएन । यद्यपि यस क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई साथमा लिएर मैले निकै सानो लगानीबाट यो व्यवसायमा अघी बढेको हुँ । हाल म ग्रिल व्यवसायी संघ सितापाइला इकाइ सल्लाहकारको रुपमा आवद्ध रही ग्रिल व्यवसायलाई व्यवस्थित गर्दै लैजाने मान्यता बमोजिम विभिन्न गतिविधिहरुमा संलग्न रहँदै आएको छु ।
ग्रिल उद्योगको अहिलेको अवस्था
ग्रिल उद्योग निकै सानो लगानीबाट पनि काम शुरुवात गर्न सकिने व्यवसाय हो । यस व्यवसायमा विगतमा जुन किसिमको मुनाफा रहने अवस्था रहन्थ्यो, अहिले भने त्यो मुनाफा घटेको छ । बजार अत्यधिक प्र्रतिष्पर्धि बन्दै गएको छ । यसको असर सबै व्यवसायीहरुलाई परेको छ । ग्रिल क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजाने र व्यावसायिक हकहित र अधिकारको लागि काम गर्ने मान्यताले यस क्षेत्रका व्यवसायीहरुलाई समेटेर व्यवसायीहरुको पहलमा नै ग्रिल तथा स्टिल महासंघ र संघहरु स्थापना भएका छन् । यद्यपि बजारलाई व्यवस्थित गर्नमा यी संघहरुले गर्दै आएको पहल समेत अझै प्रयाप्त भने हुन सकेको छ्रैन ।

ग्रिल क्षेत्रको योगदान
नेपालमा अहिलेको अवस्थामा ग्रिल व्यवसायको कारोबार बढ्दै गएको छ । खासगरी घर तथा अन्य पूर्वाधार निर्माणको निम्ति कम लागतमा नै आवश्यक संरचना निर्माण गर्न सकिने क्षेत्र समेत भएको कारण अहिले ग्रिलमा आधारित वस्तुहरु प्रयोगमा उपभोक्ताहरु आकर्षित भएको हुनुपर्छ ।
तथ्याङ्क सङ्कलन आवश्यक छ
अहिले सम्म नेपालमा ग्रिल क्षेत्रलाई थप व्यवस्थित गर्नको लागि राज्य पक्षबाट जुन रुपमा पहल गर्नुपर्ने थियो, त्यो पहल हुन सकेको छैन । अहिले सम्म आइपुग्दा ग्रिल तथा स्टिल क्षेत्रमा निकै ठूलो रकम लगानी समेत भइसकेको छ । यस क्षेत्रमा साना देखि ठूलो लगानी सम्मका व्यवसायहरु सञ्चालनमा छन् । यस्तो अवस्थामा यस क्षेत्रमा कति व्यवसायीहरुले काम गरिरहेका छन् ? कति सङ्ख्यामा रोजगारी सृजना भएको छ ? र कति रकमको लगानी भएको छ ? भन्ने लगायतमा आवश्यक अध्ययन गरी राज्यले यकिन तथ्याङ्क उपलब्ध लिनु जरुरी रहन्छ ।
ग्रिल व्यवसायमा आवश्यक उपकरण
सीपमा आधारित व्यवसाय भएको कारण वेल्डिङ लगायतका केही साधारण उपकरण र सानो ठाउँ लिएर पनि यस क्षेत्रमा काम गर्न सकिने अवस्था छ । आफ्नो जीविकोपार्जनको उद्धेश्यले थुप्रै व्यक्तिहरुले यसरी नै काम गरिरहेका छन् । यस्ता व्यक्तिहरुले निकै कम मुनाफामा समेत काम गरिरहेका छन् । यसले गर्दा बजारमा मूल्यमा एकरुपता कायम गर्न र व्यवसायलाई संस्थागत र व्यावसायिक तवरले विकास गर्न समस्या उत्पन्न हुँदै आएको छ । 
आफैं व्यवसायी बन्ने रहर गछ्र्रन् अनुभवी कामदार
केही बर्ष यस व्यवसायमा रहेर काम गरिसकेपछि कामदार आफैंलाई पनि व्यवसायको बारेमा ज्ञान भइसकेको हुन्छ । जसले गर्दा उनीहरु आफैंले व्यवसाय सञ्चालन गर्न सक्षम समेत भइसकेका हुन्छन् । आफैंले व्यवसाय गर्नुपर्छ भन्ने भावना काम सिकेको व्यक्तिलाई उत्पन्न हुनु स्वभाविकै हो । यद्यपि यसरी कम लगानीमा व्यवसायमा प्रवेश गर्दा त्यसको असर समग्र व्यवसायमा नै पर्दै आएको छ ।
करको दायरामा सबै आउनुपर्छ
स्वरोजगार रुपमा सानो क्षेत्रमा सञ्चालन हुँदै आएका व्यवसायीहरुलाई समेत अब करको दायरामा ल्याइ सोही बमोजिम व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनु जरुरी छ । यसबाट व्यवसायलाई थप व्यवस्थित गर्नमा ठूलो सहयोग पुग्नेछ ।
विगत करिब २५ बर्ष पहिले टेकु स्थित महर्जन मेटलमा कामको निम्ति प्रवेश गरेसँगै म यस व्यवसायमा जोडिएको हुँ । त्यहाँ रहँदा मैले प्रत्यक्ष रुपमा ग्रिलकै काम नगरेपनि यससँग सम्बन्धित रहने वायरिङ लगायतका कामहरु भने सिक्ने मौका पाएको थिएँ । मैले उक्त कम्पनीमा करिब १० बर्ष काम गरेँ । त्यस पश्चात् विगत १५ बर्ष पहिले देखि मैले आफैंले व्यवसाय शुरु गरेको हुँ । शुरुका दिनमा मैले सोलार सम्बन्धी उपकरणहरु निर्माणको काम गरेको हुँ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij